किसानलाई सुलभ ऋण उपलब्ध गराउन राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेका छौं- मेयर खतिवडा

  २०७७ पुष २० गते १३:१८     विकासन्युज

संखुवासभाको खाँदबारी नगरपालिका प्रदेश नं १ मा पर्ने चर्चित कृषि क्षेत्र हो । यो एक पर्यटकीय क्षेत्रको रुपमा चिनिने नगरपालिकाका रुपमा पनि परिचित छ । यो नगरपालिकामा मनकामना जस्ता विभिन्न धार्मिक क्षेत्र, मठ मन्दिर रहेका छन् । खाँदवारीमा कृषि क्षेत्रमा विकास कसरी भइरहेको छ ? कृषिलाई आधुनिकिकरण गर्नका लागि नगरपालिकाले के-कस्तो भूमिका खेलिरहेको छ ? कृषिसँग सम्बन्धित विषयमा खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेका कुराकानी:

खाँदवारी नगरपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

नगरपालिकाले कृषि विकासका लागि सहयोगका विभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । कृषकहरुले घुम्ती तालिम व्यवस्था गर्ने र त्यसबाट कम्पोष्ट मल बनाउने तालिम लिन सक्ने छन् । महिला, दलित, पिछडिएको समूहलाई लक्षित गरेर सहयोगका कार्यक्रमहरु पनि ल्याएका छौं । कृषकलाई मल वितरण गर्ने कार्यक्रमहरु ल्याइएको छ ।

नगरपालिकाले कृषि दरलाई प्राथमिकता दिएर सहकारीमार्फत व्यावसायहरु सञ्चालन गर्नको लागि प्रयत्न गरेका छौं । बाली बीमाहरुलाई पनि प्राथमिकता दिएका छौं । बीमाबाट नोक्सान भएका बालीहरुको क्षतिपूर्ति हुन्छ भन्ने कुरा कृषकलाई बुझाउन कार्यक्रमहरु अगाडी बढी रहेको छ । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने कार्यक्रम छन् । पशुपालनका क्षेत्रका कार्यक्रमहरु पनि अगाडि सारेका छौं । नगरपालिकाले उन्नत जातका पशुहरु वितरण गर्ने, जस्तै बाख्रा पालनमा बोयर जातिका बाख्रा ल्याउने, बोयर जातिको बाख्रा र अन्य जातिको बाख्राबीच क्रश गर्ने, उन्नत जातका गाईहरु ढुवानी गरेर ल्याउला ढुवानी अनुदान दिने, भकारो सुधार, गोठ सुधार कार्यक्रमहरु राख्ने नगरपालिकाले गरिरहेको छ । १० लिटर भन्दा बढि दुध उत्पादन गर्ने कृषकहरूलाई प्रति लिटर १ रुपैयाँको दरले प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमहरु रहेको छ । कृषकहरूलाई नगरपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत कममा अनुदान दिने गरेको छ ।

कृषकहरूका लागि जमिन जोत्ने साधन हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा ३ वर्षदेखि नगरपालिकाले दिँदै आएको छ । माछा पालन गर्ने कृषकहरुलाई पोखरी निमार्णका लागि सहयोग गर्दै आएको छ । अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु नगरपालिकाले अगाडी बढाई रहेको छ । किसानहरुलाई सुलभ ऋण उपलब्ध गराउनको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेका छौं ।

हाल किसानहरुले आफ्ना प्रस्तावना अनुसार ३ लाखदेखि १५ लाख रुपैयाँसम्म बिना धितो ब्याज अनुदानमा ऋण पाउनेछन् । महिलाले ऋण लियो भने १ रुपैयाँ ७४ पैसा मात्र ब्याज तिर्नु पर्नेछ । पुरुषहरूले ऋण लियो भने २ रुपैयाँ ७४ पैसा मात्र पर्ने सम्झौता नगरपालिकाले बैंकसँग गरेको छ । यो ऋण उपलब्ध पनि नगरपालिकाले तत्कालै लागु गर्ने छ । नगरपालिकाले थोपा सिंचाई क्षेत्रमा पनि प्रयत्न गर्नुपर्छ भन्ने विषयमा साेचेकाे छ ।

नगरपालिकामा कति नगरवासीहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

खाँदवारी नगरपालिकामा बढी ग्रामिण क्षेत्र छ । ग्रामिण क्षेत्रको मानिसहरु प्रायः कृषि पेशामा नै आवद्ध छन् । नगरपालिकामा करिब ७५ प्रतिशत भन्दाबढी मानिसहरु कृषि पेशामा आवद्ध छन् ।

कृषिका लागि नगरपालिकाले वार्षिक कति बजेट छुट्याउँदै आएको छ ?

कृषिमा विभिन्न शीर्षक रहेका छन् । नगरपालिकाले २ करोड रुपैयाँ आर्थिक विकासको क्षेत्रमा बजेट छुट्याएको छ । यसभित्र कृषि, पशुपालन, पर्यटन पर्दछन् । यी शीर्षक अनुसार बजेट छुट्याउने गरेका छौं ।

कृषिमा अनुदानका कार्यक्रम के-के छन् ?

हामीले अनुदानका विभिन्न कार्यक्रम ल्याएका छौं । सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर हामीले तरकारीको, पशुपालनको, फलफुलको, मसलाजन्य खेतिको पकेट क्षेत्रलाई छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएका छौं ।

नगरपालिकामा उत्पादन भएका कृषिका सामान नगरपालिका बाहिर पुर्याउन बेचबिखन गर्ने गर्नु भएको छ कि छैन ?

कृषिजन्य सामग्रीहरु नगरपालिकामै खपत हुने गरेको छ । कृषकहरुलाई बढि उत्पादनको लागि हामीले प्रयत्न गरिराखेका छौं । यहाँबाट बाहिर निर्यात हुने भनेको रुद्राक्ष र अलैंची मात्र बाहिर जाने गरेको छ । अरु कृषिजन्य सामानहरु यहि खपत हुने गरेको छ ।

कृषि पेशाबाट वार्षिक रुपमा एक कृषकले कति जति आम्दानी गर्छ?

यकिन भन्न सकिने अवस्था छैन । नगरपालिकामा अलैंची बेच्ने किसान पनि रहेका छन् । उनीहरुले धेरै आम्दानी गर्न सक्छन् । विशेष गरेर रुद्राक्ष बेचेर पनि धेरै अम्दानी गर्न सक्छन् । रुद्राक्षको मूल्य यति नै पर्छ भनेर यकिन भन्न सकिदैन । कहिलेकाहि एउटै रुखमा करोडौं मूल्यको पनि रुद्राक्ष फल्न सक्छ । त्यहि रुखमा एक हजार मुल्यको रुद्राक्षपनि फल्न सक्छ । त्यसैले आम्दानी यकिन भन्न सकिदैन ।

कृषि क्षेत्रमा नगरपालिकाले के-कस्ता बिउ विजनहरु वितरण गरेको छ ?

नगरपालिकाले तरकारीको बिउ, घाँसको बिउ, निःशुल्क वितरण गर्दै आईरहेको छ । कृषकहरुलाई स्थानीय मलको प्रयोग गर्नुपर्छ भन्ने विषयमा नगरपालिकाले जोड दिइरहेको छ । वडा-वडामा अब कृषि पाठशाला सञ्चालन गर्ने नगरपालिको तयारी छ । यो वर्ष सबै वडाहरुको माटो परीक्षण गरिने छ । त्यहाँको माटोमा कुन तत्वको कमि छ ? त्यो ठाउँमा कुन औषधिको प्रयोग गर्दा उचित हुन्छ भन्ने कुराको प्रयत्न गरिरहेको छौं । उखु किसानलाई पनि अगाडि सार्न प्रयत्न गरिरहेका छौं ।

राम्रो कृषि उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कारको व्यवस्था मिलाएको छ कि छैन ?

राम्रो कृषि उत्पादन गर्ने कृषकलाई पुरस्कारको व्यवस्था मिलाएका छौं । वर्षमा एक चोटी नगरपालिकाले कृषि मेला गर्ने गरेको छ । राम्रो तरकारी उत्पादन गर्ने र पशुपालनमा क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कार प्रदान गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.