३२ करोडको लागतमा दुध पाउडर कारखाना बन्दै, दैनिक ५० हजार लिटर दुध उत्पादन, १० हजारले काम पाउने

  २०७७ माघ २६ गते १३:३२     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । दुग्ध व्यवसाय गर्ने उद्देश्यका साथ प्रदेश एकमा दुध पाउडर कारखाना निर्माण हुने भएको छ । प्रदेश एकका किसानहरुले उत्पादन गर्ने दुधलाई बजारीकरण गरी दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने र दूधजन्य परिकार बनाउने उद्देश्यले सो कारखाना निर्माण हुने भएको हो ।

कारखानाको निर्माण सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघले गर्ने भएको हो । सो कारखाना निर्माण सञ्चालक समितिका अध्यक्ष बाबुराम खत्रीले प्रदेश एकमा उत्पादन भएको दुधलाई सहज रुपमा बजारिकरण, प्रशोधन र त्यसको विभिन्न परिकारहरु बनाउने उद्देश्यका साथ कारखाना निर्माण गर्न लागेको बताएका हुन् ।

उनका अनुसार सो कारखानाकोअनुमानित लागत ३२ करोड रुपैयाँ रहेको छ । त्यसमा १२ करोड रुपैयाँ सहकारी संघ र २० करोड रुपैयाँ प्रदेश एक सरकारले लगानी गर्नेछ ।

‘कारखानाले पहिलो काम पाउडर बनाउँछ, ५० हजार लिटर दैनिक दुध उत्पादन हुने अनुमान हामीले गरेका छौं, प्रदेश एकका सबै सहकारीहरु आवद्ध गर्ने हाम्रो रणनीति हो, हालसम्म ३५ वटा सहकारी आवद्ध भइसकेका छन्, ६५ वटा आवद्ध हुने क्रममा छन्, अब चाँडै नै एक सय सहकारी यस कारखाना निर्माण अभियानमा आवद्ध हुनेछन्,’ खत्रीले भने ।

उनका अनुसार हाल प्रदेश एकमा दुध उत्पादन गर्ने सहकारी करिब ५ सय वटा छन् । उनले कारखाना निर्माणको लागि कम्पाउण्ड वालको ठेक्का दिएर काम भइसकेको बताए । ‘यसको अनुदान पाइसकेपछि टेण्डर हुन्छ, टेण्डर आव्हान गरेपछि इक्विमेन्ट ल्याउने काम हुन्छ, निर्माण थालेको एक वर्ष भित्रै काम सम्पन्न हुन्छ,’ उनले भने ।

कारखाना २ बिघा जमिन क्षेत्रफलमा बन्न लागेको हो । उनले माघ भित्रै सम्झौताको काम हुने बताए । ‘हामीले किसानले उत्पादन गरेको दुध बजारिकरण गर्ने ग्यारेन्टी गर्छौं, अहिले खेर गइरहेको दुध कारखाना निर्माण भएपछि खेर जान्न, मिल्क होलि डेको समस्या आउँदैन, यसले किसान हतोत्साहित भएर व्यवसायबाटै पलायन भइहरेको अवस्था छ, अब त्यो अवस्था आउँदैन, यसले झन किसानलाई प्रोत्साहन गर्छ,’ उनले भने ।

उनका अनुसार देशभर दुध बजारिकरण भइसकेपछि निर्यातको सम्भावना पनि रहेको बताए । तथापी यसको पहिलो प्राथमिकता भने देर्शभित्रै नै रहेको उनको भनाई छ । यस परियोजनाबाट १० हजार किसानले रोजगारी पाउने उनले बताए । उनका अनुसार यसमा आवद्ध भएका सहकारीहरुले न्यूनतम एक लाखदेखि २० लाखसम्म लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.