२२ वटा उद्याेगकाे उत्पादन गुणस्तरहीन भएपछि बिक्रीमा राेक, ८ कम्पनी विरूद्ध मुद्दा दर्ता

  २०७६ पुष १ गते १२:५१     सुनिता पुडासैनी

काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीतका उद्योगहरु सञ्चालन गरेर उपभोक्तालाई ठग्ने व्यवसायी माथि कारबाही बढाएकाे छ । मापदण्ड विपरित खाद्य उद्योग सञ्चालन गर्ने, गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने र न्युन गुणस्तरका सामानहरु उत्पादन गरेर खरिद विक्री गर्ने कम्पनीहरु माथि विभागले कारवाही बढाएकाे हाे ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा यस्तो गलत कार्य गर्ने आठ कम्पनी तथा व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यस्तै, विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गरेको भन्दै उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।  गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको विभागकी महानिर्देशक डा.मतिना जोशीले जानकारी दिइन् ।

मुद्दा दर्ता भएका कम्पनीहरूमा माेरङका पूर्वी व्यापार प्रालि,सुसवनी प्याकेजिङ्ग उद्याेग,ॐ जेके उद्याेग,काभ्रेकाे आर्याल जलपान गृह, नवलपरासीकाे साई वाटर इण्डष्ट्रिज विरूद्द मुद्दा दायर भएकाे छ । यस्तै नवलपरासीकै शिव पार्वती पानी उद्याेग,कास्कीकाे त्रिदेव दालमाेठ उद्याेग र कास्कीकै हिमश्री फूड्स प्रालि विरूद्द मुद्दा दर्ता भएकाे हाे ।

गुणस्तरहीन पिउने पानी उत्पादक चार कम्पनी, लेबल विवरण झुठा दिने दालमोठ कम्पनी, न्युन गुणस्तरकाे तयारी चाउचाउ उत्पादन गर्ने, दुषित लड्डु उत्पादन गर्ने र न्युनस्तरको खुर्सानीको धुलो उत्पादन गर्ने आठ खाद्य कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको विभागले जनाएकाे छ । ती मुद्दाहरु  मोरङ, काभ्रे, नवलपरासी र कास्की जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतहरुमा दर्ता भएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

गत आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकमा एक सय १४ वटा मुद्दा खाद्य प्रविधि तथा नियन्त्रण विभागमा दर्ता भएका थिए । गतवर्षको पहिलो चौमासिकमा खाद्य गुणस्तर मापदण्डको पालना नगरि बारा जिल्लामा मात्र ३२ वटा मुद्दा दर्ता भएका थिए । चितवन जिल्लामा ३० वटा पर्सामा ११, काठमाडौं जिल्लामा मात्र ११ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्षको पहिलो चौमासिकमा काठमाडौं जिल्लामा एउटा मुद्दा पनि दर्ता भएको छैन् ।  यस्तै खाद्य ऐन तथा नीति उल्लंघन गर्ने झापामा सात, सिराहामा चार, भक्तपुरमा चार, मकवानपुरमा पनि चार, बाँकेमा तीन, कास्कीमा तीन, कैलालीमा एक, नवलपरासी एक र नुवाकोटमा एक मुद्दा जिल्ला अदालतहरुमा विचाराधीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.