खाद्यान्न पसलै पिच्छे मूल्य फरक, नियामक भन्छः उजुरी नै आएकाे छैन

  २०७७ जेठ ९ गते ११:१५     राजाराम न्याैपाने

काठमाडौँ । उपत्यकलगायत देशैभरिका पसलै पिच्छे फरक फरक मूल्यमा खाद्यान्न बिक्री हुन थालेको छ । सर्वाधारण एकतिर लकडाउनको चपेटामा छन् भने अर्काेतिर बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ ।

नियमक निकायलाई बजारमा खाद्यान्नको मूल्य वृद्धि भएको थाहा नै छैन। खाद्यान्नमा नून बाहेक अन्य खाद्य बस्तु दाल, चामल, विस्कुट, तेल, चिनीलगायका बस्तुहरुमा मूल्य वृद्धि भएको छ ।

उपभोक्तावादीहरु देशलाई सङ्कट परेका बेला नाफा कमाउनेभन्दा पनि सेवा गर्ने भएकाले आमव्यापारीलाई उपभोक्ताको भान्सामा असर गर्नेगरी खाद्यवस्तु महँगो नगर्न आग्रह गरिरहेका छन ।

खाद्यवस्तुको मूल्य थोकमै बढेकाले त्यसको असर खुद्रा पसलदेखि उपभोक्तासम्म परेको पासलेहरु बताउछन् । थोक व्यापारीहरु भने उपभोक्तालाई ठूलो मर्का पर्नेगरी कुनै पनि खाद्यवस्तुको मूल्य नबढेको दाबी गर्छन् ।

कलंकीका एक पसलेले तेलमा प्रतिकाटुन एक सय, चापलमा प्रतिबोरा १ सय, चिनीमा प्रतिकेजी ५ रुपैयाँ, विभिन्न दाहाल प्रतिकेजी १० देखि ३० रुपैयाँसम्म मूल्य वृद्धि भएको बताए । उनले गोदामा भएको खाद्य बस्तु पुरानै मूल्यमा बिक्री गरेपछि नयाँ समान ल्याउदा उतैबाट मूल्य वृद्धि भएको बताए ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष अध्यक्ष राजकुमार श्रेष्ठल २ महिनाअघिको तुलनामा १० दिनदेखि दैनिक खाद्यवस्तुको मूल्य थोक बजारमै महँगो भएको बताए । सङ्घले २ महिनाअघि सार्वजनिक गरेको मूल्यमा पहिले र अहिलेको तथ्याङ्क तुलना गर्दा अधिकांश खाद्यवस्तुको मूल्य प्रतिकेजी र लिटरमा १० रुपैयाँदेखि सय रुपैयाँसम्म बढेको बताए । इन्धनको मूल्य घट्दा पनि पनि ढुवानी खर्च वृद्धि भएकाे देखाएर मूल्य बढाइएकाे उनकाे भनाइ छ ।

‘खाद्यवस्तुको मूल्य थोकमै बढेकाले त्यसको असर खुद्रा पसलदेखि उपभोक्तासम्म परेको परेको छ, अहिले दाल, चामल, तेल, आँटालगायत खाद्यान्नको सामान बढ्नुको ठूलो कारण नभए पनि अधिकांशको भाउ थोकबाटै बढेको छ,’ श्रेष्ठले भने ।

आफूहरुले वाणिज्य विभागमा १५ दिनअघि नै खाद्य बस्तुको मूल्य वृद्धि भयो भनेर उजुरी दिएकाे र विभागले ठूला व्यापारीहरुलाई बोलाएर अहिले मूल्य वृद्धि गर्ने समय नभएको र पहिले कै मूल्यमा बस्तु उपलब्ध गराउन निर्देशन दिएको बताए । तर, व्यापारीले भने कामदार अभाव, लोड अनलोड, डलरको मूल्य वृद्धि र ढुवानी खर्च बढेकाले मूल्य वृद्धि हुने भनेको श्रेष्ठ बताउछन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रबिन्द्र आचार्यले भने विभागमा खाद्य बस्तुको मूल्य वृद्धि भयो भनेर उजुरी नै नआएको बताए ।

‘ग्यासको माग सामान्य भएपछि उपभोक्ताहरुले विभगमा विद्युतीय र पत्रमार्फत उजुरी आएको छैन, हामी आफै पनि बजार अनुगमनमा गएका छौं, तर मूल्य वृद्धि भएको फेला पारेका छैनौं,’ आचार्यले भने ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन गर्ने जिम्मेवारी पाएका निकायको नियमति उपस्थिति हुन नसक्दा केही मुट्ठीभरका व्यापारीको बजारमा कालोबजारी धन्दा मौलाएको बताए । उनले बजार नियमन गर्ने जिम्मेवार निकायले अस्वाभाविक मूल्यवृद्धि भएको भनेर मात्रै हुन्छ ? त्यसको कारण खोज्नुपर्दैन भन्दै प्रतिप्रश्न गरे ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले सरकारले मानव स्वास्थ्यामा मात्रै हेरेको माैका छाेपी व्यापारीले मनाेमानी गरेकाे बताए । सरकारले स्वास्थ्यकाे साथसाथै बजार पनि हेर्नु पर्ने उनकाे भनाइ छ । तर, सरकारले बजारको कुनै मतलब नगरेकाे उनकाे भनाइ छ । बजारमा दैनिक उपभोग्य सामानको मूल्य अस्वाभाविक रूपमा बढेको सरकारले नदेखेकाे भन्दै उनले अहिले मूल्य बढ्नुको कुनै कारण नभएकाेले लकडाउनपछि उपभोक्ता नै व्यापारीको विरोध गर्न सडकमा उत्रिने बताए ।

उपभोक्ता संरक्षण ऐनले उपभोग्य वस्तुको जथाभावी मूल्यवृद्धि गर्ने व्यापारीलाई ५ हजारदेखि ३ लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । तर बजारमा पसलै पिच्छे मूल्य फरक हुदा समेत विभाग कानमा तेल हालेर बसिरहेको बानियाँ बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.