कोरोना संकटबारे सरकारका प्रवक्ता भन्छन्: सबै डाक्टर नबनौं

  २०७६ फागुन २७ गते १६:२३     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको विषयमा अध्ययन गर्न गठन गरेको समितिको बैठक बसेको छ । सो बैठकमा जोखिम व्यवस्थापनबारे छलफल भएको छ ।

बैठकमा निजी क्षेत्रसँगको सहकार्यमा गरिनुपर्ने प्रमुख कार्यहरुका बारेमा छलफल भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यस्तै, अत्यावश्यक बस्तुहरु, खाद्यान्न, पेट्रोलियम पदार्थ तता औषधी जस्ता बस्तुहरुको स्टकको अवस्था के कस्तो छ भन्ने विषयमा पनि छलफल भएको छ ।

भारतले औषधी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पर्न सक्ने असरको बारेमा पनि छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए । आयातको लागि भन्सार विन्दुमा आइपुगको औषधीको प्रक्रिया पूरा गरेर नेपाल भित्र्याइने उनले जानकारी दिए ।

पछिल्लो समयमा नेपालमा निजी क्षेत्रबाट मास्क उत्पादन बढेको मन्त्री खतिवडाले जानकारी दिए । मास्क उत्पादन बढेसँगै जोखिमयुक्त क्षेत्रमा काम गर्नेहरुले लगाउनु पर्ने उच्च सुरक्षा सहितको मास्कको बारेमा जानकारी गराउने निर्णय पनि भएको छ ।

सरकारले आफूलाई चाहिने औषधी मात्रै खरिद गर्न र अस्वभाविक रुपमा संचय नगर्न आम सर्वसाधारणसँग अनुरोध गरेको छ । यस्तै, चाहिनेभन्दा बढी ग्यासका सिलिण्डर घरमा जम्मा नगर्न पनि मन्त्री खतिवडाले अनुरोध गरे ।

भारत भएर आउने व्यापारमा कुनै पनि अवरोध नभएको भन्दै उनले भारतको प्रतिबन्ध लगाएको केही औषधी आयातमा भने समस्या रहेको बताए । भारतबाट आउने पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा पनि समस्या नभएकोले चाहिनेभन्दा धेरै नकिन्न उपभोक्तालाई आग्रह गर्न सरकारले व्यापारीसँग अनुरोध पनि गरेको छ ।

सूचना सम्प्रेषणमा स्वास्थ्य मन्त्रालयले आवश्यक जानकारी दिए भएकोले त्यसैमा भर पर्न मन्त्री खतिवडाले आग्रह गरे । जथाभावी सुचना सम्प्रेषण हुँदा सर्वसाधारणमा भ्रम उत्पन्न भएको उनको भनाइ छ ।

‘स्वास्थ्य मन्त्रालयले आवश्यक सुचना सम्प्रेषण गर्छ, सरकारले सम्प्रेषण गरेको सुचनामा नै भर परौं, हामी सबै डाक्टर नबनौं, आफै धेरै जान्ने नहौं, यस्तो हुँद स्थिति अलि भयावह हुन सक्छ, जुन अहिले आवश्यक छैन, संयमले काम गर्नुपर्छ,’ मन्त्री खतिवडाले भने ।

सरकारले कोरोना भाइरसबाट उत्पन्न हुने संकट सामना गर्नको लागि अन्य राजनीतिक दलहरुसँग पनि परामर्श गर्ने भएको छ ।

अहिले स्टकमा रहेका सामानमा औषधीको स्टकले ४ देखि ५ महिनासम्म पुग्न सक्ने रहेको छ । खाद्यान्न ६ महिनाको लागि पुग्न सक्ने र पेट्रोलिय पदार्थ ३ महिनाको लागि पुग्ने रहेको छ ।

दैनिक उपभोग्य बस्तुको कालाबजारी र लुकाउनेप्रति सरकार कठोर रुपमा प्रस्तुत हुने उनले बताए । सबैले व्यवसायिक अनुशासनमा रहेर काम गर्न सरकारले सबैसँग अनुरोध पनि गरेको छ । बैठकमा सरकारका मन्त्रीहरु, निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाका अध्यक्ष तथा पदाधिकारी तथा नेपाल सरकारका उच्च अधिकारीहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.