कम्पनी रजिष्ट्रार कार्यालय अझै गएन अनलाइन प्रणालीमा, कम्पनी दर्ता गर्न ५ दिनसम्म लाग्ने

  २०७६ असोज ३ गते १८:०४     राजाराम न्यौपाने

काठमाडौं । सरकारले सबै सरकारी कार्यालयहरुलाई आधुनिक र प्रविधिमैत्री बनाएर सञ्चालन गर्ने भनेपनि पूर्ण कार्यान्वयनमा आएको छैन । आधुनिक र प्रविधिमैत्री हुन नसकेको एउटा कार्यालय हो कम्पनी रजिष्ट्रार कार्यालय । कार्यालयले चालु आर्थिक वर्षको सुरुवातदेखि नै अनलाइन प्रणालीमा जाने घोषणा गरेको थियो । तर, अझै पनि अनलाइन प्रणालीमा जाने चासो देखाइएको छैन ।

अनलाइन प्रणाली र डिजिटल सिग्नेचरको कार्यविधि बनाएर उद्योग मन्त्रालय पठाएको करिब १ महिना मात्रै भएको छ ।
कार्यालयले मन्त्रालयलाई पठाएको कार्यविधि स्वीकृत भएर आइसकेको छैन ।

प्रविधिको अभावमा कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्न २ देखि ५ दिन लाग्ने गरेको छ । यस सम्बन्धमा उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले कम्पनी रजिष्ट्रार कार्यालयले पठाएको कार्यबिधिको अध्ययन भइरहेको र केही समयमा नै पास भएर जाने जानकारी दिए ।

कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दहालले डिजिटल सिग्नेचरको कारणले अनलाइन प्रणालीमा जान ढिलो भएको बताए । अहिले कम्पनी दर्ता गर्दा हार्ड कपि बोकेर आउनु पर्नेछ । कार्यालयमा कर्मचारी कम भएको कारणले नै कम्पनी दर्ता गर्न २-४ दिन लागेको हो । मन्त्रालयबाट कार्यबिधि पास भएर आएपछि घरबाट नै कम्पनी दर्ता र प्रमाण पत्र लिन सकिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा धरानबाट कम्पनी दर्ता गर्न आएका निरज सिग्देलले कम्पनी दर्ता गर्न आएको ३ दिन भएपनि अझै कम्पनी दर्ता नभएको बताए । कम्पनी दर्ता अनलाइनबाट नै हुने हो भने सबैलाई सजिलो हुने उनले बताए । उनले भने–‘समयको र पैसा दुबै बचत हुने थियो ।’

अनलाइन प्रणालीको काम के हुँदैछ ?
अहिले नयाँ कम्पनी दर्ता गर्दा अनलाइनबाट नै डकुमेन्ट अपलोड भइहरको छ । तर, अपलोड गरेर मात्रै हुँदैन । त्यसको हार्ड कपि पनि लिएर आउनु पर्नेछ । कम्पनी रजिष्ट्रार कार्यालयले सबै कागपत्रहरु अनलाइनबाट अपलोड गर्नु पर्ने व्यवस्था गरेका छ । कम्पनीहरुको आर्थिक कारोबार पनि अनलाइनबाट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.