चार महिनामा ३३ अर्बको नयाँ शेयर थपियो तर पुँजीकरण १ खर्ब २६ अर्बले घट्यो

  २०७६ पुष २ गते १६:३९     विकासन्युज

काठमाडौं । आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३३ अर्ब ११ करोड रूपैयाँ बराबरको शेयर थपिएको छ । साउनदेखि कात्तिकसम्ममा १० अर्ब ५२ करोड रूपैयाँ बराबरको साधारण शेयर थपिएको छ भने ८ अर्ब ९ करोड रूपैयाँ बराबरको बोनस शेयर थपिएको छ ।

त्यस्तै, यस अवधिमा रु.१ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर, रु.६ अर्ब बराबरको डिबेन्चर, रु.३ अर्ब ६४ करोड बराबरको म्युचल फण्ड र रु.३ अर्ब ४२ करोड बराबरको धितोपत्र थपिएको छ । यस अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर निष्काशन गर्न अनुमति दिएको छ ।

२३ अर्बको शेयर थपिएपछि बजार पुँजीकरण भने १ खर्ब २६ अर्ब १९ करोडले घटेको छ । धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १.३ प्रतिशतले घटी २०७६ कात्तिक मसान्तमा रु. १४४१ अर्ब ३१ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो ।

२०७५ कात्तिक मसान्तमा १२०५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ कात्तिक मसान्तमा ११३६ विन्दु कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचाङ्क १२५९ रहेको थियो ।

२०७६ कात्तिक मसान्तसम्ममा नेप्सेमा २१५ कम्पनीहरु सूचीकृत छन् । सूचीकृत कम्पनीहरूमध्ये १५२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.५ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

२०७६ कात्तिक मसान्तसम्ममा नेप्सेमा सूचीकृत ४ अर्ब ४३ करोड शेयर संख्याको चुक्ता मूल्य रु.४ खर्ब ३४ अर्ब ९२ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.