गोकुल बास्कोटालाई गिज्याउने त्यो सचिवालयको पर्चा

  २०७६ फागुन ८ गते १८:०६     विकासन्युज

काठमाडौं । ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिवद्धता गर्दछु ।’

यही वाक्य लेखिएको छ निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको निजी सचिवालयको प्रवेश द्वारमा ।

बिहीबार दिनभर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘इस्यु अफ दि डे’ बनेको छ गोकुल काण्ड । सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटाले ७० करोड कमिसनका लागि सेटिङ मिलाउँदै गरेको अडियो मिडियामा हिजो रातिदेखि भाइरल बनेको छ ।

अडियोमा दुई जनाको आवाज सुनिन्छ । एउटा आवाज सेक्युरिटी प्रेस खरिदका लागि स्थानीय एजेण्ट विजय मिश्रको र अर्को आवाज मन्त्री बाँस्कोटाको हो भनेर दावी गरिएको छ ।

विभिन्न सभा समारोहमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गरेको प्रमाणित भएमा जुनसुकै सजाय पनि भोग्न तयार छु भन्ने गोकुल बाँस्कोटाको त्यही भाषणले पनि उनलाई अहिले लल्जित पारिरहेको छ ।

नागरिक समुदाय, विभिन्न निकाय तथा राजनीतिक दलहरुबाट घटनाको छानबिन गर्न माग गरिरहेको बेला उनले नैतिक रुपमा भन्दै राजीनामा दिएका छन् । अहिले उनको कार्यकक्षमा कसैलाई पनि पस्न दिइएको छैन ।

उनले बिहीबार अपरान्ह बालुवाटार पुगेर राजीनामा बुझाइ सकेका छन् । पोलिटिकल मान्छेलाई प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्ने भन्दै आफूले राजीनामा दिएको उनले बताएका छन् ।

म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीकाे मुखै हेर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नै सरकारका निवर्तमान प्रवक्ताको मुख हेर्लान् कि कडा कारबाहीमा उत्रिएलान् ? त्यो भने हेर्न नै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.