कोरोना रोकथाम कोषमा जम्मा भयो १५ करोड ३१ लाख रुपैयाँ

  २०७६ चैत १४ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबार दिउँसोसम्म १५ करोड ३१ लाख ३ हजार २ सय २२ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहलिे सम्म सो रकम जम्मा भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा एनसेल प्रा.लि.ले १० करोड रुपैयाँ, एल.आर.आई. स्कुल काठमाडौंले १ लाख रुपैयाँ, कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ राखेका छन्। यस्तै, हेटौडा स्कुल अफ म्यानेजमेन्टले १० लाख रुपैयाँ, राधामाधव समिति नेपालले १५ लाख रुपैयाँ सहयाेग गरेका छन् ।

भाटभटेनी सुपर मार्केटले १ करोड रुपैयाँ, निर्माण व्यवसायी कोषले १ करोड रुपैयाँ, एनइबिएलले १ करोड रुपैयाँ, नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ, नेपाल स्वास्थ्य व्यवसायी महासंघले ५ लाख १० हजार रुपैयाँ र अन्य विभिन्न संस्थाले २४ लाख ९३ हजार २ सय २२ रुपैयाँ कोषमा जम्मा गरेका छन्।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सरकारले कोषको राष्ट्रिय बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो।

नेपालमा हालसम्म ३ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ। तीनमध्ये एकजनालाई उपचारपश्चात निको भई डेढ महिना अघि नै घर फर्किसकेका छन् भने बाँकी दुई जनाको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ।

कोरोना भाइरस संक्रमितको उपचार, रोकथाम र नियन्त्रण कार्यमा सहयोग मिलोस भनेर समितिले कोष स्थापना गरेको हो। पछिल्लो समय कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.