एनबी बैंक र एनसीसी बैंक मर्ज गराउन राष्ट्र बैंकसँग माग गरेका छाैं- लक्ष्मी बहादुर श्रेष्ठ

  २०७७ असोज ५ गते १६:१२     विकासन्युज

नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा १२ प्रतिशत र नेपाल बंगलादेश बैंकमा करिब ९ प्रतिशत सेयर लगानी रहेको एनबी ग्रुपले दुई बैंक मर्ज गराउन माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन हालेको छ । कमन प्रमोटर सेयरधनी रहेका बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउने नीतिसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि एनबी समूहले राष्ट्र बैंकमा हालेको माग निवेदनले दुबै बैंकका सेयरधनी र कर्मचारीलाई तरङ्गित गरेको छ । अनौठो संयोग के परेको छ भने कयौंपटक राष्ट्र बैंकको नीति निर्देशन पालना नगरेको भन्दै एनबी समूहमाथि राष्ट्र बैंक जाइलागेको थियो । अहिले राष्ट्र बैंक आफैले जारी गरेको नीति किन कार्यान्वयन भएको छैन भनेर एनबी समूह राष्ट्र बैंकमाथि जाइलाग्ने अवस्था देखिएको छ । प्रस्तुत छ यहि सन्दर्भमा एनबी समूहका प्रबन्ध निर्देशन लक्ष्मीबहादुर श्रेष्ठसँग गरिएको विकास वहस ।

एनसीसी बैंक र एनबी बैंक मर्ज गराउन माग गर्दै राष्ट्र बैंकमा निवेदन दिनु भएको हो ?

हो । राष्ट्र बैंकले पटक पटक कमन सेयरधनी भएका बैंकहरुबीच मर्ज हुनुपर्छ भनेको छ । यस वर्षको मौद्रिक नीतिमा पनि सोही कुरा आएको छ । राष्ट्र बैंकको नीति निर्देशन पालना भएन भनेर बेलाबेलामा कुरा उठ्ने पनि गरेको छ । त्यसैले हामीले राष्ट्र बैंकको नीति र निर्देशन पालना गर्न हामी तयार छौं । एनबी ग्रुप नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक दुबैको संस्थापक र महत्वपूर्ण सेयरधनी हो । यी दुई बैंक मर्ज गर्दा राष्ट्र बैैंकको नीतिलाई पनि सहयोग पुग्छ भनेर हामी प्रोएक्टिभ भएर राष्ट्र बैंकमा दुई बैंक मर्ज गर्न आवश्यक निर्देशन दिन माग गरेका हौं ।

तपाईंको मागबारे राष्ट्र बैंकको भनाई के छ त ?

मौद्रिक नीति आएपछि नयाँ नीतिको स्वागत गर्दै साउन दोस्रो साता हामीले निवेदन लिएका छौं । ‘हामी दुबै बैंकको लगानीकर्ता हौं । हामी मर्ज गर्न तयार छौं । दुई बैंक मर्ज गर्न आवश्यक वातावरण बनाउन र आवश्यक निर्देशन दुबै बैंकलाई दिन हामीले माग गरेका छौं ।  तर मैले बुझ्दा राष्ट्र बैंकले मर्जरलाई धेरै प्राथमिकता दिएको जस्तो लागेन । एनसीसी र एनबीबीचको मर्जरलाई मात्र होइन, कुनै पनि बैंकहरुलाई मर्जरमा लैजान राष्ट्र बैंक सक्रिय भएको देखिदैन । सामान्य फलोअप मात्र भएको छ । यति मितिभित्र मर्ज गर्नैपर्छ भनेर राष्ट्र बैंक अगाडि आएको छैन । मर्जरको कुरा त हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच पनि भईरहेको छ, एनएमबी र एनआईसी एशियाबीच मर्जको कुरा पनि चलिरहेको छ । तर ठोस प्रगति कहि कतै पनि भएको छैन ।

तपाईले निवेदन दिएपछि राष्ट्र बैंकले छलफलको लागि पनि बोलाएन ?

बोलाएको छैन । कोरोनाको मार पनि छ । राष्ट्र बैंक पनि बैंकहरुको कर्जा असुलीमा कसरी सहयोग गर्न सकिन्छ भनेर लागेको छ । निवेदन गईसकेकोले केही न केही निर्देशन त आउला ।

दुबै बैंकको सञ्चालक समितिमा तपाई हुनुहुन्न । तपाईको प्रतिनिधि पनि छैनन् । त्यसैले तपाईको मागको सुनुवाई नभएको हो कि ?

हामीले सञ्चालक समितिमा पनि कुरा राखेका छौं । राष्ट्र बैंकलाई दिएको निवेदनको बोदार्थ दुबैं बैंकका सञ्चालक समितिलाई दिएका छौं । एनसीसीमा करिब १२ प्रतिशत र एनबीमा करिब ९ प्रतिशत सेयर भएको एनबी समूह दुबै बैंकका लागि महत्वपूर्ण हिस्सेदार हुन् । पक्कै पनि हाम्रो कुरालाई दुबै बैंकले महत्वको साथ लिएको हुनुपर्छ ।

दुबैं बैंकको सञ्चालक समितिमा एनबी समूहको प्रतिनिधि नुहुनुमा खास कारण छन् । एनबी बैंकको सन्दर्भमा हामी र आईएफआईसी बैंकसँग केही समझदारी भएको छ । अहिलेको बोर्डको कार्यकाल १ वर्षमा सकिदैछ । त्यसपछि हाम्रो पनि प्रतिनिधित्व हुन्छ ।

एनसीसी बैंकमा नेपाल राष्ट्र बैंकले तदर्थ समिति गठन गरेर गयो । पछि प्रबन्धपत्र तथा नियमावलीहरुमा संशोधन आवश्यक भएकोले निर्वाचन हुन सकेन । अहिले सबै प्रकारको कानुनी प्रक्रिया पूरा भएको छ । अब हुने साधारणसभा पछि एनसीसी बैंकको बोर्डमा हाम्रो प्रतिनिधित्व हुनेछ ।

एनसीसी बैंकमा प्रमोटरको झगडाले तदर्थ समितिलाई राम्रै फलिफाप भैराखेको छ । यो अवस्था कहिलेसम्म रहन्छ ?

झगडा भन्ने केही छैन । हामी बाहिर बसेर सपोर्ट नै गरिरहेका छौं । बैंक राम्रो भएको छ । गत वर्ष बैंकले १५ प्रतिशत बोनस सेयर दिएको छ । प्रक्रियागत सुधारको काम सकिएकोले अब हुने साधारण सभापछि वास्तविक लगानीकर्ता बैंक सञ्चालक समितिमा जानेछन् ।

मर्ज गरेर फेरी पनि तपाई यस बैंकको अध्यक्ष बन्ने तपाईको चाहाना हो ?

मेरो चाहाना छैन । सीईओ बनेर, सञ्चालक बनेर, अध्यक्ष बनेर ठूलो मान्छे बन्ने पनि होइन । महत्वपूर्ण कुरा बैंकले कति लाभांश दियो भन्नेले अर्थ राख्छ । भौतिक मान, पदवी, अलंकारप्रति मेरो कुनै लोभ छैन । अब मेरो छोराहरु हाइली क्वालिफाइड छन् । उनीहरु बोर्डमा जान्छन् ।

यी बैंकको लगानीकर्ता मात्र कमन होइन, कर्मचारी पनि कमन छन् । एनबीबाट एनसीसी, एनसीसीबाट एनबी सरुवा भएका कर्मचारी पनि धेरै छन् । काम गर्ने संस्कार पनि मिल्छ । मैले आईएफआईसीसँग पनि कुरा गरिरहेको छु ।

तर आईएफआईसीका प्रतिनिधिहरुले तपाईलाई लखेटिरहेका छन् रे नि ?

विलकुलै होइन । हामी असाध्यै राम्रो छाैं । एनबी बैंक खोल्दा नै हामीले १० प्रतिशत सेयर लिने सहमति भएको हो । शुरुमा १० प्रतिशत सेयरधनीको साझेदारी एनबी बैंकमा । पछि उनीहरुले हकप्रद सेयरमा पैसा हालेनन् । त्यो सेयर हामीले किन्दै गएर हाम्रो हिस्सा ४५ प्रतिशत भएको थियो । अहिले उनीहरुसँग ४० प्रतिशत छ । हामीसँग ९ प्रतिशत छ । त्यसैले उनीहरुले हामीलाई लखेट्नु पर्ने कुनै कारण छैन ।

आईएफआईसीका अध्यक्ष सलमान रहमान, जो अहिले बंगलादेशका प्रधानमन्त्रीको आर्थिक सल्लाकार हुनुहुन्छ, उहाँसँग मेरो दाजुभाईको जस्तो सम्बन्ध छ । ५/६ महिनामा हाम्रो भेट भईराखेको हुन्छ । अहिलेका प्रधानमन्त्री शेख हसिना १९९० मा हाम्रो घरमा आउनु भएको थियो । उहाँसँग पनि मेरो राम्रो सम्बन्ध छ ।

नेपाल बंगलादेश बैंक स्थापना गर्नुभन्दा १० वर्षअघि नै हामीले बंगलादेशमा बिजनेश शुरु गरेको थियौं । अहिले म नेपाल बंगलादेश उद्योग व्यापार संघको अध्यक्ष पनि छु । हामी बंगलादेश सरकारबाट पटक पटक सम्मानित भएका छौं । हामीलाई नेपाल सरकारले भन्दा बंगलादेश सरकाले सम्मान गर्छ ।

त्यसो हो भने नेपाल बंगलादेश बैंक सञ्चालक समितिले किन एनसीसी बैंकसँग मर्ज गर्ने भनेर निर्णय गराउन नसकेको ?

त्यो व्यवसायिक निणर्य भयो । एनसीसी बैंकमा कमर्चारी बढी छन् भन्ने बंगालीहरुकाे भनाई छ । अर्को बंगालीहरु नेचुरल ग्रोथमा जाने र आफै थप पुँजी लगानी गर्ने कि भन्ने सोचमा पनि छन् ।

एनसीसी र एनबी मर्ज चाहनुको उदेश्य के हो ?

राष्ट्र बैंकको नीति पनि हो । राष्ट्र बैंकलाई सहयोग गर्नुपर्छ हामीले । दोस्रो न्यूरोड गए पनि, पोखरा गए पनि, भैरहवा गए पनि, जुन सहरमा गए पनि एनबी र एनसीसी दुबै बैंकको शाखा छ । मर्ज गर्यौं भने हाम्रो बैंकको शाखा २०५ भन्दा बढी हुन्छ । पुँजी, निक्षेप, कर्जा, लगानी, सम्पत्ति सबै हिसावले यो बैंक नेपालका ठूला ५ वटा बैंक भित्र पर्छ । जहाँ दुईटा शाखा छ त्यहाँ एउटा राखेर नयाँ ठाउँमा शाखा स्थान्तरण गर्न सकिन्छ । यसले बैंकको कारोबार, नाफा सबै बढ्छ । दुबै बैंक २५ वर्ष पुराना हुन् । यी बैंक मर्ज हुँदा सिनर्जी इफेक्ट आउँछ ।

हरिसिद्धिको जग्गा विवाद कहिलेसम्म राख्ने हो ?

हरिसिद्धिको जग्गा एनसीसी बैंकको गैरबैकिङ सम्पत्तिको रुपमा रहेका छ । यो जग्गा धितोमा राख्दा एउटा सर्त छ जहाँ बैंकले जग्गा लिलामी गर्नुपर्दा त्यसमा हरिसिद्धिलाई प्राथमिकता दिनुपर्छ भन्ने छ । यो विषयमा अदालतमा मुद्दा चलिरहेको छ । हरिसिद्धि पनि पब्लिक कम्पनी हो । १० हजारभन्दा बढी सेयरधनी छन् । उद्योग चलिरहेको छ । यसमा अदालतले पनि हेरिरहेको छ । अदालतको फैसला आएपछि यो समस्या समाधान हुन्छ ।

हरिसिद्धिको जग्गा विवाद रहदासम्म एनसीसी बैंकभित्र पनि विवाद रहिरहन्छ र त्यो विवादमा तपाईको संलग्नता पनि रहिरहन्छ भन्छन् नि जानकारहरु ?

बैंक पनि पब्लिक कम्पनी हो, हरिसिद्धि पनि पब्लिक कम्पनी हो । हरिसिद्धिको जग्गा अहिले बैंकको स्वामित्वमा छ । मिलेर गए दुबै संस्थालाई लाभ हुन्छ । बैंकले यस गैरबैकिङ सम्पत्ति बिक्री गर्ने बित्तिकै बैंकलाई धेरै फाइदा हुन्छ ।

तर अदालतमा मुद्दा हालेर बैंकलाई जग्गा बेच्नै दिनुहुन्न रे तपाईं ?

मैले मुद्दा हालेको छैन । हरिसिद्धिका सेयरधनीले आफ्नो सम्पत्ति बचाउन अदालत गएका छन् । बढी सम्पत्तिलाई कम मूल्यङकन गरेर बैंकले गैरबैकिङ सम्पत्ति बनाएको रहेछ । यस्तो अवस्थामा पीडित पक्षले आफ्नो सम्पत्ति जोगाउन आवश्यक पहल त गर्ने नै भयो । हरिसिद्धिले अहिले पनि कर्जा तिरेर आफ्नो जग्गा फिर्ता लिन खोजेको छ । कर्जाको सावा भन्दा व्याज धेरै बढी छ । बैंकले व्याजमा छुट दिनुपर्छ । कम्पनीले सावामा केही व्याज थपेर कर्जा चुक्ता गर्छ ।

कुनै बेला सूचिकृत कम्पनीमा सबैभन्दा ठूलो लगानीकर्ता, सबैभन्दा धनी व्यक्तिको परिचय बनेको थियो तपाईको । अहिले त तपाई बेपत्ता हुनु भयो नि ?

बेपत्ता भएको होइन । पहिलो अलि आक्रामक रुपमा लगानी विस्तार गर्यौ । एनबी समूहले प्रमोट गरेको ७ वटा कम्पनी नेप्सेमा सूचिकृत भएका थिए । ती मध्ये तीन वटा मर्ज भएर एनबी बैंक भयो । अहिले पनि ५ वटा कम्पनी राम्रोसँग चलिरहेका छन् । २५/३० वर्षअघि हामीले धेरै क्षेत्रमा लगानी गर्यौं । सबै लगानीबाट उचित प्रतिफल आएन । सबैं कम्पनीको राम्रो व्यवस्थापन गर्न सकिएन । त्यसैले केही समस्या आएको हो तर हराएको भन्न मिल्दैन ।

तपाईले खोलेका ५ वटा कम्पनी त छन् तर ती कम्पनीमा एनबी समूहको अस्तित्व हराउँदै गयो नि ?

कुनै पनि कम्पनीमा संस्थापकको अस्तित्व मेटिएर जाँदैन । नेपाली काँग्रेस वा नेपाल कम्यूनिष्ट पार्टीको कार्यालयमा जानुभयो भने संस्थापकहरुको फोटो राखिएको हुन्छ । हरेक वर्ष संस्थापकहरुको स्मरण गरिन्छ । त्यस्तै त हो नि कम्पनीमा पनि ।

तर तपाईले स्थापना गरेका कम्पनीमा तपाईको फोटो झुण्डिएको त छैन नि ?

निजी क्षेत्रमा यस्तो संस्कारको कमी छ । एनबी बैंक वा एनसीसी बैंकको सञ्चालक समितिको बैठक कक्षमा हाम्रो फोटो नभए पनि १० हजार कर्मचारीको मन मस्तिकमा हामी छौं । हामीले स्थापना गरेका कम्पनीमा ड्राइभर भएर काम गर्नेहरु पनि आज काठमाडौंमा घर बनाएका छन् । कतिका छोरोछोरी अहिले पनि हाम्रै बैंकमा आएका छन् । उनीहरुले त हामीलाई बिर्सेका छैनन् नि ।

तपाईलाई सम्झेर अहिले पनि उनीहरु कोशेली बोकेर आउँछन् ?

पहिला त जागिर लगाइदिनु पर्यो भनेर मेरो घरमा बिहान बिहान मान्छेको भीड लाग्थो । कोही प्रमोशन माग्न आउँथे । धेरैको काम गरिदिए पनि । अहिले त महत्वपूर्ण पदमा नभएकोले होला, पहिला जस्तो मान्छे आउँदैनन् ।

तपाई आफै भूमिगत हुनुभयो, भेट्न नि कहाँ आउनु ?

कुनै बेला म ४/५ वटा संस्थाको बोर्डमा थिएँ । नेपाल बैंकको सञ्चालक थिएँ । नेपाल उद्योग वाणिज्य महासंघमा बैकिङ समितिको सभापति थिएँ । सार्क चेम्बरको कार्यसमिति सदस्य भएँ । त्यतिबेला मलाई भट्ने धेरै जना आउँथे । विगत ८/९ वर्षदेखि म अहिले ओम शान्तिको विद्यार्थी भएको छु । सम्झनेले अहिले पनि सम्झिरहेका छन् । स्वार्थीहरुले बिर्से पनि होलान् ।

तपाईको उन्नतिको सारथी के हो ? अवन्नतिको सारथी के हो ?

मिहेनत र इच्छा शक्ति नै उन्नतिको सारथी हो । अवन्नति मेरो भएकै छैन । सोचेजस्तो नतिजा पाइन । मैले एकै पटक धेरै ठाउँमा हात हाले । धेरै लगानी गरे । त्यसको व्यवस्थापन, मनिटरिङमा म चुकेँ ।

बैंकबाट अधिक ऋण लिनु र आर्थिक रुपमा इमान्दार नबन्नु तपाईको अवन्नतिको सारथी होइनन् ?

म अहिलेपनि पत्तासाफ भएको छैन । बैंकमा एनबी समूहको कर्जा १०० करोड भन्दा कम छ । तर हाम्रो सम्पत्तिको मूल्य ६०० करोड भन्दा बढी छ । हाम्रा व्यवसायिक लगानीको जग बलियो छ । अहिले प्रतिफल राम्रो आईरहेको छ । हामी फेरी २० मेगावटको जलविद्युत आयोजना बनाउँदै छौं । हरिसिद्धिमा ३०० बेडको अस्पताल बनाउने योजना छ ।

कुनै पनि व्यवसाय गर्न ऋण त लिनै पर्थ्याे । तर लगानी अनुसार प्रतिफल नपाउँदा समस्या भयो । यस्तो समस्या धेरै कर्पोरेट हाउसले भोगेका हुन्छन् ।  म अहिलेपनि पत्तासाफ भएको छैन । बैंकमा एनबी समूहको कर्जा १०० करोड भन्दा कम छ । तर हाम्रो सम्पत्तिको मूल्य ६०० करोड भन्दा बढी छ । हाम्रा व्यवसायिक लगानीको जग बलियो छ । अहिले प्रतिफल राम्रो आईरहेको छ । हामी फेरी २० मेगावटको जलविद्युत आयोजना बनाउँदै छौं । हरिसिद्धिमा ३०० बेडको अस्पताल बनाउने योजना छ ।

तपाईले आर्थिक इमान्दारिताको प्रश्न गर्नुभयो । हामी एकदम इमान्दार छौं । अहिले बैंकका कर्जाहरु सेटल गर्दै गएका छौं । हामीले काठमाडौं छोड्नु पनि परेको छैन । नेपाल छोडर भाग्ने त कुरै भएन । काम गर्दै जाँदा कतिपय ठाउँमा कर्जा भुक्तानी गर्न ढिलो भयो होला । अहिले नियमित हुँदै गएको छ ।

तर तपाईंलाई अहिले पनि कर्जा सूचना केन्द्रले कालोसूचिमा राखेको छ । यो कालोसूचिबाट तपाईको नाम कहिले हट्छ त ?

नेपालका १० ठूलो व्यवसायिक घरानालाई हेर्नु भयो भने उनीहरु मध्ये अधिकांश कही न कहीबाट कालोसूचिमा परेका छन् । १/२ दिनको लागि मात्र भए पनि उनीहरु कालोसूचिमा परेका छन् । अहिले नेपालका सबैभन्दा धनी भन्ने व्यवसायीहरु कुनै बेला नेपाल बैंकमा मलाई भेट्न आउँथे । ‘लौ न एलबी जी, मलाई कालोसूचिबाट हटाइदिनु पर्यो’ भनेर मलाई अनुरोध गर्दथे ।’ अहिले उनीहरु धेरै सम्पन्न भए । विगतमा उनीहरु कालोसूचिमा परेको कुरा सबैले बिर्सिए ।

तपाईं नेपाल बैंकमा हुँदा अरुलाई कालोसूचिमा राख्नु भयो, अहिले अरुले तपाईंलाई कालोसूचिमा राखिदिए, हैन ?

यो कालोसूचिमा नाम आउने भनेको समयमा कर्जा तिर्न नसक्दा हो । कर्जा समयमा तिर्न नसक्ने अवस्था उद्योग व्यापार गर्ने जो कोहीलाई पनि आउन सक्छ । ३५ वर्षको व्यवसायिक इतिहासमा अहिले हामी कालोसूचिमा पर्यौ भन्दैमा हामीले यो देशको उद्योग व्यापारको क्षेत्रमा गरेको योगदान, अर्थतन्त्रमा गरेको योगदानलाई बिर्सनु भएन । हामीले क्रमशः कर्जा तिर्दै गएका छौं । केही समयपछि हाम्रो नाम कालोसूचिबाट हट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.