भिसा लागेर पनि विदेश जान पाइएन ? यही व्यवसाय गर्ने हो भने अब ७ दिनमै पाइन्छ सस्तो व्याजमा ऋण

  २०७६ चैत १६ गते १९:५८     विकासन्युज

काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ ।

नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको छ । नेपालीका प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेशिया, खाडी राष्ट्र जस्ता देशमा अहिले कामको लागि जानै नपाइने भएको छ ।

कोभिड १९ संक्रमणको कारण केही नेपालीले वैदेशिक रोजगारीको लागि भिसा पाएर पनि जान पाएका छैनन् । यस्ता नेपालीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ ।

एकातिर वैदेशिक रोजगारी गुमेको र नेपालमै उद्यमशीलता प्रबद्र्धन गर्नुपर्ने आवश्यकता रहेकोले विशेष कार्यक्रम ल्याउन लागिएको राष्ट्र बैंकको भनाइ छ ।

वैदेशिक रोजगारीको लागि भिसा लागेर पनि जान रोकिएकाहरुलाई व्याज अनुदान दिएर ७ दिनभित्रमा ऋण उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले मिलाउन लागेको छ ।

‘वैदेशिक रोजगारमा जाने अनुमति लिइ जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिइ उद्योग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले सर्कुलर जारी गर्दै भनेको छ ।

राष्ट्र बैंकले अहिले भूकम्प पीडित, वैदेशिक रोजागरीमा गएर फर्केका व्यक्ति, महिला, परम्परागत शीप तथा क्षमता भएका जस्ता समुहलाई लक्षित गरेर ५ प्रतिशत व्याज अनुदानमा ऋण प्रदान हुने व्यवस्था मिलाइरहेको छ ।

सो व्यवस्था अनुसार बैंक वित्तीय संस्थाले सम्बन्धित व्यक्तिलाई आफ्नो आधार दरमा २ प्रतिशत मात्रै व्याज लिनेगरी कर्जा दिनुपर्ने र सो व्याजको ५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था मिलाइएको छ ।

यसरी कर्जा लिदा कुनै बैंकको आधार दर १० प्रतिशत छ भने सो बैंकले २ प्रतिशत व्याज थप गरेर १२ प्रतिशत व्याज कायम हुन्छ । सो १२ प्रतिशतमा सरकारले ५ प्रतिशत अनुदान दिँदा सम्बन्धित ऋणीले ७ प्रतिशत मात्रै व्याज तिरे हुने कार्यक्रम अहिले पनि संचालनमा छ । राष्ट्र बैंकले अहिले कामका लागि विदेश जाने भिसा लागेर पनि जान नपाएका व्यक्तिहरुका लागि यस्तै कार्यक्रम ल्याउन लागेको हो ।

सम्बन्धित सामग्री

कोरोना संकटपछि राष्ट्र बैंकको यस्तो आयो १९ बुँदे प्याकेज (सर्कुलरसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.