पर्यटन प्रबद्र्धनका लागि सातै प्रदेशमा बजेट विनियोजन, यसरी हुँदैछ भ्रमण वर्षको तयारी

  २०७६ असोज १ गते १४:५२     सन्तोष रोकाया


काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल पर्यटन बोर्डले एक अर्ब ६३ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम गत आर्थिक वर्षको भन्दा न्यून देखिएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा बोर्डले एक अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बजेट बिनियोजन गरेकोमा यो आवमा १२ करोड रुपैयाँ कम विनियोजन गरेको हो ।

बोर्डले चालु आर्थिक वर्षमा नेपाल भ्रमण वर्षलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको बताउँदै बोर्डका निर्देशक आदित्य बरालले पर्यटन बजार प्रवद्र्धन तथा व्यवस्थापन, जनसम्पर्क तथा प्रचार प्रसार र अनुसन्धान तथा अनुगमन लगायत शिर्षकमा बजेट विनियोजन गरिएको उनले बताए ।

पर्यटन बोर्डले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाली मुलुक कम्बोडिया, म्यान्मार,थाइल्याण्ड,इण्डोनेसिया लगायतका गन्तब्यहरुमा बजारीकरण र प्रचार प्रसार गर्ने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । बोर्डले भ्रमण वर्षका लागि १० करोड रुपैयाँ छुट्याएको जनाएको छ ।

बरालका अनुसार पर्यटन बोर्डको सञ्चालक बोर्डबाट पर्यटकीय गन्तब्यको प्रचार तथा प्रसारका लागि गरिने विज्ञापनका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको बताए । विज्ञापनका लाागि छुट्याइएको रकमले अन्तर्राष्ट्रिय रुपमा व्यापक प्रचार प्रसार गर्ने जनाइएको छ ।

विभिन्न शहरहरुमा चल्ने बसहरुमा नेपालको पोस्टर टाँसी पर्यटन प्रर्वद्धन गर्ने कार्यक्रमलाई समेत बजेटले निरन्तरता दिइएको छ । छिमेकी राष्ट्र भारत र चीनका सञ्चार माध्यममा विज्ञापन गरी नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिने पर्यटन बोर्डले जनाएको छ ।

‘वल्र्ड ट्रेल नेटवर्क’ नेपालमा
पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धन र प्रचार प्रसारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । बोर्डले सन् २०२० मा ‘वल्र्ड ट्रेल नेटवर्क’ र वल्र्ड इको टुरिजम कन्क्लेभ’ नेपालमा आयोजना हुने जनाइएको छ । त्यसका साथसाथै देशभरका धामी झाँक्रीलाई काठमाडौंमा बोलाएर मिथिला फेस्टिभल आयोजना गर्ने बजेटमा उल्लेख गरिएको छ । धामी झाँक्रीका नाच प्रर्दशनी गर्नुका साथै त्यससँग सम्बन्धित विभिन्न कलाहरुपनि देखाइने छ । भ्रमण वर्षको अवधिमा पर्यटनसँग सम्वन्धित कार्यक्रमहरु आयोजना गरिने छ ।

बोर्डले चालु आवको बजेट मार्फत तीन वटा पर्यटकीय गन्तव्य सम्भाव्यता अध्ययनको लागि पनि काम गर्ने जनाइएको छ । तीन वटा पर्यटकीय गन्तब्यहरुमा इलामको चिया बगान, चितवन राष्ट्रिय निकुञ्ज भित्र गरिने पर्यटकीय क्रियाकलाप र स्की खेलको पनि सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधारहरुको निर्माण गर्ने जनाइएको छ ।

चालु आवको बजेटले भैरहवा विमानस्थलको निर्माण चाँडै नै सम्पन्न गरेर बुद्ध धर्मावम्बीहरुलाई उक्त विमानस्थलबाट भित्र्याउने योजना बनाएको छ । विमानस्थललाई सन् २०२० को शुरुमै सञ्चालनमै ल्याउने सरकारको लक्ष्य रहेको छ । यो विमानस्थलले नेपाल भ्रमण वर्ष २०२० लाई महत्वपूर्ण सहयोग गर्ने विश्वास लिइएको छ । वल्र्ड टुरिजम डे, सगरमाथा डे र वल्र्ड जेरिटेज डे लाई विशेष महत्वका साथ आयोजना गर्ने गरिने जनाइएको छ ।

विभिन्न ठाउँमा मिनी मार्ट
नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा उल्लेख भए अनुसार बोर्डले उपत्यका भन्दा बाहिरका मिनी मार्ट सञ्चालन गर्ने छ ।

बोर्डका निर्देशक बरालले उत्कृष्ट पर्यटकीय गन्तब्यहरुको पहिचान गरी विदेशी पर्यटन व्यवसायी तथा विज्ञ, अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरु बोलाएर मार्ट सञ्चालन गर्ने बताए । पोखरा एडभेन्चर टुरिजम मार्ट, पूर्वमा इष्ट ट्राभल मार्ट र पश्चिममा वेष्ट ट्राभल मार्ट सञ्चालन गर्ने बताइएको हो । यसले पनि नेपालको पर्यटन प्रर्वद्धन र प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निर्देशक बरालले सातै प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि डेढ÷डेढ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेश सरकारसँगको साझेदारी र सहकार्यमा बजेट ल्याएको बताउँदै उनले पर्यटक भित्र्याउन र सरकारले छनोट गरेका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसारका लागि अभ्यास थालिएको बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.