इन्टरनेट सेवाः पहिला गुणस्तर कि सेवा विस्तार भन्नेमा नियामक र व्यवसायीको मतान्तर

  २०७६ पुष ३ गते १०:२४     नबिन पोखरेल


काठमाडौं । नेपाल दूर–संचार प्राधिकरण (एनटीए) ले इन्टरनेटको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर, सेवा प्रदायकहरुले नेपाल जस्तो कम विकशित देशहरुमा पहुँच विस्तारलाई प्राथमिकता दिएपछि मात्रै गुणस्तरमा ध्यान दिन सकिने दाबी गरेका छन् ।

नेपाल दूर–संचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार अहिलेको जमानामा इन्टनेट बिना जीवन चल्न नसक्ने भएकाले सो सेवालाई गुणस्तरीय नै बनाउन आवश्यक रहेको छ ।

गुणस्तरीय इन्टरनेटको प्रयोगबाट मात्रै सर्वसाधारणले स्मार्ट ढ्ङ्गबाट काम गर्न सक्नेमा अर्यालले जोड दिए ।

डिजिटल नेपालमा सघाउने एनटीएको लक्ष्य

एनटीएले इन्टरनेटको गुणस्तरलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै आएको जानकारी दिएको छ । आगामी दिनमा नेपालले शहरी र ग्रामीण दुवै क्षेत्रमा आफ्नो सेवाको विस्तार गर्न आवश्यक रहेको एनटीएको बुझाई छ ।

सरकारले डिजिटल नेपाल अभियान संचालन गर्ने कार्यक्रम अघि सारेको छ । सरकारको यस्तो कार्यक्रमलाई सहयोग पुर्याउन पनि सेवाको गुणस्तर र पहुँच दुबै आवश्यक भएको प्राधिकरणको भनाइ छ ।

पहिला पहुँच, अनि गुणस्तरः सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायकहरु भने नेटवर्कको समस्या र अन्य देशको तुलनामा सस्तोमा आफ्नो सेवा विक्री गर्नु परेका कारण इन्टरनेटको गुणस्तरप्रति प्रश्न उठ्ने बताउँछन् ।

यस्तै, नेपालको भौगोलिक अवस्था तथा मौसमले समेत इन्टरनेटको गुणस्तरमा आंशिक प्रभाव पार्ने गरेको व्यवसायीको धारणा छ ।

सुविसु कम्पनीका म्यानेजिङ्ग डिरेक्टर (एमडी) सुधिर पाराजुली गुणस्तर राम्रो बनाउन सबैले ध्यान दिनुपर्ने भए पनि पहिलो आवश्यकता भनेको सेवाको पहुँच विस्तार नै भएको बताउँछन् ।

‘इन्टरनेट सेवा प्रदायकहरुले सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्नै पर्छ, यस्तै पहुँच विस्तारलाई पनि उत्तिकै केन्द्रमा राख्नुपर्छ, तर नेपालमा केही प्रावधिक, केही व्यवसायिक र केही व्यवहारिक कठिनाईका कारण गुनासो आउने गरेको छ,’ पराजुलीले विकासन्यूजसँग भने ।

कम विकसित देशहरुमा पहिले पहुँच विस्तार गर्न कम मूल्यको इन्टरनेट सेवा खोजीने भएकोले गुणस्तर कायम गर्न चुनौती हुने गरेको पराजुलीको भनाइ छ ।

ब्रोडव्याण्डको आधारमा इन्टरनेटको मूल्य निर्धारण हुन्छ । नेपालमा अहिले प्रयोग हुँदै आएका ब्रोड व्याण्डहरु सार्क राष्ट्रकै आधारमा सस्तोमा गनिने जानकारहरुको भनाइ छ ।

नेपालमा अहिले प्रयोग भएको इन्टरनेट ब्रोडव्याण्ड विश्वभरमा १३औं स्थानमा पर्छ ।

नेपालमा इन्टरनेट क्षेत्रको नियमन गर्दै आएको नियामक एनटीएले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट सेवा विस्तारमा जोड दिएको छ । एनटीएले पछिल्लो समय शहरी क्षेत्रमा इन्टरनेटको प्रतिस्पर्धा बढेसँगै ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारको लक्ष्य लिएको छ ।

एनटीएले ग्रामीण क्षेत्रका सरकारी विद्यालय, स्थानीय तहका संरचनाहरु तथा स्वास्थ्यचौकीमा इन्टरनेट सेवा पुर्याउन कार्यक्रम र योजना अघि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.