रोयल इन्फिल्डका मोटरसाइकल सानो साइजमा आउँदै, हाेचा पुरूष र महिलाकाे चाहाना पूर्ति हुने

  २०७६ पुष १० गते १९:४९     विकासन्युज

काठमाडौं । सामान्यतया रोयल इन्फिल्डको मोटरसाइकल भन्नासाथ झट्ट दिमागमा ठूला तथा वजनदार मोटरसाइकल नै आउने गर्दछन् । हो पनि, रोयल इन्फिल्डले हालसम्म आफ्ना जति पनि उत्पादन बजारमा ल्यायो ती सबै ३५० सीसी भन्दा माथिका मात्रै छन् ।

यत्तिका सीसीको मोटरसाइकललाई नेपालमा ठूलो मोटरसाइकलको संज्ञा दिइन्छ र यस्ता मोटरसाइकलहरु अलि हट्टाकट्टा युवाहरुका लागि मात्र उपयुक्त हुने गर्दछ । तर अब भने कम्पिटेटिभ मार्केटलाई मध्यनजर गर्दै रोयल इन्फिल्डले कम उमेरका युवाका साथै महिलाहरु प्रति पनि लक्षित गर्दै नयाँ सेग्मेन्टलाई बजारमा ल्याउने भएको छ ।

कम्पनीका अनुसार सो मोटरसाइकल थोरै वजन, कम सिट हाइट र कम पावर भएको हुनेछ जसले गर्दा साना जीउज्यान हुनेहरुले पनि सहजै चलाउन सक्नेछन् ।

हाल रोयल इन्फिल्डका कुल ग्राहकमध्ये मात्र ७ प्रतिशत महिला ग्राहक रहेका छन् । यो तथ्याङ्कले आजका दिनसम्म महिलाहरु रोयल इन्फिल्डतर्फ आकर्षित हुन नसकेको प्रष्टसँग दर्शाउँछ ।

रोयल इन्फिल्डले यी नयाँ मोटरसाइकलहरुलाई सन् २०२० को मध्यसम्ममा सार्वजनिक गर्ने अनुमान भारतीय मिडियाहरुले गरेका छन् । त्यसैगरी यी मोटर साइकलको मूल्य भारतीय बजारमा एक लाख १० हजार रुपैयाँदेखि लिएर एक लाख २० हजार रुपैयाँको हाराहारी पर्ने पनि आँकलन गरिएको छ ।

हाल रोयल इन्फिल्डले ३५० सीसी, ५०० सीसी र ६५० सीसीका मोटरसाइकलहरु उत्पादन गर्दै आइरहेको छ भने ती मध्ये क्लासिक ३५० लाई यस ब्राण्डको बेस्ट सेलिङ्ग मोडेल भनेर चिनिन्छ ।

रोयल इन्फिल्ड चेन्नई स्थित भारतीय मोटरसाइकल उत्पादक कम्पनी हो र यसको स्थापना सन् १९५५ सालमा इन्फिल्ड इण्डियाको नामबाट भएको थियो । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रा.लि. रहेको छ भने कम्पनीले यस ब्राण्डका बुलेट ३५०, बुलेट इलेक्ट्रा ३५०, क्लासिक ३५०, थन्डरबर्ड ३५० एक्स र हिमालयन गरी ५ अलग मोडेलहरु हाल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.