कर्णालीमा स्वास्थ्य जनशक्ति न्यून

  २०७७ जेठ ३१ गते १२:५६     विकासन्युज

सुर्खेत । काेरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो ।

प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारी जोशीले चिकित्सकसहितका स्वास्थ्यकर्मीको अभावले कोरोना सङ्क्रमितको उपचारमा चुनौती थपिएको बताइन् । “सङ्क्रमित दिन प्रतिदिन बढिरहेकाले स्थानीयस्तरमै आइसोलेशन कक्ष स्थापना गरी उपचार गर्नुपर्ने अवस्था छ”, उनले भनिन्, “स्थानीय तहमा पाँचाैं र छैटाैं तहका स्वास्थ्यकर्मी मात्रै हुनुहुन्छ, अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ ।” कर्णालीमा सङ्क्रमितको सङ्ख्या ८ सय ४६ पुगिसकेको छ भने कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३ सय ३३ स्वास्थ्यचौकी छन् । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अधिकांश करारमा नियुक्त गरिएका एक–एक विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ भने मेडिकल अधिकृत, नर्सिङ स्टाफको सङ्ख्या पनि न्यून छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.