टेलिकमले थप्यो नयाँ सेवा, आजदेखि आईपी टिभी सञ्चालनमा

  २०७७ पुष १७ गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आजबाट आईपी टिभी सेवा सुरु गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर टेलिकमले यो सेवा सञ्चलनमा ल्याएको हो ।

टेलिकमले प्रदान गर्न लागेको सेवाले उपभोक्ताहरुलाई विभिन्न स्वदेशी तथा विदेशी टिभी च्यानल, भिडिओ हेर्न सहज हुनेछ ।

अहिलेसम्म एनटीटिभी ब्राण्डमा ‘फाइबर टु द होम’ (एफटीटीएच) मार्फत भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउदै आएको नेपाल टेलिकमले आजबाट आइपी टिभी सेवा सुरु गरेको हो ।

यो सेवा संचालनमा आएपछि उचित मूल्यमा उपभोक्ताहरुले घरमै बसिबसी टिभी, इन्टरनेट र टेलिफोन सेवा लिन सक्नेछन् । टेलिकमले स्वदेशी तथा विदेशी च्यानलहरु प्रिमियम र बेसिक गरेर दुई प्याकेजमा उपलब्ध गराएको छ । उपभोक्ताले आफ्नो छनौट अनुसार प्याकेज खरिद गर्न सक्नेछन् ।

जसअन्तर्गत बेसिक प्याकेजको मूल्य (एक टिभी) प्रतिमहिना एक हजार २ सय ३०, ३ महिनाको ३ हजार ५ सय ३० र एक वर्षको शुल्क १३ हजार २ सय २० रुपैंया“ तोकिएको छ । यसमा १५ एमबिपिएस इन्टरनेट, निःशुल्क टेलिफोन र एनटिटिभी सेवा उपलब्ध हुनेछ । त्यस्तै प्रिमियम प्याकेजमा प्रतिमहिना एक हजार ४ सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको पन्ध्र हजार रुपैंया“ शुल्क तोकिएको छ ।

टेलिकमका अनुसार एकभन्दा बढी टिभी प्रयोग गरिएको अवस्थामा थप शुल्क लाग्ने छ । एकभन्दा बढी टिभी थप्ने हो भने बेसिक प्याकेजमा मासिक २ सय २६, त्रैमासिक ७ सय ७८ र वार्षिक २ हजार ७ सय ११२ रुपैया थप्नु पर्नेछ । यसैगरी प्रिमियममा मासिक ५ सय ९, त्रैमासिक १ हजार ४ सय ४९ र वार्षिक ४ हजार ८ सय ८२ रुपैया“ थप्नु पर्नेछ ।

यो सेवा केही समयका लागि काठमाडौंभित्रका सिमित स्थानहरुमा उपलब्ध हुनेछ । जसअनुसार सुन्धारा, ठिमी, बबरमहल, चावहिल, बलम्बु, छाउनी, र गोंगबुमा उपलब्ध हुनेछ । त्यस्तै पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साललगायतका क्षेत्रहरुमा यो सेवा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार यो सेवा लिनका लागि भ्वाइस, डेटा वा दुवै सेवा प्रयोग गरिरहेका उपभोक्ताले नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यो सेवा सञ्चालन गर्न एसटीबी (सेटअप बक्स) खरिद गर्नु पर्नेछ ।

उपत्यका बाहिर कम्पनीको फाइबर पुगेको स्थानमा यो सेवा पाइनेछ । अहिले काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, धनकुटा, झापा, मोरङ, सुनसरी, डोटी कैलाली, कञ्चनपर, धादिङ, बा“के र दाङ लगायतका केही जिल्लामा टेलिकमको फाइबर उपलब्ध छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार आइपीटिभी सेवा काठमाडौं उपत्यकाबाट सुरु भए पनि देशभरका ७७ वटै जिल्लामा विस्तार गर्दै लैजाने योजना छ । यो सेवालाई आक्रामक रुपमा विस्तार गर्दै लैजाने टेलिकमको लक्ष्य छ ।

के हो आइपिटिभी ?

आइपिटिभी एक डिजिटल प्रविधि हो, जसले आइपि ट्रान्समिसन लिंकका आधारमा भिडिओ र टिभी हेर्ने सुविधा प्रदान गर्छ । यसलाई इन्टरनेट प्रोटोकल टेलिभिजनका रुपमा पनि बुझ्न सकिन्छ । पहिले एनालग ब्रोडकास्टका माध्यमबाट टिभी हेर्न सकिन्थ्यो भने अब इन्टरनेटका माध्यमबाट हेर्न सकिन्छ ।

आइपिटिभीले मोबाइलमै वा घरको टिभी उच्च गुणस्तरको टिभी वा भिडिओ सुविधा प्रदान गर्दछ । विश्वमा कतिपय देशहरुले आइपिटिभीमार्फत नै फोर के रिजोलुसनमा भिडिओ हेर्ने सुबिधा प्रदान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.