अटोमा आशाको किरणः नाडा अटो सो नभएपछि शाेरूममै प्रदर्शन, दशैं स्कीमको प्रतिस्पर्धा बढ्यो

  २०७७ असोज ११ गते १५:३४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले संकटमा परेको अटो बजार पछिल्लो समय सामान्य बन्दै गएको छ । सरकारले गरेकको ४ महिना लामो देशव्यापी लकडाउन र त्यसपछिको निषेधाज्ञाले ठप्प बनेको अटो बजार पछिल्लो समय भने सामान्य लयमा फर्किने प्रयास गरिरहेको हो ।

दशैं नजिकिँदै गर्दा अटो मोबाइल्स क्षेत्रको ब्यापारमा सुधार आएको छ भने व्यवसायीहरुले दशैं स्कीम पनि ल्याउन सुरु गरेका छन् । अहिले कम्पनीहरुले भर्च्युअल मार्फत नै गाडी लञ्च गर्नुका साथै दशैंको अवसरमा विभिन्न स्कीमहरु पनि सार्वजनिक गरिहरेका छन् ।

कोरोना भाइरसकै कारण नाडा अटो सो रोकिए पनि अहिले डिलरहरुले डिलरमै गाडी प्रदर्शन गर्न थालेका हुन् । अब दशैं आउन एक महिना मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यापारमा सुधार आउँदै गएका नाडा अटो मोबाइल्सका अध्यक्ष कृष्ण प्रसाद सुवेदीले कोरोनाले उत्पन्न लकडाउनको समयमा संकटमा परेको अटो मोबाइल्स क्षेत्रमा अहिले आशाको किरण देखिएको बताए ।

उनले अहिले लकडाउन र निषेधाज्ञा हटेपछि अटो बजारमा विस्तारै सुधार आउँदै गएको बताए । ‘अहिले भर्खरै बजार खुलेको छ, बजार खुलेपछि ब्यापारमा पनि सुधार आउँदै गएको छ, पहिले ६० प्रतिशत कम थियो, अब विस्तारै सुधार आउने आशा छ,’उनले भने ।

अहिले गाडीहरु पनि आयात भइरहेको उनले बताए । उनका अनुसार दशैं नजिकिँदै गर्दा गाडी खरिद बिक्री पनि बढेको छ । ‘यस वर्ष नाडा अटो सो नहुनेपछि धेरै व्यापार घट्ने नै भयो, अहिले व्यवसायीहरुले स्वरुममै गाडी प्रदर्शन गर्न थालेका छन्, दशैं स्कीमहरु पनि आइरहेका छन्,’ उनले भने ।

यस्ता विभिन्न व्यापार मेलाहरु नभएपछि देशको अर्थतन्त्रमा पनि ठूलो नोक्सान हुने उनको भनाई छ । ‘यस वर्ष राजश्व नै आधा मात्र उठेको छ, बजार नै बन्द छ, सामान नै आएको छैन, नाडामा पनि गत वर्षको तुलनामा ५० प्रतिशत कम व्यापार भएकोे छ,’ उनले भने ।

नेपालमा दशै‌ं र तिहार जस्ता चाडपर्वमा निजी सवारीसाधनको बिक्री उल्लेख्य मात्रामा हुने गरेको छ । अघिल्ला वर्षहरुमा यही समयमा हुने नाडा अटो सो यस वर्ष नभएपछि व्यवसायीहरु शोरुमै गाडी प्रदर्शनमा जुटेका छन् । गाडी बिक्रेता कम्पनीहरुले अहिले आकर्षक उपहार तथा छुटका योजनाहरु ल्याइरहेका छन् ।

गत आर्थिक वर्षको तुलनामा सवारीसाधन आयात भने आधा घटेको छ । गत आर्थिक वर्ष २०७७–०७८ को साउन र भदौमा १८ अर्ब ४४ करोडको सवारीसाधन तथा तिनका पाट्र्स आयात भएको थियो ।
चालू आवको सोही अवधिमा ९ अर्ब ७४ करोडको मात्रै सवारीसाधन तथा तिनका पाट्र्स आयात भएको भन्सार विभागको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.