सिनेमा हल बन्द हुँदा ‘कोपिला’ फिल्म डिशहोमबाट रिलिज 

  २०७७ वैशाख ३० गते ९:३५     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको कारण देशभरी लकडाउन भई सिनेमा हल बन्द हुँदा चलचित्र ‘कोपिला’ डिशहोमबाटै रिलिज हुने भएको छ । लगातारको बन्दका कारण यस फिल्मका  निर्माता मणिराज गौतमले डिशहोमबाटै फिल्म रिलिज गर्न लागेको बताएका छन् । उनका अनुसार यो चलचित्र अब डिसहोमको पे च्यानलमार्फत रिलिज गरिने र दर्शकहरूले डिसहोम च्यानल नम्बर १०८ मार्फत पैसा तिरेर हेर्न पाउने जानकारी दिएका छन् ।

आज (वैशाख ३० गते)बाट दैनिक आठ सोको दरले डिसहोमबाट फिल्म रिलिज हुनेछ । निर्माता गौतमले भने, ‘हलमा सिनेमा रिलिज गर्न सकेनौं र हल कहिले खुल्ने टुंगो पनि भएन,त्यसैले लकडाउनको बेला आफ्नो समयअनुसार सिनेमा टेलिभिजनमा हेर्न पाउनुहुनेछ ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौंडामा विशेष सोमार्फत आएको रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोगसमेत गरिएको चलचित्रका निर्माता गौतमले बताए । चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मला पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले जानकारी गराए ।

चलचित्रका निर्देशक शिवम अधिकारी हुन् । उनले पनि कोरोना भाइरस त्रासदीका कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाइ हुने भएकाले लकडाउनमा बसेका दर्शकहरूको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत चलचित्र प्रर्दशन गर्न लागेको बताए । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए ।

दीपक शर्माको संगीत, निर्देशक अधिकारीको लेखन, रामेश्वर कार्कीको छायांकन र समीर मियाको सम्पादन छ । गणेश गिरीको प्रस्तुति रहेको कोपिलाको कार्यकारी निर्मातामा सुवास काफ्ले, निर्मातामा समीर मिया र रामेश्वर कार्की छन् । यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.