६४ कराेड राजस्व छली गरेकाे भन्दै पेप्सी विरुद्ध २ अर्बकाे मुद्दा

  २०७६ पुष ३ गते १६:३८     विकासन्युज


काठमाडाैं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध मुद्दा दायर गरेको छ।

नक्कली भ्याटबिल जारी गरी ६४ करोड राजस्व ठगेको भन्दै विभागले मुद्दा दायर गरेको हो। नक्कली भ्याट विल बनाएर राजस्व छलि गरेको शंकामा विभागले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो ।

विभागले नक्कली भ्याट विल प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ राजस्व छलि गरेको आरोपमा मुद्दा दायर गरेको हो । राजस्व छली गरेको रकम बराबर नै विगो तथा विगोको दोब्बर जरिवाना समेत गरी १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपैयाँ दाबी गरिएको छ ।

विभागले बरुण बेभरेज विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तो छ विभागको आरोप

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बिजकको प्रयोग गर्ने वरुण वेभरेज (नेपाल) प्रा.लि.(स्थायी लेखा नं. ३०००४५४९५) र यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता समेत ७ जना उपर ६४ कराेड ९६ लाख २ हजार ३ सय ४० रूपैयाँ विगो तथा विगोको दोब्बर १ अर्ब २९ कराेड ९२ लाख ४ हजार ६ सय ८० रूपैयाँ समेत जम्मा १ अर्ब ९४ कराेड ८८ लाख ७ हजार २० रूपैयाँ (एक अर्व चौरानब्बे करोड अठ्ठासी लाख सात हजार विस रुपैया) सम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी काठमाडौं जिल्ला अदालतमा आज मिति २०७६-०९-०३ मा मुद्दा दायर गरिएको।

वरुण वेभरेज (नेपाल) प्रा.लि.(स्थायी लेखा नं. ३०००४५४९५)ले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोलेवरुण वेभरेज (नेपाल) प्रा.लि.बाट १ अर्व ६० करोडको बैक जमानत लिई यसका प्रतिवादीहरु वरुण वेभरेज (नेपाल) प्रा.लि. र यसका पूर्व तथा वर्तमान संचालकहरु विरुद्ध ६४ कराेड ९६ लाख २ हजार ३ सय ४० रूपैयाँ (अक्षरेपि चौसठ्ठी करोड छयान्नब्बे लाख दुई हजार तीन सय चालीस मात्र) राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले आज मिति २०७६-०९-०३ गते काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

विभागले गरेको अनुसन्धानबाट यस प्रा.लि.ले आ.व. २०७०/७१ देखि २०७५/७६ सम्ममा झुट्टा तथा मू.अ. कर बिजकको कारोवारबाट मू.अ.करतर्फ २५ कराेड ३४ लाख ६ हजार ९ सय ४० रूपैयाँ (अक्षरेपि पच्चीस करोड चौंतीस लाख छ हजार नौ सय चालीस मात्र) र आयकर तर्फ लाभांश समेत गरी ३९ कराेड ६१ लाख ९५ हजार ४ सय रूपैयाँ (अक्षरेपि उनान्चालीस करोड एकसठ्ठी लाख पन्चान्नब्बे हजार चार सय)गरी कूल रकम ६४ कराेड ९६ लाख २ हजार ३ सय ४० रूपैयाँ (अक्षरेपि चौसठ्ठी करोड छयान्नब्बे लाख दुई हजार तीन सय चालीस मात्र) राजस्व छली गरेको देखिएकोले छली भएको कूल रकम ६४ कराेड ९६ लाख २ हजार ३ सय ४० रूपैयाँलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ छ(१) बमोजिम बिगो कायम गरी उक्त बिगो रकम ऐ. ऐनको दफा २३ बमोजिम प्रतिवादी वरुण वेभरेज (नेपाल) प्रा.लि. र यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमारबाट असुल उपर गर्ने तथा प्रतिवादीहरुलाई ऐ. ऐनको दफा २३ (१)बमोजिम बिगोको दोब्बरसम्म जरिवाना तथा ३ (तीन) वर्षसम्मको कैद सजायको माग दाबी लिई आज मिति २०७६-०९-०३ गते काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.