महँगाे दशैं

  २०७६ असोज १८ गते १९:१३     विकासन्युज

बडादशैं २०७६ तपाईँ हाम्रो घरआँगनमा आइसकेको छ । असोज १२ गते फूलपातिदेखि वडा दशैं शुरु भइसकेको छ । फूलपातिदेखि नवमीसम्मका नौ दिनलाई नौरथा भनिन्छ । यो नौ दिनमा देवीका विभिन्न रुपलाई विभिन्न नाम दिएर पूजा आरधना गरिन्छ र दशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका र जमरा ग्रहण गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । परापूर्वकालमा असत्य माथि सत्यको विजय भएको, दानव माथि देवताले जीत हासिल गरेको जस्ता किवदन्तीहरु रहेका छन् । परापूर्वकालमा जे जसरी विजयादशमी मनाउन थालिए पनि पछिल्लो समय हिन्दु धर्माबलम्बीहरुकोे महान चाडका रुपमा बडादशैंलाई मनाइदै आएको छ । नेपालमा हिन्दुहरुको जनसंख्या धेरै छ, त्यसकारण पनि यो पर्वलाई नेपालीहरुले महान् पर्वका रुपमा मनाउने गरेका छन् ।

अहिले विभिन्न कामको शिलशिलामा घर बाहिर रहेकाहरु दशैं मनाउन घरमा भेला हुन थालेका छन् । देशभित्रै रहेका परिवारका सदस्यहरु घर फिर्ने क्रम जारी छ । बैदेशिक रोजगारीको शिलशिलामा रहेकाहरु पनि महान् चाड बडादशैं मनाउन घर आएका छन् । बसपार्क र विमानस्थलहरुमा बडादशैं मान्न घर जानेहरुको भीड देख्न सकिन्छ । एकैपटक धेरै मानिसहरु चाडपर्व मान्न घर जाने हुँदा गाडी र हवाई टिकटको अभाव हुने गर्छ । सामान्य अवस्थामा हुने भाडा भन्दा यो समयमा बढी भाडा लिएर कालोबजारी पनि हुने गरेको छ । अरु बेलाको भन्दा दोब्बर बढी गाडी भाडा तिर्नु पर्ने बाध्यात्मक अवस्था समेत सिर्जना हुने गरेका छन् ।

यसरी यातायातका क्षेत्रमा हुने गरेको अबैध धन्दा रोक्न राज्यले निगरानी गरिरहेको बताए पनि यात्रु ठगिनेक्रम भने उस्तै देखिन्छ । यसपटक खाद्यान्य र तरकारीको मूल्य पनि आकाशिएको छ । खसीबोका र च्याङ्ग्राको भाउ पनि बढेको छ । भारतबाट आउने प्याजको आयात बन्द हुँदा बजार भाउ आकाशिएको छ र यसपटकको दशैंको भान्सा प्याजरहित हुने संभावना छ । प्याज पाइएपनि धेरै मूल्य तिर्नु पर्ने अवस्था छ । दशैं पर्वमा नयाँ लुगा लगाउने, मीठा मीठा परिकारहरु खाने प्रचलन छ ।

त्यसकारण यो पर्व मनाउने नेपालीहरुलाई यस समयमा धेरै नै आर्थिक ब्ययभार पर्ने गर्छ । दुर्गा पूजा गर्ने र विजयादशमीका दिन मान्यजनहरुबाट निधारमा टीका र कानमा जमरासहित आशिष ग्रहण गरिन्छ । बडादशैंमा मान्यजनहरुबाट टीका, जमरा र आशिष ग्रहणसँग विभिन्न शिलशिलामा घरबाट टाढा रहेका आफन्तहरु भेला हुने र रमाइलो गर्ने अवसरका रुपमा समेत लिइन्छ ।

यो दशैं पर्वले हुने खाने भन्दा पनि हुँदा खानेहरुलाई समस्यामा पनि पार्ने गरेको छ । दशैंमा आफ्नै घरमा खसी काट्नै पर्ने, छोराछोरीहरुलाई नयाँ कपडा किनिदिनै पर्ने र समाज अनुसार चल्नु पर्ने नाममा ठूलाबडाको देखासिकी गर्दा हुँदा खानेहरुले आर्थिक ब्ययभार निकै बोक्नु पर्ने हुन्छ । तर, वर्षको एक पटक मनाइने महान् पर्वलाई हाँसीखुशी गरेर मनाउने पर्वका रुपमा मनाउनु पर्छ । अर्काको देखासिकी गरेर भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउँदा धेरै आर्थिक ब्ययभार बोक्नु पर्दैन । ‘घाँटी हेरी हाड निलौं’ भन्ने कुरालाई मनन् गर्दै आफ्नो हैसियत र क्षमता अनुसार पर्वलाई मनाउन सकियो भने पर्व मनाउँदाको आर्थिक ब्ययभारले लामो समयसम्म पिरोल्ने छैन ।

पछिल्लो समय बडादशैंमा हुने छुट्टीको अवसरलाई विभिन्न पर्यटकीय र धार्मिक क्षेत्रहरु घुमफिर गर्ने परिपाटी शुरु भएको छ । कत्तिले यो छुट्टीमा राम्रा किताबहरु पढेर, राम्रो सिनेमाहरु हेरेर दशैं बिदालाई सदुपयोग गर्ने गर्छन् । वर्षभरी विभिन्न काममा व्यस्त रहनेहरुले दशैं पर्व हर्षोल्लासका साथ मनाएर आफूलाई पुर्नताजगी बनाउने अवसरका रुपमा समेत लिन्छन् । बडादशैंको यो माहौलमा हामी पनि भन्छौँ, हर्षोल्लासमय वातावरणमा दशैं मनाउनु होला । यो समयमा कसैलाई दुःखद् घटनाले नपिरोलोस् हामी कामना गर्छौँ । अन्त्यमा विकासन्युज परिवारकाे तर्फबाट सम्पूर्ण पाठक, विज्ञापन दाता, शुभेच्छुकसहित सम्पूर्ण नेपालीहरुमा बडादशैं २०७६ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ । बडादशैं सबैका लागि शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.