दैनिक ज्यालादारी गरेर दिन गुजार्नेका लागि राहत प्याकेज ल्याइँदै

  २०७६ चैत १६ गते ११:०५     विकासन्युज

काठमाडौं । सरकारले आज (आइतबार) राहत प्याकेज ल्याउने तयारी गरिरहेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले राहत प्याकेज ल्याउने तयारी गरिरहेकाे हाे ।

सरकारले लक डाउनको घोषणा गरिरहेको बेला सरकरले सर्वसाधारण नागरिकको लागि प्याकेज ल्याउने तयारी गरिरहेको बुझिएको छ । स्रोतका अनुसार  दैनिक ज्यालादारी गरेर गुजारा गर्ने वर्गका लागि सरकारले प्याकेज घोषणा गर्नेछ । ‘देशैभर लक डाउन गरेपछि दैनिक ज्यालादारी गर्ने वर्ग निकै प्रभावित बनेका छन्, उनीहरूकाे राहत स्वरूप प्याकेज ल्याउने तयारी भइरहेकाे छ,’ स्राेतले भन्याे ।

लकडाउनका कारण सर्वसाधारण प्रभावित भइरहेको अवस्थामा मन्त्रिपरिषद्ले केही न केही प्याकेज ल्याउने अपेक्षा भने गरिएको छ । हिजो मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बताएका थिए ।

लकडाउनका बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै प्रचण्डले न्यून वर्गीय श्रमिक जनताका लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले शनिबार भिडिओ सन्देश जारी गर्दै ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारले विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने नै छ’ भन्ने सुझाव दिएका हुन् ।
यसले पनि आज मन्त्रिपरिषद्ले राहत प्याकेज ल्याउने निश्चित छ ।

धेरै देशहरुले आफ्ना नागरिकका लागि राहत प्याकेज ल्याइसकेका छन् । विभिन्न देशले गरिब तथा ज्यालादारी गरेर दैनिकी चलाउनेहरुका लागि प्याकेज घाेषणा गरिसकेका छन् । छिमेकी देश भारतले पनि जनताका लागि विभिन्न प्याकेजहरू ल्याइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.