संसदको पहिलो कार्यसूचीमा सभामुख चयन, कसले मार्ला बाजी ?

  २०७६ पुष ११ गते १०:२९     विकासन्युज

काठमाडौं । संसद सचिवालयका कर्मचारीमाथि यौनहिंसाको आरोप लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।

आज (११ पुस) बोलाइएको प्रतिनिधिसभा बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन गर्ने भन्ने छ । तर, सभामुख पदका लागि सत्तारुढ नेकपाले कसलाई अघि बढाउँछ भन्ने अझै यकिन छैन ।

उपसभामुख डा. शिवमाया तुम्बाहम्फे आफै सभामुख बन्ने योजनामा छन् । तुम्बाहम्फे नै सभामुख बन्न पनि उनले उपसभामुख पदबाट राजीनामा दिनुपर्छ । तुम्बाहम्फेले अझै राजीनामा दिएकी छैनन् ।

नेकपाले तुम्बाहम्फेलाई उपसभामुखबाट राजीनामा गराएर सभामुखमा अर्को व्यक्ति ल्याउने प्रयास गरेको छ । तर, आफै सभामुख हुन पाउनु पर्ने तुम्बाहम्फेको जोड छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तुम्बाहम्फेलाई राजीनामा दिएर नेकपाले सभामुख पाउने संबैधानिक बाटो खुल्ला गरिदिन आग्रह गरिसकेका छन् ।

संविधानले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने परिकल्पना गरेको छ । निवर्तमान सभामुख महरा एमाले र माओवादी एकीकरण हुनुअघि माओवादीको तर्फबाट सभामुख भएका थिए । अहिले पार्टी एकीकरण भएर नेकपा बनेको छ ।

नेकपा उच्च स्रोतले भने डा. तुम्बाहम्फेले उपसभामुख पदबाट राजीनामा गर्ने दाबी गरेको छ । डा. तुम्बाहम्फेले उपसभामुखबाट राजीनामा गर्ने, उपसभामुख पदमा नेकपा बाहेकको दल (सम्भवतः राजपा) लाई दिने र सभामुखमा नेकपाको प्रभावशाली नेता पठाउने गृहकार्य गरेको छ ।

यस्तो गृहकार्यमा डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने भन्ने छ । तर, तुम्बाहम्फेले तत्काल मन्त्री नबन्ने बताउँछै आएकी छन् । त्यसैले आगामी चैतमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिने र सो बेला डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने रोडम्याप नेकपाले बनाएको छ । तर, तुम्बाहम्फेले नै अर्थमन्त्रालय पाउने भन्ने होइन ।

नेकपाले राजपालाई सरकारमा ल्याउन विशेष पहल गरिरहेकोले तत्काल मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना पनि छ । मन्त्रिपरिषद पुनरगठन भइहालेको अवस्थामा तुम्बाहम्फे चाढै नै मन्त्री बन्ने सम्भावना पनि छ ।

यस्तो अवस्थामा नेकपामा सभामुख पदका लागि खास गरी ३ जना प्रतिस्पर्धी देखिएका छन् । पूर्व एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ तथा पूर्व माओवादीका तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालले दाबी गरिरहेका छन् ।

पार्टी एकीकरणअघि पूर्वमाओवादीले पाएको पद अहिले पनि पूर्वमाओवादीले नै पाउनु पर्ने दाबी सापकोटा र भुसाललाई सभामुख बनाउनु पर्छ भन्नेहरुको छ । तर, पार्टी एकीकरणपछि को कुन, को कताको भन्ने अर्थ नै नरहने पूर्व एमालेहरुको भनाइ छ ।

नेता सापकोटा र भुसालमाथि सशस्त्र विद्रोहको बेलाका मुद्दा बाँकी रहेको र संविधानसभाबाट संविधान बनाउन अध्यक्षको रुपमा नेम्बाङले प्रभावकारी भूमिका खेलेको भन्दै नेम्बाङलाई नै पुन सभामुख बनाउने लबिङ पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.