आगलागीबाट ३२ पसल नष्ट, एक जनाले साढे ३१ लाख क्षतिपूर्ति पाउँदा अरुको हात खाली

  २०७६ असोज ४ गते १४:१२     विकासन्युज

पोखरा । गत साउन २८ गते पोखराको नयाँ सडकस्थिति मिनि मार्केट कम्प्लेक्समा आगलागी भयो । ३० वटा पसल र २ वटा कार्यालय आगलागीबाट ध्वास्त भयो । करोडौ रुपैयाँ बराबरको धनमाल छिनझरमा नै खरानी भयो ।

घट्नाको एक महिनापछि अर्थात भदौ ४ गते अर्थमन्त्री युवराज खतिवडा, पोखरामहानगर पालिकाका नगर प्रमुख मानबहादुर जीसी, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत महत्वपूर्ण व्यक्तिहरुको माझ पीडित मध्ये एक लिलाधर ढुंगानालाई ३१ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरियो ।

शुभ यूनिक होम डेकोरेशनका मालिक ढुंगानाले साढे ३१ लाख रुपैयाँ क्षतिपूर्ति पाउँदा अरु ३१ पसलको मालिकहरुको हात खाली भयो ।
ढुंगाना जस्तै अरु धेरै व्यवसायीहरुले त्यस मिनि मार्केटमा करोडौ रुपैयाँ लगानी गरेर व्यापार गर्दै आएका थिए । उनीहरु सबैको लगानी आगलागीबाट खरानी भएको थियो । बाँकी ३१ सटर तथा अफिसका सञ्चालकहरुले एक रुपैयाँ पनि क्षतिपूर्ति पाएनन् ।

यहाँ अर्थमन्त्री वा मेयरले विभेद गरेका होइनन् । बीमा र जोखिम व्यवस्थापन सम्बन्धि ज्ञान नभएका व्यवसायीहरुले क्षतिपूर्ति पाएनन् । शुभ यूनिक होम डेकोरेशन, जसले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ५ हजार ७७५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गरेको थियो, उसलाई बीमा कम्पनीले ३१ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको हो । अरुले बीमा नगर्दा क्षतिपूर्ति पाउन सकेनन् ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेशभक्त बादे श्रेष्ठले आगलागीबाट भएको धनमालको क्षतिपूर्ति दुःख व्यक्त गर्दै बीमित लिलाधर ढुंगानालाई निजको पसलमा भएको क्षतिको बीमा दावी भुक्तानी गर्न पाएकोमा खुशी व्यक्त गरे । बीमा गर्दा र नगर्दा जोखिम कति कम वा धेरै हुन्छ भन्ने बुझ्नको लागि यो घट्ना उदाहरण भएको उनले बताए ।

ढुंगानाले एनसीसी बैंकबाट कर्जा लिला पसलको बीमा गराएका थिए । अझै पनि बैंकबाट कर्जा लिँदा मात्र बीमा गर्ने, स्वपुँजी लगानीबाट हुने क्षतिको बीमा नगर्ने संस्कार रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.