सानिमा बैंकलाई राष्ट्र बैंकको निर्देशन- स्वार्थ बाँझिएका लगानीकर्ता र ऋणी सेयरधनीलाई लाभांश नदिनु

  २०७६ कार्तिक ४ गते १२:२५     विकासन्युज

काठमाडौं । सानिमा बैंकका स्वार्थ बाँझिएका लगानीकर्ता र ऋणी सेयरधनीले गत आर्थिक वर्षको लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार उक्त लगानीकर्ता तथा सेयरधनीले बैंकले वितरण गर्न लागेको २१ प्रतिशत लाभांश नपाउने भएका हुन् ।

राष्ट्र बैंकले कुनै पनि संस्थापक सेयरधनीको दुई वा सो भन्दा बढी बैंकमा एक प्रतिशतभन्दा धेरै लगानी भएका(स्वार्थ बाँझिएका) लगानीकर्तालाई गत आवको लाभांश रोक्न सानिमालाई निर्देशन दिएको हो ।

सानिमा बैंकले ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त दरका आधारमा बैंकले सेयरधनीलाई कूल एक अर्ब ६८ करोड रुपैयाँ बढी बराबरको लाभांश वितरण गर्ने भएको छ ।

‘कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको बढीमा एक प्रतिशतसम्म मात्र लगानी गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । उल्लेखित सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीहरु रहेमा ती संस्थापक सेयरधनीहरुलाई सो सीमाभित्र नल्याएसम्म प्रस्तावित लाभांश वितरण गर्न रोक्का गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले बैंकको चुक्ता पुँजीको २ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गरेका सञ्चालक र संस्थापक सेयरधनीलगायतले आफू संलग्न रहेको वित्तीय संस्थाबाट ऋण तथा अन्य सुविधा लिन नपाइने व्यवस्था छ ।

हाल सानिमा बैंकमा कूल ११ जना सेयरधनीहरुको २ प्रतिशत वा सो भन्दा बढी सेयर रहेको छ । सबैभन्दा बढी अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात ६३ लाख ५१ हजार कित्ता सेयर रहेको छ । त्यस्तै, टेकराज निरौलाको ५६ लाख ७३ हजार १२४ हजार कित्ता(७.०९ प्रतिशत) सेयर रहेको छ । निरज गोविन्द श्रेष्ठको ६.२२ प्रतिशत अर्थात ४९ लाख ७५ हजार ४५२ कित्ता, जिन नाथ लामिछानेको ४४ लाख २५ हजार ८८१ कित्ता(५.५३ प्रतिशत), विनयकुमार श्रेष्ठको ३७ लाख ४९ हजार ५७३ कित्ता(४.६९ प्रतिशत), घन श्याम थापाको ३४ लाख ३२ हजार ६२९ कित्ता(४.२८ प्रतिशत), अमला इन्भेष्टमेन्ट प्रा.लिको ३१ लाख ७६ हजार ९२० कित्ता(३.६० प्रतिशत), खेमराज लामिछानेको २८ लाख ७७ हजार २२४ कित्ता(३.६० प्रतिशत), कर्मचारी सञ्चयकोषको २७ लाख १८ हजार ८३५ कित्ता(३.४० प्रतिशत), जय गणेश इन्भेष्टमेन्ट प्रा.लि.को २१ लाख ७५ हजार ५४२ कित्ता(२.७२ प्रतिशत) र राम कृष्ण शाहको २० लाख २३ हजार ३०१ कित्ता(२.५३ प्रतिशत) सेयर रहेको छ ।

यी सेयरधनीहरु जो कोहीले सोही कम्पनीबाट ऋण लिएको पाइएमा बैंकले वितरण गर्न लागेको २१ प्रतिशत लाभांश पाउने छैनन् । साथै, ऋण लिँदा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले सो बैंकको स्वीकृति नलिई आफुले लिएको सेयर बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका संस्थापक सेयरधनीलाई लाभांश वितरण नगर्न राष्ट्र बैंकको निर्देशन छ ।

उक्त प्रस्तावित लाभांश पाउनको लागि उनीहरुले राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने वा सेयर धितो बन्धक राखेर लिएको कर्जा पूर्ण रुपमा चुक्ता गरी सेयर फुकुवा गर्नुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नभएसम्म सो सेयरधनीहरुलाई दिइने प्रस्तावित नगद लाभांश वा बोनस सेयर रोक्का राख्न सानिमालाई राष्ट्र बैंकको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.