ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्यो अदालतले

  २०७७ मंसिर ८ गते १८:१८     विकासन्युज

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी प्रकरणमा नाम मुछिएका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बोलेन्द्र रुपाखेतीको इजलासले पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सादगी नेताको पहिचान बनाएका जोशी पनि सो जग्गा प्रकरणमा जोडिएका आरोप लगाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतमा आज (सोमबार, मंसिर ८ गते) जोशी आफै उपस्थित भएका उनका छोरा अरुणदेव जोशीले जानकारी दिए । न्यायाधिशद्वय कार्की र रुपाखेतीको इजलासले जोशीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

अदालत स्रोतका अनुसार सो जग्गा प्रकरणका ५० भन्दा बढी प्रतिवादी विशेष अदालतमा उपस्थित भइसकेका छन् । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेकपा संयुक्तका नेता जोशी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा छोटो समय भूमिसुधार मन्त्री बनेका थिए । सो जग्गा प्रकरणमा तत्कालिन मन्त्री जोशीको पनि संलग्नता रहेको अख्तियारको आरोप छ । तर, अख्तियारले जोशीमाथि आरोप लगाएपछि जोशीको विगत र आचरण थाहा पाउनेहरुले उल्टै अख्तियारको आलोचना गरेका थिए ।

जोशीको तर्फबाट आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विशेष अदालतमा उपस्थित भएर बहस गरेका थिए । भण्डारी अहिले ९२ वर्षका भएका छन् । उनले विशेष अदालतमा ‘जोशीलाई म जिम्मा लिन तयार छु, मेरो जिम्ममा छोड्दा हुन्छ’ समेत भनेका थिए ।

यस्तै, संविधानविद ललितवहादुर बस्नेत तथा डा. भिमार्जुन आचार्यले पनि जोशीको तर्फबाट वहस गरेका थिए । बस्नेत पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पूर्व राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार समेत हुन् । यस्तै, अभिवक्ता अमर थापालगायतले पनि जोशीको तर्फबाट बहस गरेका थिए । जोशीको तर्फबाट बहस गर्ने सबै कानुन व्यवसायीले निःशुल्क र स्वतःस्फूर्त रुपमा वहसमा सहभागी भएका उनको परिवारले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.