जाेखिम व्यवस्थापन गर्ने भएकाेले मर्चेन्ट बैंकरलाई असर कम छ

  २०७७ वैशाख २१ गते १३:२५     सुदयकान्त झा

विश्वभर कोराना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो प्रकोप रोकथामको लागि देशभर लकडाउन जारी गरिएको छ । लकडाउन सुरु भएसँगै सेयर बजार पनि पूर्णरुपमा बन्द भएको छ । बजार बन्द भएको डेढ महिना हुन लागेको छ ।

यो अवधिमा पुँजी बजार अन्तर्गतको शाखा मानिने मर्चेन्ट बैंकरहरु पनि बन्द नै छन् । यस्तो परिस्थितिमा अन्य व्यवसायहरुलाई जे जस्तो असर परेको छ, मर्चेन्ट बैकिङ्हरुलाई पनि त्यस्तै असर परिरहेको छ ।

अहिले सञ्चालनमा रहेको सबै (३१ वटा) मर्चेन्ट बैंकरहरुले बन्दको गम्भीर असर व्यहोरिरहेका छन् । आम्दानीका प्रमुख श्रोतहरु प्रायः बन्द नै छन् । डिम्याट अकाउन्टहरु खुलिरहेका छैनन् । प्राथमिक निष्काशन (आईपीओ), हकप्रद सेयर तथा डिबेन्चरहरु बिक्री गर्न पाइरहेका छैनन् ।

तर केही मर्चेन्ट बैंकरहरुले भने म्युचअल फण्ड सञ्चालन गरिरहेका छन् । उनीहरुलाई त्यस वापतको आम्दानी आउँछ । त्यस्तै, सेयर रजिष्टार (आरटीएस) गरे बापतको आम्दानी पनि प्रायः सबै मर्चेन्ट बैंकहरुको आईहाल्छ, जुन उनीहरुले वार्षिक सम्झौतामा गरेका हुन्छन् । र, व्याज आम्दानी पनि आउँछ । जसले संस्थाको स्थिर खर्च धान्नलाई केही हदसम्म सहयोग गरेको छ । त्यसकारणले मर्चेन्ट बैंकरहरुलाई हाल त्यति अफ्ठ्यारो परेको स्थिति भने छैन ।

जाेखिम व्यवस्थापन गर्ने भएकाेले मर्चेन्ट बैंकरलाई असर कम छ । यसको मतलब मर्चेन्ट बैंकरहरुलाई अफ्ठ्यारो परेको नै छैन भन्ने होइन । आम्दानीमा केही कमी आएको छ । हाम्रो ठूलो आम्दानीको स्रोत भनेको पोर्टफोलियो म्यानेजमेन्ट हो । त्यो अहिले गुमेको छ ।

हामीले हाम्रो ग्राहकको लगानी सेयर मार्केटमा व्यवस्थापन गरेका हुन्छौं । उक्त लगानी व्यवस्थापन गरे वापतको अधिकांश आम्दानी कार्य कुसलतामा आधारित हुन्छ । सेयर मार्केटले राम्रो गर्यो, त्यसबाट हाम्रा ग्राहकले नाफा कमाए भने त्यसको १० देखि २० प्रतिशत हेरेर हामीले लिईरहेका हुन्छौं । त्यसलाई कार्यकुसलता शुल्क भनिन्छ । यस्तो शुल्क ठ्याक्कै कति लिने भन्ने चाहिँ अगाडी भएको सम्झौता अनुसार हुन्छ । पोर्टफोलियो म्यानेजमेन्टको प्रमुख आय भनेकै यस्तो शुल्क पनि हो । जुन ठप्प छ ।

अहिले त बजार बन्द नै छ । खुलिसकेपछि पनि मार्केट घट्ने सम्भावना एकदमै प्रवल छ । यसले गर्दा यो आर्थिक वर्षमा हामीले कार्यकुसलता शुल्क (प्रफरमेन्स फी) आर्जन गर्ने अवस्था कम छ । जसजसले ग्राहकहरुलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिईराख्नु भएको छ, उहाँहरुको ग्राहकको प्रोर्टफोलियो नै नाफामा छैन वा लगानीले प्रतिफल दिन सकेन भने हामीले पर्फरमेन्स फी लिन सक्दैनौं । यसले गर्दा अधिकांश मर्चेन्ट बैंकहरुको प्रमुख आम्दानीको स्रोत गुम्छ ।

यस्तो अवस्थामा नियामक निकायहरुले केही सेवा सुविधा उपलब्ध गराई दिनु भएमा धेरै राम्रो हुन्थ्यो । सरकारको अब आउने आर्थिक नीति के कस्तो हुन्छ, त्यसले हामीलाई प्रभाव पार्छ । आशा गरौं, केही सहुलियत पाउन सक्छौं ।

बजार बन्द भएपनि हामी पुरै छुट्टीमा बसेका छैनौं । घरबाटै गर्न सकिने कामहरु सकेसम्म सञ्चालन गरिरहेका छौं । कोर अपरेशन चाहिँ गर्न सकेका छैनौं । तर पनि ग्राहकको आग्रह अनुसार फोन तथा इमेल मार्फत हामीले हाम्रो तर्फबाट दिन सकिने सेवाहरु दिईरहेका छौं । त्यस्तै, धितोपत्र बोर्डहरुलाई बुझाउनु पर्ने रिपोर्टहरु बनाईरहेका छौं । घर बसेरै गर्न सकिने कामहरु गरिरहेका छौं । तर बजार खुलेको जस्तो प्रडक्टिभ काम भने भएको छैन ।

मेगा मर्चेन्टमा अहिले कूल १६ जना कर्मचारीहरु हुनुहुन्छ । जसमध्ये केही उपत्यका बाहिर जानुभएको छ । बाँकीले घरबाटै गर्न मिल्ने कामहरु गरिरहनु भएको छ । उहाँहरुसँग नियमित अनलाइन कम्युनिकेसन तथा मिटिङहरु भइरहेको छ । हरेक डिपार्टमेन्ट प्रमुखहरुले पनि आ–आफ्नो कर्मचारीहरुसँग समन्वय गरिरहनु भएको छ ।

लकडाउन हुनुभन्दा अगाडि गाउ जानुभएका कर्मचारीहरुसँग ल्यापटप तथा इन्टरनेटको पहुँच नभएकोले उहाँहरुले फोनबाट गर्न सकिने कामहरु जस्तै, ग्राहकलाई फोन गर्ने, अपडेट गराईदिने जस्ता कामहरु गरिरहनु भएको छ ।

यसका साथै, हामीले हरेक दिन हाम्रा स्टाफहरुलाई केही न केही अनलाइन तालिमहरु दिईरहेका छौं । त्यसको लागि केही सिनियर स्टाफहरुलाई बाहिरबाट रिक्वेष्ट गरेर हुन्छ कि वा कोही व्यवस्थापकीय विज्ञहरुलाई भनेर हुन्छ हाम्रा स्टाफहरुलाई दैनिक एक घण्टा जस्तो तालिम दिएका नै हुन्छौं । सबैभन्दा बढी क्यापासिटी डेभलपमेन्ट तथा लर्निङ् एण्ड डेभलपमेन्टमा फोकस गरिरहेका छौं । जसले गर्दा उहाँहरुको पनि कार्य क्षमता बढ्ने र दीर्घकालिमा कम्पनीको ग्रोथको लागि सहयोग गर्छ भन्ने हाम्रो उद्देश्य हो ।

हामी पब्लिक लिमिटेड कम्पनी भयौं । हाम्रो आम्दानी पनि पुरै बन्द भईसकेको छैन । केही आम्दानीका श्रोतहरु छन् । त्यसबाट जे जति आम्दानी भइरहेको छ, त्यहीबाट कर्मचारीहरुलाई पुरा तलब प्रदान गरेका छौं । यस्तो अवस्थामा कोही कसैलाई पनि अफ्ठेरोमा पारेका छैनौं । यो अवस्थामा कर्मचारीहरुलाई पुरा समय काम लगाउन पाएनौं भन्ने मात्र हो । तर पनि तलब कटौती गरेका छैनौं । अब यो लकडाउनको अवधि ३/४ महिनै लम्बियो भने त हामीलाई पनि गाह्रो हुन्छ । त्यस्तो बेला के गर्ने, कसरी गर्ने भन्ने अर्काे समस्या आउँला । तर, पूरा तलब खुवाउन अहिले नै सायद कुनै पनि कम्पनीलाई गाह्रो नहोला । किनभने सबैले रिक्स म्यानेजमेन्टको तयारी गरेकै हुन्छन् ।

अहिले मार्केट खुलिरहेको भए अनलाइन कारोबार गर्नेको संख्या बढी हुन्थ्यो । यसअघि अनलाइनबाट कारोबार नगर्नेहरु अनलाइन कारोबारमा जान्थे । यसले गर्दा हामी अनलाइन कारोबारतिर पुरै सिफ्ट हुन्थ्यौैं होला । यो महामारीबाट बच्न सरकारलाई सहयोग गर्ने उद्देश्यले बजार खुल्न नसकेको हो । यद्यपि, यो परिस्थिति लम्बियो भने नेप्सेले पनि केही कदम चाल्छ होला, र चाल्नै पर्छ ।

अन्ततः लगानीकर्तालाई नआत्तिन आग्रह गर्दछु । बजार खुलेपछि केही समय मार्केट तल गएपनि यसले छिट्टै रिकभर लिने सम्भावना छ । विश्वको सेयर बजार नै तल गइरहेको छ । आर्थिक मन्दीले गर्दा पब्लिक लिमिटेड कम्पनीहरु, जो जो नेप्सेमा सूचीकृत छन्, उनीहरुको आम्दानी घट्ने सम्भावना प्रवल छ । नेपाल राष्ट्र बैंकले हालै गरेको २ प्रतिशत व्याज छुट भन्ने व्यवस्थाले वाणिज्य बैंकहरुको पनि लाभांश तथा नाफाहरुमा केही असर पर्छ नै । त्यसैले छोटो समय मार्केट तल जान सक्नेछ । तर कोभिड–१९ को यो महामारी सकिएपछि, सबै कुरा सामान्य भईसकेपछि मार्केटले छिटै नै पिकअप लिन्छ भन्ने आशा छ ।

(मेगा क्यापिटल मार्केटसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झासँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.