यो वर्ष थप ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी खोज्दै पुँजी बजार

  २०७६ माघ १७ गते १०:५७     विकासन्युज

काठमाडौं । पुँजी बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो वर्ष सुवर्ण मौका आउँदैछ । नेपालको पुँजी बजारमा चालु आर्थिक वर्षभित्रै ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी अवसर प्राप्त हुदैछ ।

चालु आर्थिक वर्षमा १५ कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नेछन् । यस्तो आईपीओ साढे १८ अर्ब रुपैयाँको हाराहारीमा हुनेछ । आईपीओ जारी गर्ने कम्पनीहरुमा १० वटा जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी, एउटा पूर्वाधार विकास बैंक र ३ वटा निर्जीवन बीमा कम्पनी हुन् ।

बीमा समितिले लाइसेन्स दिएर कारोबार गरिरहेका १३ वटा बीमा कम्पनीले आईपीओ जारी गरेका छैनन् । जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा २ अर्ब रुपैयाँ हुनुपर्छ ।

बीमा कम्पनीहरुले आफ्नो चुक्ता पुँजीका कम्तिमा पनि ३० प्रतिशत आईपीओ जारी गर्नुपर्छ । यो व्यवस्था अनुसार ३ वटा निर्जीबन बीमा कम्पनीले कम्तिमा पनि ९० करोड रुपैयाँको आईपीओ जारी गर्नुपर्छ । त्यस्तै, १० वटा जीवन बीमा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्नै पर्छ ।

पुनर्बीमा कम्पनीले पनि आईपीओ जारी गरेको छैन । कम्पनीले पो वर्ष नै १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ । यो तथ्यांकले बीमा कम्पनीहरुले मात्रै यो वर्ष ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नुपर्ने देखाउँछ ।

नौ अर्ब रुपैयाँको आईपीओ ल्याउन जुटे नयाँ बीमा कम्पनी, यस्तो हुँदैछ तयारी

यस्तै, पूर्वाधार विकास बैंकले पनि आईपीओ जारी गरेको छैन । सो बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ । पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न इस्यू म्यानेजर नियुक्त गरिसकेको छ ।

बीमा क्षेत्रका कम्पनी र पूर्वाधार विकास बैंकको गरी यो वर्ष १६ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ मात्रै आउनेछ ।

चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र ल्याउनै पर्ने वाध्यकारी नियम ल्याएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा सार्वजनिक गरेको जानकारी अनुसार अहिले संचालनमा रहेका वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ खर्ब ५९ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ हुन्छ ।

मौद्रिक नीतिको व्यवस्था अनुसार चुक्ता पुँजीको २५ प्रतिशत मात्रै ऋणपत्र जारी भयो भने पनि ६४ अर्ब ८८ करोड १५ लाख रुपैयाँ बराबरको ऋणपत्र ल्याउनै पर्ने हुन्छ । २५ प्रतिशतभन्दा बढीको ऋणपत्र ल्याउन राष्ट्र बैंकले रोकेको छैन ।

तर, केही वाणिज्य बैंकहरुले ऋणपत्र विक्री गरिसकेका पनि छन् । जस्तो कि माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको, एनआईसी एसिया बैंकले ९ अर्ब ६५ करोड रुपैयाँको, बैंक अफ काठमाडूले १ अर्ब रुपैयाँको, सिटिजन्स बैंक इन्टरनेसनलले ५० करोड रुपैयाँको, एभरेष्ट बैंकले १ अर्ब रुपैयाँको ग्लोबल आईएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँको हिमालयन बैंकको ३ अर्ब २५ करोडको, कुमारी बैंकको ३ अर्बको, लक्ष्मी बैंकको ४० करोडको, नेपाल बंगलादेश बैंकको २ अर्बको, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब २५ करोडको, एनएमबी बैंकको २ अर्ब २५ करोडको र प्रभु बैंकको २ अर्ब रुपैयाँको ऋणपत्र आइसकेको छ ।

यी सबै बैंकहरुले विक्री गरिसकेको ऋण ३२ अर्ब ८० करोड रुपैयाँ बराबरको हुन आउँछ । बैंकहरुले जारी गर्नै पर्ने ६४ अर्ब ८८ करोड रुपैयाँमा ३२ अर्ब ८० करोड रुपैयाँ घटाउँदा अझै पनि ३२ अर्ब ८ करोड रुपैयाँको ऋणपत्र आउन बाँकी छ । तर, एनआईसी एसिया बैंकले आफ्नो चुक्ता पुजीको २५ प्रतिशतभन्दा निकै धेरै परिमाणको ऋणपत्र विक्री गरेको छ । यस्तै, बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी रकम बराबरको ऋणपत्र जारी गर्न पनि सक्छन् । त्यसैकारण बैंकहरुले जारी गर्नुपर्ने ऋणपत्रको परिणाम ३२ अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।

४० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि छुट्टयाउनु पर्ने हुन्छ । बाँकी ६० प्रतिशत ऋणपत्र  अन्य लगानीकर्तालाई विक्री गर्दा हुन्छ । बैंकले जारी गर्ने ३२ अर्ब ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणले किन्दा पनि सो परिमाण १२ अर्ब ८० करोड रुपैयाँको हुन्छ ।

बीमा क्षेत्रका कम्पनी र पूर्वाधार विकास बैंकको आईपीओमा मात्रै सर्वसाधारणले १६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आईपीओमा लगानीको अवसर पाउने छन् । यस्तै बैंकहरुले विक्री गर्न बाँकी रहेको ३२ अर्ब रुपैयाँको ऋणपत्रमा मात्रै १२ अर्ब ८० करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यी दुबै तथ्यांक जोड्दा चालु आर्थिक वर्षमा सर्वसाधारणले पुँजी बजारमा २९ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न पाउने अवसर पाउने छन् ।

नेपाली पुँजी बजारमा सबै लगानीकर्ताको लगानी जोड्दा यो वर्ष नेपाली पुँजी बजारले करिब ५० अर्ब रुपैयाँ थप लगानी खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.