घरमै बसेर दैनिक नयाँ नयाँ नाटक हेर्न सकिने, शुरू हुँदै छ थिएटर फेस्टिभल

  २०७६ चैत १३ गते १५:१२     विकासन्युज

काठमाडौं । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् ।

‘कोभिड-१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए । ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने ।

हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल (www.fb.com/theatremall) बाट एउटा नाटक देखाइनेछ ।

थिएटर मल तथा टिसिसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो । यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ ।’ महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए ।

‘यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन,’ उनी भन्छन्, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं । यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ ।’ उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गरेका छन् ।

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव-२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए । उनले भने, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ ।’ उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे ।

फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ । त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई थाहा छ- हामीले यो समयमा जे काम गर्दैछौं, रङ्गमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौं । उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ । सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ ।’

फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन् । अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए । उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ ।’

नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए । लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ ।

फेस्टिभलबारे बढिभन्दा बढि रङ्मञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन् । त्यसलाई बढीभन्दा बढी शेयर गरिदिनु हुन पनि उनले आग्रह गरिन् ।

महोत्सव सफल पार्न मिडियाको ठूलो हात रहने भन्दै त्यसमा सहयोग गरिदिन मिडिया कोअर्डिनेटर कला अनुरागीले अनुरोध गरेका छन् । ‘संकटको समयमा सिर्जनात्मक कार्य गर्नु चुनौतिपूर्ण छ । तर यस्तै समयमा सिर्जनाको शक्ति र यसले प्रदान आत्मबलको अनुभूति गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले संकटको समयमा हुने यस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यको प्रचारमा मिडियाले प्राथमिकता दिनेछ भन्ने विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.