टप कलेजले पत्याएनन् एसइईको नतिजा, भर्ना हुन कक्षा ८ र ९ को नतिजा मागे

  २०७७ भदौ १८ गते १६:५२     डोमी शेर्पा

काठमाडौं । नेपालका टप कलेजहरु एसइईको नतिजालाई आधार मानेर कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने प्रकृयामा परिवर्तन ल्याएका छन् ।

कलेजहरुले भर्ना प्रकृयाको लागि कक्षा ८ र ९ को नतिजा पनि मागेको पाइएको छ । नेपालको टप कलेजको रुपमा रहेको माइतिघरस्थित सेन्ट जेभिएर कलेजले विद्यार्थीहरुलाई भर्ना हुनुअघि प्रवेश परीक्षा फारम भर्नको लागि पनि कक्षा ८ र ९ को नतिजा मागेको छ ।

कलेजले पछिल्लो वर्षहरुमा भर्ना फारमको लागि एसईईको नतिजा मात्र माग्ने गरेको थियो ।

बजारमा यस वर्षको एसइई नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहँदा नेपालकै टप कलेजहरुले पनि यस वर्षको नतिजामा प्रश्न उठाएका देखिएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीको कारण यस वर्षको एसईई परीक्षाको नतिजा विद्यालयले दिएको आन्तरिक मुल्यांकनको आधारमा निकालिएको हो ।

यस वर्ष देशभर ४ लाख ८२ हजार २१९ जना विद्यार्थीहरुले एसइई तयारी गरेको थिए ।

चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोभिड १९ का कारण परीक्षा आउनु एकदिन अगाडि मात्र स्थगित गरिएको थियो ।

भदौ १ गते सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सोही साँझ एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

नतिजा सार्वजनिक भएसँगै निकै टिपाटप्पणी भए । धेरैले परीक्षा नदिई दिएको नतिजा पनि के नतिजा लगायत अभिभावकले घुस खुवाएर अंकहरु बढि दिन लगाइएको आरोपहरु आए ।

यसले हाम्रो समाजमा ३ घण्टे परीक्षाको स्थान कहाँ छ भन्ने पनि देखाउँछ । वर्षौसम्म विद्यालयहरुले आन्तिरक मुल्यांकनको आधारमा नतिजा प्रकाशित गररहँदा कहिले कतैबाट पनि प्रश्न नउठेको अवस्थामा अन्तिम वर्षको परीक्षामा भने प्रश्न उठेको छ ।

सधैं एसईईको नतिजा आईसकेपछि कक्षा ११ का भर्नाहरु धमाधम खुल्ने गरेसँगै यस वर्ष कोरोनाको कारण भर्नाहरु कहिले लिने भन्ने टुँगो नलागेको कारण कलेजहरुले अहिले प्रवेश परीक्षाको लागि अनलाईन मार्फत विद्यार्थीहरुलाई फारमहरु भराईरहेका छन् । कतिले भने विद्यार्थीहरुसँग प्रि रजिस्ट्रेसन भन्दै शुल्कहरु लिन थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.