एनएलजी इन्स्योरेन्सको धेरै सेवा अनलाइनबाटै, कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा

  २०७६ चैत ९ गते ९:११     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ग्राहक र कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सर्तकता अपनाएको छ । बीमा सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले महामारीको बेलामा पनि सेवाहरु सूचारु गरिने तर भाइरस संक्रमणबाट जोगिन सक्दो प्रयासहरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बताए ।

कम्पनीले सेवा सञ्चालनमा अपनाउनु पर्ने कागजी विधिलाई कम गर्दै डिजिटल कारोबारलाई जोड दिएको छ । नयाँ बीमा पोलिसी लिन वा बीमा दावी गर्नको लागि ग्राहकले इमेल, भाइवर, म्यासेन्जर, ह्वाटस्अप, लगायतका डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्ने र कम्पनीले बीमा पोलिसी जारी गर्दा वा दावी भुक्तानीको प्रक्रिया अगाडि बढाउँदा पनि सोही विधि अपनाउने उनले बताए ।

‘पोलिसी जारी गर्दा वा दावी भुक्तानी गर्दा नियमअनुसार कागजपत्र सबै बनाउँछौं । सबै डकुमेन्टहरुको हार्डकपी रेकर्ड पनि राख्छौं । तर महामारीको समयमा सकेसम्म ग्राहकलाई कार्यालयमा पुग्नु नपरोस भनेर डिजिटल डकुमेन्टका आधारमा सेवा सञ्चालन गर्छौ’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणबाट जोगिन सकेसम्म अनलाइन प्रयोग गर्न र मिलेसम्म घरबाटै अफिसको काम गर्न देशवासीलाई अनुरोध गरेकोले सरकारको आह्वानको परिपालना गर्दै कार्यालय चलाउने विधि एनएलजीले अपनाएको प्रमुख कार्यकारी अधिकतृ पन्तले बताए ।

कम्पनीले कर्मचारीबीच हात मिलाउन, अंकमाल गर्न पूर्णत रोक लगाएको छ । त्यस्तै ग्राहक र कर्मचारीबीच हात मिलाउने, अंकमाल गर्ने काम पनि पूर्णत बन्द गरेको छ ।

प्रत्येक आधा घण्टामा साबुन पानीले हातधुन, स्यानीटाइजरको प्रयोग गर्न, सबैले आफ्नो कम्यूटर वा ल्यापटप मात्र चलाउन, अरुको डिभाइस नछुन, कार्यकक्षको ढोका नियमित खुला राख्न, दिनमा दुई/तीन पटक कागती पानी सेवन गर्न, एक÷एक घण्टामा तातोपानी, चिया, कफी पिउन कर्मचारीलाई प्रोत्साहित गरिएको उनले बताए । ‘एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको हितलाई सधैं प्राथमिकतामा राखेको छ । यस्तो बेलामा उनीहरुको रेखदेखमा म आफै नियमित खटेको छु’ प्रमुख कार्यकारी अधिकृत पन्तले भने ।

कार्यालयमा पस्नुअघि ग्राहकलाई स्यानिटाईजर प्रयोग गर्न दिने, ग्राहकलाई मिटिङ कक्षमा मात्र प्रवेश दिने, मिटिङमा ५ जना भन्दा बढी नबस्ने, कर्मचारीहरुबीच तथा कर्मचारी र ग्राहकबीचको दुई २ मिटर दुरी कामय गरी बोल्ने विधि बनाई त्यसलाई पूर्णरुपमा पालना गरिएको उनले बताए ।
कार्यालय आउन कठिन भएका कर्मचारीको लागि घरबाटै काम गर्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । कर्मचारी हटाउने वा तलब कटाउने विधिमा कम्पनी नगएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.