सुर्खेतमा कोरोना परीक्षण पुनःसञ्चालन

  २०७७ वैशाख १८ गते १७:५५     विकासन्युज

सुर्खेत। ठूलो क्षमताको रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी पिसीआर) मेसिन जडान भएपछि एक सातादेखि अवरुद्ध कोरोना परीक्षण पुनः सञ्चालन भएको छ । कर्णालीमा प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न ठूला क्षमताको पिसीआर मेसिन जडान गरेपछि परीक्षण सञ्चालन गरिएको हो ।

प्रयोगशालामा कार्यरत प्राविधिकहरु मेसिन जडानमा व्यस्त भएपछि यही वैशाख १० देखि पिसीआर विधिबाट कोरोना परीक्षण रोकिएको थियो । मेसिन जडान गर्न ५ दिन लागेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले ठूलो क्षमताको पिसीआर मेसिन सञ्चालनमा आएपछि स्वाबको पुनः परीक्षणका लागि धनगढी तथा काठमाडौँ पठाउनुपर्ने बाध्यता हटेको बताए ।

यसअघि सुर्खेतमा रहेको पिसीआर मेसिनबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन (क्रस भेरिफिकेशन) भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । “अब क्रस भेरिफिकेशनको काम यहीँबाट हुन्छ, ढुक्क हुनलाई प्रदेशबाहिर नै पठाउनुपर्दैन”, प्रयोगशाला संयोजक आचार्यले भने ।

पछिल्लोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा रहेको ठूलो क्षमताको आरटी पिसीआर मेसिन कर्णाली प्रदेशलाई उपलब्ध गराएको थियो । मन्त्रालयले परीक्षणमा सहयोग गर्नका लागि त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको थियो । उक्त मेसिन इत्रामस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जडान गरिएको छ ।

प्रयोगशालाका अनुसार यो मेसिनले एकैपटक ९६ जनाको परीक्षण गर्न सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलोपटक पठाएको सानो क्षमताको पिसीआर मेसिनबाट भने दैनिक १० देखि १५ वटा स्वाबको परीक्षण हुँदै आएको थियो । कर्णाली प्रदेशमा हालसम्म २३२ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यस्तै पाँच हजार १७९ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) विधिबाट परीक्षण गरिएको छ । कर्णालीमा हाल एउटा सानो तथा दुई ठूला गरी तीनवटा पिसीआर मेसिन छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.