विदेशी कपडामा शोखिन नेपाली, ४ महिनामै साढे १३ अर्बको आयात

  २०७६ मंसिर २४ गते १३:२३     विकासन्युज

काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक आयातित कपडाको मात्रै हो । देशभित्र उत्पादन भएका कपडाको यसमा मूल्य समावेश गरिएको छैन ।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको यो अवधिमा १३ अर्ब ६० करोड रुपैयाँको नेपालमा तयारी कपडा आयात भएकाे छ । नेपालीको आयमा आएको परिवर्तनसँगै यस्ता कपडा खरिदमा  ८.४ प्रतिशतले वृद्धि भएको हाे । नेपालीको आयमा भएको वृद्धिसँगै उनीहरूको शोखमा पनि परिवर्तन आएको छ ।

सरकारी तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय औसतमा १ लाख १८ हजार ८ सय ८३ रुपैयाँ अर्थात १ हजार ४७ डलर हो । औसतमा एक नेपालीले लाखभन्दा केहीमात्रै बढी रकम कमाएपनि खर्च भने ठूलो देखिएको छ । यो खर्च त मात्रै तयारी पोशाकको हो ।

यदि प्रतिमेगावाट १६ करोड रुपैयाँमा विद्युत उत्पादन हुने हो भने तयारीको पोशाकमा छोटो अवधिमा बाहिरिएको सो रकमबाट ८५ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यी वाहेक हजारौ यस्तै वस्तु नेपालमा विदेशी बजारबाट भित्रने गरेका छन् । यसमा पनि ठूलो खर्च हुने गरेको छ । हाल नेपाली बजारमा चीनबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको छ भने त्यसपछि थाइल्याण्ड, भारत, जापान, अमेरिकालगायतका देशबाट तयारी कपडा आयात हुने गरेका छन् ।

नेपाली तयारी पोशाक उद्योग धरापमा परेपछि विदेशी कपडाको आयात वर्षैपिच्छे बढ्दै गएको छ । डेढ दशक अघिसम्म नेपाली तयारी पोशाक विश्व बजारमा उत्कृष्ट मानिन्थ्याे । आयातित कपडाभन्दा नेपाली ब्राण्डका कपडाको बजार मूल्य महँगाे भएकोले सस्ता कपडा खोज्दा आयात बढी हुने नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । कुनै कपडा भने अत्यन्त महँगा पनि छन् । नेपालीले आफ्नो हैसियत अनुसार बजार रोज्नु पर्ने उनको भनाइ छ । यो वर्ष त नेपालमै पनि कपडा उत्पादन हुन थालेका छन, आयात त घट्नु पर्ने हो, उनले भने ।

‘विदेशी कपडाको तुलनामा हामी अति महँगाे छौं,’ उनले भने ‘जबसम्म सरकारले नेपाली उत्पादनलाई सस्तो बनाउने योजना कार्यान्वयनमा ल्याउँदैन, तबसम्म नेपालबाट यसरी नै कपडामै ठूलो रकम बाहिरिरहन्छ । ‘हामी जस्ता पनि कपडा उत्पादन गर्न सक्छौ,’ तर आयातित कपडाको कारण बजारमा टिक्न सक्ने अवस्था छैन ।

कच्चा पदार्थ आयात गरेर कपडा उत्पादन गर्दा अन्य देशले उत्पादन गरेका कपडाको तुलनामा नेपाली कपडा महँगाे पर्न जान्छ । सरकारले चालु आवको बजेटमार्फत कपडा उद्योगका लागि भन्सार महशुल घटाउनुका साथै उद्योगले खपत गर्ने विद्युत महशुलमा समेत ५० प्रतिशत छुट दिएको छ ।

सरकारले यस्ता फजुल आयातलाई नरोक्दा व्यापार घाटा बढेको उनले बताए । सरकार राजस्वमुखी मात्रै भयो,’ अर्यालले भने ‘ आन्तरिक उत्पादनले मात्रै देशलाई दिगो रुपमा आम्दानी दिने हो । ’ सरकारले यो बुझ्न जरुरी छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.