सीडीएससीको अर्को रमिता : कारोबार रोक्का भएको सबै शेयरको मूल्य १०० रुपैंया !

  २०७६ असोज २८ गते ९:३०     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कारोबार रोक्का भएका सबै शेयर स्क्रिपहरुको बजारमूल्य १०० रुपैंया कायम गर्ने व्यवस्था सुरु गरेको छ । मेरो शेयर एप्लिकेसनलाई परिमार्जन गरी सार्वजनिक गरेको सीडीएससीले मर्जर, एक्विजिसन वा अन्य कुनैपनि प्रकारबाट नियमित रुपमा कारोबार रोक्का भएका शेयरको मूल्य १०० रुपैंया कायम गर्ने व्यवस्था गरेको हो । सीडीएससीले नेपाल स्टक एक्सचेञ्जमार्फत् भएको अन्तिम कारोबार मूल्यलाई समेत १०० रुपैंया नै मानिदिने व्यवस्था गरेको छ जब कि नेप्सेले भने कारोबार भएको अन्तिम दिन अन्तिममा भएको कारोबारलाई नै त्यसको अन्तिम मूल्यको रुपमा देखाउँदै आएको छ ।

अहिले बजारमा ग्लोबल आईएमई बैंक, जनता बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक जस्ता बैंकहरुको शेयर कारोबार मर्जरका लागि रोक्का भएर बसेका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु भएपनि शेयर कारोबार अझै सुरु भएको छैन । ग्लोबल आईएमई बैंकको अन्तिम कारोबार २९५ रुपैंयामा भएको थियो । कारोबार बन्द हुँदाको अवस्थामा हुँदासम्म २१५ रुपैंयाको हाराहारीमा किनबेच हुँदै आएको थियो ।

गण्डकी विकास बैंकको अन्तिम कारोबार मूल्य २०१ रुपैंया रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । जुलाई ४ मा प्राइम बैंकसँग मर्जर सम्झौता गर्दाको दिनमा कैलाश विकास बैंकको शेयर बजारमा २३८ रुपैंयामा अन्तिम किनबेच भएको थियो । तर यस्ता फरकफरक मूल्य भएका स्क्रिपहरुलाई सीडीएससीले अव्यवहारिक रुपमा १०० रुपैंया मूल्य कायम गर्ने व्यवस्था गरेको हो ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता भने यो व्यवस्था म्यानुअल अनुसार गरेको भन्दै अन्तिम कारोबार १०० रुपैंया देखिनु प्राविधिक कमजोरी नभएको बताउँछन् । ‘तपाईँ म्यानुअल हेर्नुस्, कस्तो स्क्रिपको मूल्य कति कायम गर्ने भन्ने त्यहीँ देख्नुहुन्छ’ उनले भने ।

तर यो व्यवस्थाले लगानीकर्ताहरु भने आत्तिएका छन् । अघिल्लो दिनसम्म पोर्टफोलियोको एउटा क्याल्कुलेसन गरिरहेका शेयरधनीहरुलाई एक्कासी शेयरको पार्टफोलियो घट्दा उनीहरु आत्तिएका हुन् । ‘आफ्नो शेयर कति मूल्यको छ भनेर हेर्न र दैनिक रुपमा कति घट्यो, बढ्यो भनेर हेर्न मेरोशेयर लिएको, यस्तै हुने हो भने त के विश्वास भयो र ?’ एकजना लगानीकर्ताले भने । ती लगानीकर्ताकै प्रतिप्रश्न थियो, ‘भोलि २०००० रुपैंया मूल्य भएको युनिलिभरको कारोबार रोक्का होला, त्यो दिन युनिलिभरको १०० कित्ता शेयरको २० लाख हुनुपर्ने मूल्यलाई मेरो १० हजार रुपैंया मात्रै हो भनेर मान्ने ?’ बैंकबाट ऋण लिएर शेयर कारोबार गर्दै आएका उनी यही मूल्यांकनका आधारमा बैंकले मार्जिन कल गर्ने हो कि भन्ने त्रासमा छन् ।

नेपालको एकमात्र केन्द्रीय निक्षेप प्रणालीको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड पछिल्लो समय यस्तै प्राविधिक विषयवस्तुमै रुमल्लिएर बसेको छ । लगानीकर्ताको दैनिक व्यवहारसँग जोडिने सीडीएससीले कहिले भारित औसत लागत गणनाको नाममा तथा कहिले रोक्का भएको शेयरको मूल्य कायम गर्ने नाममा अव्यवहारिक निर्णयहरु गर्दै आएको छ । यस्ता गतिविधिले पुँजीबजारको विकासको क्षेत्रमा भएका विभिन्न प्रयासहरु छायाँमा पर्न थालेका छन् ।

मेरो शेयरमा देखिएको ग्लोबल आईएमई बैंक र गण्डकी विकास बैंकको शेयरमूल्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.