नाट्टा गण्डकी प्रदेशको साधारण सभा, पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य

  २०७६ फागुन ३ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार पोखरास्थित टिका रिसोर्टमा आयोजित सो साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारले हवाई ईन्धनको मूल्य घटाएपनि वायुसेवा कम्पनीहरुले भने हवाई भाडा नघटाएको गुनासो गरे ।

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको भएपनि त्यो सर्वसाधारण र ग्राहकहरुलाई फाईदा हुने गरि जानुपर्ने बताए । ‘सरकारले एयर फ्यूल चार्ज घटायो तर त्यो घटेको मूल्यअनुसार वायुसेवा कम्पनीहरुले भने टिकटदर घटाएनन्, सचिव अधिकारीले भने ।

उनले आगामी दिनमा अझ हवाई ईन्धनको मूल्य घटाउन प्रयास गर्ने भन्दै पूर्वाधारमा समेत जोड दिईरहेको बताए । उनले पछिल्लो दिनमा कोरोनाभाईरसका कारण पर्यटन क्षेत्र समस्यामा परेको भन्दै त्यसमा सरकारले ध्यान दिईरहेको बताए ।

‘हामीजस्तो सानो मुलुकले हवाई उडान नै रोक्नु हुँदैन्, त्यसले अर्थतन्त्रमा नै असर पर्नेछ, तर सरकारले त्यसलाई नजिकबाट निगरानी गरिरहेकोछ, उनले भने । पर्यटन सचिव अधिकारीले स्थानिय हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने भन्दै सातै प्रदेशलाई एक आपसमा जोड्न काम अगाडि बढाईरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकिय नगरीको रुपमा थप विकास गर्न पर्यटन व्यवसायीहरुसँग मिलेर कामगर्ने बताए । उनले पोखरामा पर्यटक बस पार्क बनाईरहेको र त्यो केहि समयमै तयार हुने अवस्थामा रहेको जानकारी दिए । ‘ट्राभलर टूर बसको स्तरीकरण गरिनुपर्दछ, अहिले हेर्दा नगरबसमा पनि पर्यटक बस भनेर लेख्ने जस्तो अबस्था आएकोछ,’ पोखरा महानगरपालिकाका मेयर जिसीले भने ।

नाट्टा गण्डकी प्रदेशको वार्षिक साधारण सभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष अच्युत शर्मा गुरागाईँले पर्यटन पूर्वाधार विकास गर्न र पर्यटकिय क्षेत्रमा सुविधा पुर्याउन सरकारसँग आग्रह गरे । त्यस्तै अध्यक्ष गुरागाईँले माइस टूरिजमको विकास गर्न र अन्तराष्ट्रिय स्तरको सेमिनारहरु गर्न सेमिनार हलको अभाव रहेको भन्दै सरकारले जग्गा दिन निजी क्षेत्र बनाउन तयार रहेको स्पष्ट पारे ।

२५ औं साधारण सभामा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटकिय नगरीको रुपमा पोखरा चर्चित भएपनि पछिल्लो दिनमा पर्यटकिय गन्तव्य नथपिएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटकहरुलाई थप आकर्षित गर्न नयाँ प्रडक्ट विकास गर्नु आवश्यक भएको भन्दै प्रबद्र्धनले मात्र पोखरामा पर्यटक नआउने बताए ।

कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका उत्कृष्ट २ टूर एण्ड ट्राभल अपरेटर तथा २ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नाट्टा गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.