नौ अर्ब रुपैयाँको आईपीओ ल्याउन जुटे नयाँ बीमा कम्पनी, यस्तो हुँदैछ तयारी

  २०७६ पुष ८ गते १८:४४     नबिन पोखरेल

काठमाडौं । नयाँ बीमा कम्पनीहरु साधारण सेयर (आईपीओ) जारी गर्ने गृहकार्यमा लागेका छन् । कारोबार सुरु गरेको १ आर्थिक वर्ष पूरा भएपछि आईपीओ जारी गर्न पाउने व्यवस्थाको कारण कम्पनीहरु यसको तयारीमा जुटेका हुन् ।

आईपीओ जारी गर्न आवश्यक गृहकार्य सुरु गरिएको कम्पनीहरुले जानकारी दिएका छन् । आईपीओ जारी गर्नको लागि लेखापरीक्षण, वार्षिक साधारणसभा, एक्चुरी भ्यालुएसन, सेयर निष्कासन तथा विक्री प्रबन्धक (इस्यू म्यानेजर) नियुक्त जस्ता कार्यमा कम्पनीहरु लागेका हुन् ।

निर्जीवन बीमा तर्फ ३ र जीवन बीमातर्फ १० नयाँ कम्पनीले लाइसेन्स पाएर बीमा व्यवसाय गरिरहेको भएपनि ती कम्पनीले आईपीओ निष्कासन गरिसकेका छैनन् । कम्पनीहरुलाई आईपीओ जारी गर्न बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि ताकेता गर्न थालेको छ ।

नयाँ कम्पनीहरुलाई आईपीओ जारी गर्न तोकेता गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले कम्पनीहरुलाई वित्तीय विवरण पेश गरेर आईपीओ जारी गर्ने प्रक्रियामा जान ताकेता गरेको हो ।

‘नयाँ कम्पनीहरुले आईपीओ जारी गर्ने बेला भइसकेको छ, कम्पनीहरुलाई वित्तीय विवरण चाँढै पेश गरेर आईपीओ निष्कासनको प्रक्रियामा गइहाल्नु भनेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।

निर्जीवन बीमा व्यवसाय गरिरहेको अजोड, जनरल र सानीमा इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरेका छैनन् । यस्तै, जीबन बीमा व्यवसाय गरिरहेका सिटिजन्स, ज्योति, युनियन, रिलायन्स, सानिमा, प्रभु, आईएमई, रिलायवल, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गरेका छैनन् ।

जीबन र निर्जीबन बीमा कम्पनी गरी १३ वटा कम्पनी ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अन्तिम तयारीमा छन् ।

यस्तो भन्छन् कम्पनीहरु:

अजोड इन्स्योरेन्स कम्पनी

अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको तयारी गरिरहेको छ । अजोडले सेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त नै गरिसकेको छ ।

‘हामीले हाम्रो इस्यू म्यानेजरको रुपमा एनआईबीएलएस क्यापिटललाई छनोट गरिसकेका छाँै, बाँकी रहेका काम पनि हामीले गर्दैछाँै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने ।

जनरल इन्स्योरेन्स कम्पनी

जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि तयारी गरेपनि केही समय लाग्ने बताएको छ ।

‘हामीले आईपीओ निष्कासनको काम गर्दै छौं, बीमा समिति र धितोपत्र बोर्डका प्रकृयाहरुसमेत पूरा गर्नुपर्ने भएकोले केही सयम लाग्छ कि जस्तो छ, तर सकेसम्म छिटै सक्ने गरी गृहकार्य गरिरहेका छौं,’ जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले भने ।

सन नेपाल लाइफ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया निकै अगाडि पुर्याइसकेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जानकारी दिए ।

‘हामी आईपीओ निष्कासनको प्रक्रियामा निकै अगाडि बढिसकेका छौं, आवश्यक कागजातहरु धितोपत्र बोर्डमा पठाएका छौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने ।

युनियन लाइफ

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि गृहकार्य गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिए ।

महालक्ष्मी लाइफ

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भने यस वर्ष आईपीओ आउँदैन । आईपीओ आउँन कम्पनीहरुले कम्तिमा एक आर्थिक बर्ष कारोबार गरेको हुनुपर्छ । महालक्ष्मी लाइफले कारोबार सुरु गरेको एक आर्थिक वर्ष पूरा भएको छैन ।

‘हामीले कारोबार सुरु गरेको एक आर्थिक वर्ष पूरा भएको छैन, तोकिएको समय पुगेपछि आईपीओ जारी गर्ने प्रक्रियामा जान्छौं,’ कम्पनीमा डेपुटी सिइओ रामेश्वर श्रेष्ठले भने ।

सानिमा लाइफ

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया निकै अगाडि बढाइसकेको छ ।

‘जतिसक्दो चाढै आईपीओ निष्कासनको लागि गृहकार्य गरिरहेका छौं, प्रक्रिया पनि निकै अगाडि बढिसकेको छ,’ कम्पनीका महाप्रबन्धक शिवराम तिमल्सिनाले भने ।

प्रभु लाइफ

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि केही समय लाग्ने जानकारी दिएको छ ।

‘आईपीओ निष्काशन गर्न केही समय लाग्ला, प्रकृया अघि बढाइरहेका छौँ, इस्यु म्यानेजर छनोट भइसकेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले भने ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले इस्यू म्यानेजरको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

सिटिजन्स लाइफ

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि रेटिङ्ग गरिसकेको छ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले रेटिङ गरेको हो ।

‘इस्यू म्यानेजरको लागि एनआईबिएलएस क्यापिटललाई नियुक्त गरिसकेका छौं, अन्य गृहकार्य पनि करिब अन्तिम चरणमा पुगेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोशकराज पौडेलले भने ।

ज्योति लाइफ, रिलायन्स लाइफ, आइएमइ लाइफ, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गर्ने प्रकृया सुरु गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.