गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको खानेपानी मन्त्री मगरले गरिन् निरीक्षण

  २०७६ कार्तिक ३ गते ९:५७     विकासन्युज


काठमाडौँ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छिन् । खानेपानी मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार स्थलगत निरीक्षण गरेकी हुन् ।

निरीक्षणपछि उनले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उहाँले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताइन् ।

उनले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपूर्ण नै बनेको बताइन् । उनले फोहरको व्यवस्थापकिय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाईने आश्वासन पनि दिइन् ।

नदी सफाइका लागि अब गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडिनेछ । बाँकी सबै काम आगामी डिसेम्बरसम्म सकेर उद्घाटन गर्ने लक्ष्य रहेको खानेपानी मन्त्री मगरले जानकारी दिइन् ।

बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भनिन,-‘पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसके पनि नुहाउनसक्ने बन्नेछ ।’ अहिले काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीकास्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ ।

ढललाई प्रशोधन केन्द्रसम्म पुर्याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र ३२० किलोवाट बिजुली निकाल्ने बताइएको छ ।

गुहेश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भा टेक वाबाग लिमिटेडले गरिररहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.