ताइवानी संस्थाद्वारा नेपाललाई दुई हजार थान ह्वीलचियर निःशुल्क वितरण

  २०७६ कार्तिक ५ गते १०:५९     विकासन्युज

काठमाडौं । ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पुर्याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् ।

प्रतिथान करिब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो ।

सो संस्थाले हाल नेपालमा ३० चिकित्सक तथा ९० स्वयंसेवकद्वारा सहयोग गर्दै आएको छ । ताइवानको चाओ झोँग झी फाउण्डेशन ताइपेइले गरेको कार्यक्रममा सात अशक्त व्यक्तिलाई प्रतिनिधिमूलक रुपमा ह्वीलचियर वितरण गरिएको हो ।

फाउण्डेशनका संस्थापक अध्यक्ष चाओ झोँग झीले आफ्नो संस्थाले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य सेवासहित अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गर्दै आएको जानकारी दिँदै नेपालजस्तो गरिब मुलुकका जनता ह्वीलचियरको अभावमा पीडा भोगिरहेकाले यसले केही भए पनि राहत पुग्ने बताएका छन् ।

उनले नेपाल र ताइवानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै फाउण्डेशनको सानो सहयोगबाट यो मैत्री जनस्तरमा थप विस्तार भएको बताए । ताइपेइ रोटरी क्लब ३५२३ का डिष्ट्रिक्ट गभर्नर जोयले नेपाल र ताइवानबीचको सहयोगको आदान–प्रदानबाट दुई मुलुकबीचको घनिष्ट सम्बन्ध बढेको समेत जानकारी दिएका छन् ।

रोटरी क्लब अफ नेपालका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ताइवानले नेपाललाई दिएको ह्वीलचियर सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसबाट हजारौँ लाभान्वित हुने बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.