भाइ मसलामा उपभोक्ताको आकर्षण, पौने अर्बको बिक्री हुने

  २०७६ कार्तिक ५ गते १८:२९     सुनिता पुडासैनी

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा भाइ मसला बिक्री बढ्न थालेको छ । साना खुद्रा पसलदेखि ठूला सुपर मार्केटहरु ‘तिहार बजार’ ले छोपेसँगै उपभोक्ताको ध्यान भाइ मसलाको आकर्षक प्याकेटमा पर्न थालेकाे छ ।

सुपर मार्केटमा यस वर्ष प्रति प्याकेट न्यूनतम ४ सय रुपैयाँदेखि करिब १७ सय रुपैयाँसम्मको भाइ मसला रहेको अनामनगर भाटभटिनीले जानकारी दिएको छ । भाइमसलाको अझै नयाँ प्याकेट आउने तयारीमा रहेको जानकारी दिँदै ग्राहकलाई नै लक्षित गरी प्याकेट आउने बताइयो ।

पछिल्लाे समय सामाग्री किन्दा ग्राहकहरु बढी मूल्य तिरेर आकर्षक एवम् गुणस्तरीय सामाग्री लिने गर्छन् । यहि क्रम तिहार लागेसँगै सुन्दर भाइमसलाको प्याकेट खरिद गर्न कुनै लोभ गर्दैनन् । भाटभटेनीमा भेटिएकी सिर्जना शाक्य भन्छिन्- वर्षदिनमा आउने तिहारका लागि मूल्य कति पर्छ भन्दापनि आकर्षक मसलाको प्याकेट राेजाइमा परेकाे बताइन् ।

यता, हाल असन बजारमा तिहारको चहलपहल शुरु भइसकेको छ । पुरानो एवम् सम्पूर्ण उपभोक्ताको केन्द्रविन्दु रहेको न्यूरोड तथा असनका चोक चोकमा तिहार लक्षित सामाग्री किन्नेको भिड बढेको छ । तिहार बजार लागेसँगै भाइमसलाको बिक्री शुरु भएको असनका खुद्रा व्यापारी घनश्याम महर्जनले बताए ।

उनले भने-यस वर्ष मसलाको मूल्य नबढेको भन्दै पछिल्लो समय खुल्ला मसला किन्नेको संख्या पनि बढिरहेको हुँदा हाल आफ्नो पसलमा ५० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको प्याकेट रहेको जानकारी दिए ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यस वर्ष भाइ मसलाको मूल्य खासै नबढेको जानकारी दिए । सुकुमेल  र मखनकाे मूल्य भने बढेकाे छ । सुकुमेलकाे मूल्य गत आवकाे तुलनामा २५ सय रुपैयाँले बढेर ५५ सय रुपैयाँ  पुगेकाे छ ।

मखन प्रतिकेजी ११ सयबाट बढेर १२ सय ५० पुगेको छ । अन्य मसलाकाे भने खासै मूल्य बढेको छैन । उपभोक्ताहरु मूल्य तथा गुणस्तर प्रति सचेत रहेसँगै अघिल्ला वर्षमा बिक्री नभएका भाइ मसला बिक्री गर्ने प्रथा हराएको अध्यक्ष श्रेष्ठले बताए ।

नेपालमा पछिल्लो समय चाडपर्व मनाउने शैली नक्कल गर्ने मानिसको संख्या बढेको छ । सामाग्रीको मूल्यभन्दा पनि उपभोक्ताले हेर्दा आकर्षक एवंम गुणस्तरीय वस्तुप्रति ध्यान दिनु पर्छ, भन्ने कुरामा सजक भएर अगाडी बढ्दा राम्राे हुने उनले बताए ।

भाइ मसलामा प्रयोग हुने प्रमुख सामाग्रीको मूल्य

भाइ मसलाको प्याकेटमा प्रयोग हुने सामाग्री काजु प्रतिकेजी १५ सयदेखि १७ सय रुपैयाँसम्म बजार मूल्य रहेको छ । त्यस्तै अत्याधिक मात्रामा सबैले रुचाउने किसमिस प्रतिकेजी ५ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ रहेको छ । पेस्ता प्रतिकेजी १७ सय देखि १९ सय रुपैयाँ रहेको छ । दालचिनी प्रतिकेजी ५ सय रुपैयाँदेखि ५ सय ५० रुपैयाँ रहेको छ । ल्वाङ प्रतिकेजी १८ सय रुपैयाँ रहेको छ । सुपारीको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ रहेको छ । यस वर्षको तिहारमा करिब पौने अर्बको भाइ मसला विक्री हुने व्यवसायीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.