अब कान्तिबाल अस्पतालको सेवा नुवाकाेटकाे त्रिशूलीमा

  २०७७ कार्तिक २० गते १४:०२     विकासन्युज

त्रिशुली । त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराइने भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता समेत भएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो । त्रिशूली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागी विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सहमति कार्यान्वयनमा आएको उल्लेख गरिएको छ ।

सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि गएको साता स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग सम्झौता गरिएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट एंव प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. केसीले जानकारी दिइन् । उनको अनुसार अबदेखि हरेक साताको सार्वजनिक बिदाको दिन बाहेक मंगलबार कान्तिबाल अस्पतालको सेवा स्याटेलाइट क्लिनिक मार्फत बाल रोगसंग सम्बन्धित सेवा उपलब्ध गराइने भएको छ ।

स्याटेलाइट क्लिनिक सेवा मार्फत बालरोग सम्बन्धि सर्जरी चिकित्सक सहितको चिकित्सक रहने त्यसमा मेडिकल र सर्जिकल विशेषत्र सेवा समेत उपलब्ध गराउन लागिएको कान्तिबाल अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए । यहाँको अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा बाल रोगसँग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन कान्तिबाल अस्पताल समक्ष त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा केसीले आग्रह गरिन् ।

ग्रामीण तथा दूर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न सङ्घीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै बजेट सुनिश्चित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.