५० लाख रुपैयाँसम्मको घर बीमा गर्न पाउने योजना सहित समितिले ल्यायो घुम्ती बीमा सेवा

  २०७६ मंसिर २७ गते १७:२१     नबिन पोखरेल

काठमाडौं ।  बीमा समितिले नेपालमा सञ्चालित सबै बीमा कम्पनीलाई ग्रामीण क्षेत्रमा घुम्ती बीमा सञ्चालन गर्नका लागि मार्गदर्शन दिएको छ । समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा सम्बन्धि मार्गदर्शन, २०७६ जारी गरेर कम्पनीहरूलाई सोही बमोजिम कार्य गर्न गराउन निर्देशन गरेको हो ।

यहि मंसिर २५ गतेदेखि लागू हुने गरी ल्याइएको उक्त बीमा सेवाको कार्य क्षेत्र जीवन र निर्जीवन दुबै क्षेत्र हुनेछन् । ५० लाख रुपैयाँसम्म घरको बीमा गर्न पाउने गरी उक्त सेवा आरम्भ गरिएको हो । विशेषतः ग्रामीण क्षेत्रलाई लक्षित गरी ल्याइएको उक्त मार्गदर्शनमा कम्पनीहरूले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमाको सेवा बीमितको घरदैलो पुगेर दिनु पर्ने व्यवस्था गरेकोे छ ।

यद्यपि मार्गदर्शनले ५ लाख रुपैयाँभन्दा बढी बीमांक कायम हुने कुनै पनि जीवन बीमा गर्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै एकल बीमा शुल्क, वैदेशिक रोजगारी म्यादी जीवन बीमा भने यो सेवा अन्तर्गत गर्न पाइदैन । घुम्ती बीमा सेवाको निर्जीवन बीमातर्फ सामुन्द्रिक, हवाई, इन्जिनियरिङ र मोटर बीमा गर्न नपाउने व्यवस्था गरिएको छ ।

बीमक कम्पनीले महानगरपालिका र उपमहानरपालिकाभित्र उक्त सेवा लागू गर्न पाउँदैन । निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले भने यस अन्तर्गत रहेर तोकिएको जिल्लामा अनिवार्य कृषि तथा पशुपन्छी बीमा सेवा सञ्चालन गर्नुपर्ने छ ।

घुम्ती बीमा सेवा सञ्चालन गर्ने कम्पनीले अनिवार्य रुपमा सो सेवामा सम्लग्न कर्मचारी दुर्घटना बीमा र उसले प्रयोग गर्ने सवारी साधन र नगदको समेत बीमा गराउनु पर्ने नयाँ व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बीमक कम्पनीहरूले ग्राहकको घरदैलोमै हिडेर पुगेर भएपनि सेवा दिनुपर्ने छ,’ उनले भने ‘उक्त सेवा सञ्चालन गर्न कम्पनीको शाखा कार्यालयभन्दा छुट्टै डेस्क हुनुपर्नेछ ।

घुम्ती बीमाबाट संकलन भएको बीमा शुल्क सोही दिन वा सोही दिन नभ्याए बैंक खुलेको पहिलो दिननै सेवा प्रदायकले बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले बीमा ऐन २०४९ को दफा ८ को उपदफा ‘घ’ को २ ले दिएको अधिकार प्रयोग गरी मार्ग दर्शन तयार पारेको हो । उक्त सेवा विमितको घरदैलोमा गएर दिइने सेवा हो ।

नेपाल इस्योरेन्सले सुरुवात गरेको घुम्ती बीमा सेवालाई बीमा समितिले मार्गनिर्देश दिएकामा कम्पनीले आफ्नो सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेको छ । हरेक नेपालीको घर आँगनमा बीमाको पहुँच विस्तार गर्ने नेपाल इन्स्योरेन्सको अभियानलाई नियामक निकाय बीमा समितिले साथ दिएकोमा कम्पनीलाई काम गर्न अझ हौसला मिलेको नेपाल इन्स्यारेन्स कम्पनीका डेपुटी जेनेरल म्यानेजर बिक्रान्त पाण्डेले बताए ।

‘सबैको घर-घरमा बीमा पोलिसी पुर्याउने यो कम्पनीले यो अभियान शुरु गरेको बताए । ‘विकट भौगोलिक अवस्थाका कारण नेपालमा यस्तो प्रकृतिको बीमा योजना बढी उपयोगी हुन्छ,’ उनले भने ‘ घुम्ती बीमा कम्पनीको सपना हो । कम्पनीले गत चैतमा उदयपुरको बेलक्का नगरपालिकाबाट घुम्ती बीमा सेवा आरम्भ गरेको थियो ।

घुम्ती बीमा कार्यक्रम संचालन गर्दै बीमा समिति, सातै दिन २४ घण्टा सेवा दिने तयारी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.