बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन २६ रोपनी जग्गा पास, २५ करोडमा भवन बनाउने तयारी

  २०७७ फागुन १८ गते १२:२६     विकासन्युज

बाघखोर । नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन केन्द्रीय सरकारले करिव २६ रोपनी जग्गा दिएको छ । फागुन १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बेलकोटगढी वडा नम्बर ८ बाघखोरस्थित नेपाल सरकारको नाममा रहेको २५ रोपनी १२ एक दाम जग्गा नगरपालिकाको नाममा कायम गर्ने गरी निर्णय भएको छ ।

उक्त जग्गामा नगरपालिका कार्यालय प्रयोजनको लागि धेरैवटा भवनहरु बनाउने तयारी भईरहेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए । ‘केन्द्रीय सरकारबाट हामीले करिव २६ रोपनी जग्गा पाएका छौं । यसमा नगरपालिकाको कार्यपालिका कार्यालय, सुरक्षा निकायको कार्यालय, कृषि कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, वर्कशप लगायतका भवनहरु बनाउने तयारीमा छौं’ उनले भने–‘यस परियोजनाको डीपीआर बनाउँदैछौं । मेरो कार्यकालमा कम्तिमा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।’

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल १५ महिना मात्र बाँकी छ । यस अवधिमा डीपीआर तयार गर्ने, ठेक्का लगाउने र निर्माणको कार्य आधाआधी सक्ने उनको योजना छ ।

यी संरचना बनाउने २० देखि २५ करोड रुपैयाँ आवश्यक हुने मेयर खनालको अनुमान छ । उक्त रकम केन्द्रीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट जुटाउन लागेको उनले बताए ।

उक्त स्थानमा हाल स्थायी प्रकृतिको संरचनाहरु बनाई कार्यसञ्चालन हुँदै आएको छ । समुन्द्री सतहबाट १६ मिटर अग्लोस्थानमा भएकोले खानेपानीको व्यवस्था गर्न कठिन भएको उनले बताए । ‘खाली डाँडो भएकाले अरु समस्या छैन । मोटर बाटो पुगेको छ । बाटो पीच गर्न बाँकी छ । खानेपानीको व्यवस्था गर्न कठिन छ’ उनले भने ।

One comment on "बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन २६ रोपनी जग्गा पास, २५ करोडमा भवन बनाउने तयारी"

  • माधब says:

    काम त राम्रै हो! तर मर्ने बेला मा हरियो कांक्रो भनेको यहि हो । पहिला जनताको आत्यावस्यक केहो भन्ने नजान्ने जनप्रतिनिधि र सरकार भयपछि यस्तै हुने रैछ। बिगतमा कांग्रेस को सरकार, त्यसपछि कम्युनिष्ट को सरकार आयको र यि जनप्रतिनिधि आयको पनि झण्डै ४ बर्ष हुन लागिसक्यो। तर समस्या उस्तै र उहि। प्रशंग काठमाडौ- ककनि – पिपलटार सडक खण्ड! उहा भने बेल्कोटगडि नगरपालिका रे ! पहिला ७/८ बर्ष अगाडि २:२/३० घण्टामा ५५ किमि पार गरिन्थ्यो पब्लिक बसमा तर आजकल ४:३०/५ घण्टा लाग्छ त्यो पनि पुरै ज्यान नै जोखिममा पारेर ! अनि जनतालाई सास्तिको सास्ति उनिहरुलाई भने हरेक कुरामा मोज मस्ति आराम धिक्कार छ मेरो देस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.