न्यू नर्मलमा आएन दरबारमार्गको व्यापार, ७० प्रतिशतले घटे ग्राहक, व्यापारीको समय घाम ताप्दै बित्छ

  २०७७ मंसिर ३० गते १५:३६     नबिन पाेखरेल

काठमाडौं । काठमाडौं उपत्यकाको बसैभन्दा ठूलो तथा महँगो व्यापारिक क्षेत्र हो दरवार मार्ग । अघिल्ला वर्षहरुमा विदेशी पर्यटकहरुको चहलपहल ठूलो हुने दरवारमार्गमा यो वर्ष भने सुनसान देखिन्छ ।

यो समय माउन्टेन फ्लाइटको र अन्य पर्यटक गतिविधि भएकोले पनि दरवारमार्ग र ठमेल क्षेत्रमा विदेशी पर्यटकको भिँड बाक्लै हुन्थ्यो । तर, यो वर्ष भने दरवार मार्गमा पर्यटकहरु नआउनाले व्यापारीहरु घाम ताप्न विवश भएका छन् ।

उनीहरु ग्राहकहरु नआउँदा दिनभर घाम तापेर बस्ने गरेका छन् । दरबारमार्ग विशेष गरेर विदेशी पर्यटकहरुका लागि परिचित ठाउँ भएकोले पनि अधिकांश नेपाली सपिङका लागि त्यहाँ जाँदैनन् । त्यसैले पनि दरबारमार्गको ब्यापारमा अहिले सन्तुलन आउन सकेको छैन ।

कोरोना भाइरसको कारण उत्पन्न लकडाउन र त्यसपछिको निषेधाज्ञाको समयमा ठप्प भएको दरबारमार्गको व्यापार अहिले खुलेपनि खासै कारोबार र ग्राहकको चहलपहल देखिँदैन ।

कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द दरबारमार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को विस्तारै सञ्चालनमा आउन थालेपनि ग्राहकहरुको उपस्थिती भने न्यून भएको व्यापारीहरु बताउँछन् ।

दरबारमार्गमा जुत्ता कपडा लगायतका सामानहरुको व्यापार गर्दै आएका दिपक केसीले पहिलेको भन्दा अहिले व्यापार धेरै खस्केको बताए । उनका अनुसार उनको पसलमा पहिलेको भन्दा करिब ३५ प्रतिशतले व्यापार घटेको छ ।

‘कोरोना महामारीकै कारण ग्राहकको संख्यामा करिब ७० प्रतिशतले घटेको छ, कारोबार पनि निकै घटेको छ, सामानको अभाव त्यतिकै छ, पहिले हवाईजहाजमार्फत आउने सामान अहिले पानी जहाज मार्फत आइ रहेको छ,’ उनले भने ।

यस्तै, दरबारमार्गमै मोबाइल पसल सञ्चालन गर्दै आएका पुकार शाक्यले पनि ग्राहक पहिलेको तुलनामा निकै घटेको बताए । उनका अनुसार पहिले अबेरसम्म खुल्ला रहने दरबारमार्गका पसलहरु अहिले ग्राहक नआउँदा ६ बजेनै बन्द गर्नु पर्ने बाध्यता रहेको छ ।

हाल कम्पनीबाट आउने सामानहरु आयातमा कोरोना कारण कमी भएको भएपनि सामान ढुवानीमा भने खासै समस्या नरहेको उनको भनाई छ ।

यस्तै अर्की व्यापारी सन्ध्या बस्नेतले पनि देशमा विदेशी पर्यटकको आवागमन कम हुँदा दरबारमार्गको ब्यापारमा असर परेको बताइन् । ‘म विगत ७ वर्षदेखि दरबारमार्गमै खुद्रा पसल सञ्चालन गर्दै आएकी छु, यस्तो अवस्था त अहिले सम्म भोग्नु परेको थिएन, यो पटक धेरै घाटा व्यहोर्नु पर्यो,’ उनले भनिन् ।

सामान ल्याउन खासै समस्या नभए पनि ल्याएको सामान बिक्री पनि नहुने उनको भनाई छ । यस्तै, दरबार मार्गमै रहेको विम्पी पसलसँगपनि कोरोना महामारीको नमिठो अनुभव छ । कोरोना महामारीकै कारण होटलमा खाना खानेदेखि बाहिर कफी खानेहरुको संख्यामा निकै कमी भएको सो पसलका सञ्चालक जयराम श्रेष्ठले बताए ।

‘पसलमा ग्राहक नै आउँदैनन्, चिसोको समय छ, ग्राहक नआएपछि घाम ताप्दै बस्नुको विकल्प छैन,’ उनले भने । लुगाकपडा मात्र होइन कोरोना भाइरसको असर चस्मामा पनि देखिएको छ । कोरोना भाइरसको महामारी आएपछि चस्माको ब्यापारमा पनि निकै असर परेको छ ।

दरबार मार्गको कलर मास्लर नामक चस्मा पसलका संचालक श्रवण सिंहका अनुसार कोरोना महामारी पछि चस्मा व्यवसाय निकै धकलिएको छ । उनका अनुसार पूरानो सामान बिक्री नभएकै कारण नयाँ सामान ल्याइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.