यात्रुको रोजाईमा बुद्ध एयर, बनायो नयाँ रेकर्ड, थप्यो अर्काे जहाज

  २०७७ माघ २६ गते १४:११     विकासन्युज

काठमाडौं । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा ओगेटेको बुद्ध एयर यात्रुहरुको रोजाईमा पर्दै गएको छ । हालसम्म सबै एयरलाइन्सभन्दा बढी यात्रु बोकेर बजारको हिस्सा बढाउँदै गएको बुद्ध एयरले हिजो आफ्नै रेकर्ड तोडेको छ ।

हिजो मात्रै बुद्ध एयरले हालसम्मकै उच्च यात्रुहरु बोकेको छ । बुद्ध एयरका अनुसार हिजो आइतबार ६ हजार यात्रुले बुद्ध एयरको यात्रा गरेका छन् । जुन बुद्ध एयरको इतिहासमा हालसम्मकै उच्च हो ।

बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगेट्दै आएको छ । अन्य वायुसेवा कम्पनीभन्दा बढी जहाज भएको, यात्रु बढी बोक्ने हवाई कम्पनीका रुपमा परिचित बुद्धले वर्षौंदेखिको आफ्नो रेकर्ड हिजो तोड्न सफल भएको हो ।

बुद्ध एयरका मार्केटिङ हेड रुपेश जोशी अनुसार हालसम्म दैनिक ६ हजार यात्रुले बुद्ध एयरको यात्रा गरेका थिएनन् । ‘हिजो मात्रै ६ हजार जनाले बुद्ध एयरको सेवा लिए, जुन हाम्रो इतिहासमा सबैभन्दा बढी हो, अझै हाम्रो बजार बढ्छ,’ जोशीले भने ।

उनले नयाँ जहाज पनि थपेको बताए । उनका अनुसार नयाँ जहाजको आगमन सँगै बुद्ध एयरमा यात्रा गर्नेहरुहरुको संख्या पनि बढेका हुन् । अब बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुने जोशीको भनाई छ ।

उनका अनुसार अब बुद्ध एयरको दैनिक एक सयभन्दा बढी उडान हुनेछन् । ‘हामीले पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्ज, धनगढीका लागि दैनिक ४ उडान भर्नेर्छौं, अरु ठाउँ भने यात्रुको चाप हेरेर उडान विस्तार गर्नेछौं,’ उनले भने ।

हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेको हवाई सेवा क्षेत्र विस्तारै चलायमान हुन थालेको उनको भनाई छ । उनले बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.