सर्वोत्तम सिमेन्टको ३५ प्रतिशत लाभांश धितोपत्र बोर्डको ‘र्‍याडर’मा

  २०७७ चैत १० गते १९:२४     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भन्ने विषयलाई नेपाल धितोपत्र बोर्डले ‘र्‍याडर’मा राखेको छ । मंगलबार पत्रकारसँग भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डले कम्पनीकाे यस्तो गतिविधि नियाली रहेको बताएका हुन् ।

उनले नेप्सेमा सूचीकृत भएका तथा सूचीकृत हुने क्रममा रहेका कुनै पनि कम्पनीले सेयरधनीलाई यति प्रतिशत लाभांश वितरण गर्छौं भनेर प्रचारप्रसार गर्न नमिल्ने बताएका छन् ।

‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।’, उनले भने ।

नयाँ विधि बुक बिल्डिङ्ग मार्फत आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गरेको थियो ।

सो अवसरमा बोर्डको कार्यकारी निर्देशक निरज गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।

धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्नसक्ने जानकारी उनले दिए ।

उक्त विधिबाट आईपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्काशन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को १० प्रतिशत कम मुल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको छ- निरज गिरी

सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.