संयुक्त लगानीका बैंक पार्टनर खाेज्दै नेपाल बंगलादेश बैंक, हिमालयन पहिलाे राेजाइमा

  २०७७ असोज ११ गते १०:४५     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा १२ प्रतिशत र नेपाल बंगलादेश (एनबी)बैंकमा करिब ९ प्रतिशत सेयर लगानी रहेको एनबी ग्रुपले दुई बैंक मर्ज गराउन माग गरी नेपाल राष्ट्र बैंकमा निवेदन गर्दै गर्दा नेपाल बंगलादेश बैंकको मुख्य लगानीकर्ता आईएफआईसीले संयुक्त लगानीमा खुलेका नेपाली बैंकसँग मर्जबारे परामर्श थालेको छ । नेपाल बंगलादेश बैंकमा आईएफआईसीको ४०.९१ प्रतिशत सेयर लगानी रहेको छ ।

नेपाल वंगलादेश बैंकसहित नेपालमा विदेशी संयुक्त लगानीका ७ वटा बैंक रहेका छन् । त्यसमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल एसविआई बैंक, नविल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र एनएमबी बैंक हुन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा चार्टर्ड ग्रुपको करिव ७० प्रतिशत सेयर हिस्सा छ । नेपाल एसविआई बैंकमा स्टेट बैंक अफ इन्डियाका ५५ प्रतिशत सेयर लगानी छ । नविल बैंकमा एनवी इन्टरनेशलनको ५० प्रतिशत सेयर लगानी रहेको छ । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ भने हिमालय बैंकमा हविव बैंकको २० प्रतिशत लगानी रहेको छ । एनएमबी बैंकमा एफएमओ ग्रुपको १३.६९ प्रतिशत सेयर लगानी रहेको छ ।

एनबी बैंकको मुख्य प्रवद्र्धक आईएफआईसीले स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक अरु ५ बैंकका प्रतिनिधिहरुसँग काठमाडौंमा एक्लाएक्लै भेटेर गरेको छ । आईसीएफसीले एसविआई, नविल, एभरेष्ट, हिमालयन, एनएमबी बैंकको वित्तीय अवस्था, नेटवर्क, कर्मचारीको अवस्था लगायत आधारभूत पक्षबारे अध्ययन पनि गरेको छ ।

अध्ययन रिपोर्टले हिमालय बैंकसँग मर्ज गर्दा सबैभन्दा राम्रो हुने र सिनर्जी इफेक्ट आउने देखाएको स्रोतले बतायो । ‘जुन क्षेत्रमा हिमालय बैंक कमजोर छ, त्यसमा एनबी बैंक राम्रो छ, जुन क्षेत्रमा एनबी बैंक राम्रो छ, त्यसमा हिमालय बैंक कमजोर छ’ सम्वद्ध स्रोतले भन्यो–‘यी दुई बैंक मर्ज भएमा सिनर्जी इफेक्ट आउँछ ।’ निक्षेपको संरचना, कर्जाको संरचना, विदेशी मुद्रा कारोबार, रेमिट विजनेश, शाखा सञ्जाल लगायत धेरै सूचकका आधारमा दुई बैंकबीच मर्ज हुँदा राम्रो नतिजा आउने आईसीएफसीको विश्लेषण रहेको छ ।

मर्जबारे छलफल गर्न आईसीएफसीले हिमालयन बैंकलाई इमेल समेत गरेको छ । पछिल्लो समय हिमालयन बैंकसँग मर्ज गर्न सिभिल बैंकले पनि पत्रचार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकका प्रमोटरहरु बीच पनि छलफल चलेको छ । धेरै बैंकबाट प्रस्ताव आएपछि हिमालयन बैंकले मर्जर कमिटि गठन गरेर अध्ययन गरिरहेको छ ।

यता नेपाल बंगलादेश बैंकका नेपाली ठूला सेयरधनीले आईसीएफसीका प्रतिनिधिसँग नविल बैंकमा मर्ज गराउन सुझाव दिएका छन् । नविल बैंकको ५० प्रतिशत सेयर होल्ड गर्ने एनबी इन्टरनेशनलको ठूलो हिस्सा सेयर बंगालीको भएको र आईसीएफसी पनि बंगालीहरुको बैंक भएकोले दुबैं संस्थाका बंगाली मिलेको अवस्थामा नविलसँग मर्ज सम्भव हुने नेपाली लगानीकर्ताको भनाई छ । ‘राष्ट्र बैंकको नीति र बजार विकास दुबैको आधारमा मर्जमा जान दवाव छ’ स्रोतले भन्यो–‘यस्तो अवस्थामा सम्भावित पार्टनरहरुसँग छलफल हुनु स्वभाविक हो ।’

यता नेपाल बंगलादेश बैंकमा करिव ९ प्रतिशत संस्थापक सेयर धारण गरेको एनबी समूहको प्रबन्ध निर्देशक लक्ष्मीबहादुर श्रेष्ठले एनबी बैंक र एनसीसी बैंक मर्ज गराउन आवश्यक निर्देशनको माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन हालेका छन् । ‘राष्ट्र बैंकले पटक पटक कमन सेयरधनी भएका बैंकहरुबीच मर्ज हुनुपर्छ भनेको छ । यस वर्षको मौद्रिक नीतिमा पनि सोही कुरा आएको छ । हामी राष्ट्र बैंकको नीति र निर्देशन पालना गर्न हामी तयार छौं’ श्रेष्ठले विकासन्युजसँग भने ।

‘हामी राष्ट्र बैंकको नीतिमा सहयोग गर्न पनि चाहान्छौं । मर्ज गर्यौं भने हाम्रो बैंकको शाखा २०५ भन्दा बढी हुन्छ । पुँजी, निक्षेप, कर्जा, लगानी, सम्पत्ति सबै हिसावले यो बैंक नेपालका ठूला ५ वटा बैंक भित्र पर्छ । जहाँ दुईटा शाखा छ त्यहाँ एउटा राखेर नयाँ ठाउँमा शाखा स्थान्तरण गर्न सकिन्छ । यसले बैंकको कारोबार, नाफा सबै बढ्छ । दुबै बैंक २५ वर्ष पुराना हुन् । यी बैंक मर्ज हुँदा सिनर्जी इफेक्ट आउँछ’ श्रेष्ठले भने । साउन दोस्रो साता एनबी समूहले निवेदन गरेपनि राष्ट्र बैंकले यसबारे कुनै पहल गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.