२ लाखभन्दा बढीको भुक्तानी अब कसरी गर्ने ? पठाएको ५ मिनेटदेखि आधा घण्टासम्ममा यसरी पाइन्छ पैसा

  २०७६ भदौ २९ गते १३:३८     विकासन्युज

काठमाडौं । ठूला भुक्तानीहरुलाई छिटो र सजिलो बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) सिस्टम औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । प्राविधिक रुपमा गत मंगलबारदेखि नै कार्यान्वयनमा आएको उक्त प्रणालीसँगै ठूला कारोबारहरुको भुक्तानीमा नेपाल नयाँ युगमा प्रवेश गरेको समेत राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले यो प्रणाली वित्तीय प्रणालीको रक्तसञ्चारको रुपमा रहेको भुक्तानी प्रणालीको आधुनिकीकरणतर्फको एउटा महत्वपूर्ण खुड्किलो भएको बताए । नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनाअन्तर्गत उक्त प्रणालीको सुरुवात गरिएको समेत उनले जानकारी दिए ।

कसरी चल्छ आरटीजीएस प्रणाली ?

यो प्रणालीले खाताबाट पैसा तान्ने (पुल) सिस्टमलाई प्रतिस्थापन गरी खातामा पैसा पठाउने (धकेल्ने) प्रणालीको सुरुवात गरेको छ । अहिले कुनैपनि चेक जारी हुँदा चेक बाहकले आफ्नो खातामा उक्त चेक जम्मा गथ्र्यो, चेक जम्मा भएको बैंकले सो चेक बराबरको रकम अर्को बैंकसँग माग गथ्र्यो । तर, अब भने पैसा पठाउनेले नै आफ्नो बैंकमा गई अर्को बैंकको अर्को ग्राहकको खातामा रकम पठाउनु पर्नेछ । यसो गर्दा चेक चोरी भएर वा अन्य कारणले हुने ठगी हुनै नसक्ने समेत कार्यकारी निर्देशक मिश्रले बताए ।

कुनै ग्राहकले कसैलाई यदि भुक्तानी दिनु छ र सो भुक्तानीको रकम २ लाख भन्दा बढी छ भने आफ्नो बैंकमा गएर वा नगईकनै बैंकलाई सम्बन्धित खातामा पैसा पठाउने आदेश दिन सक्छ । बैंकमा जाने वा नजाने व्यवस्था भने बैंक आफैंले गराउन सक्छ । बैंकले त्यस्तो आदेश प्राप्त गरेसँगै उसले आफ्नो सिस्टममा त्यो आदेश इन्ट्री गरिदिन्छ, त्यसको आधा घण्टाभित्र सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा ट्रान्सफर हुन्छ । त्यस्तो राफसाफ ५ मिनेटभित्रै पनि हुनसक्छ तर सिस्टममा भएको कारोबारको संख्याले समय निर्धारण गरेकोले हाललाई त्यो समय बढीमा आधा घण्टा भनिएको समेत मिश्रले जानकारी दिए । त्यसैले यो सिस्टमको नाम नै रियल टाइम ग्रस सेटलमेन्ट भएको हो ।

लागत कम

यो प्रणालीको सबैभन्दा महत्वपूर्ण फाइदा भनेकै कम लागत निकै कम हुनु हो । अहिले चेक डिपोजिट, कलेक्सन, क्लियरिङ लगायतका काम गर्न बैंकलाई निकै समय लाग्ने गथ्र्यो, अब भने बैंकको एउटा स्टाफले इन्ट्री गर्नेबित्तिकै भुक्तानीको सबै प्रक्रिया सकिन्छ, यसबाट बैंकले आफ्नो सञ्चालन खर्च कम गर्न सक्नेछन् ।

त्यस्तै, कुनै चेकबाहकले पाएको चेकको रकम यसअघि खातामा आउन १ दिन कुर्नुपथ्र्यो, भोलिपल्ट सार्वजनिक बिदा, शनिबार लगाउत बिदाको दिन पर्यो भने झन् यो समय बढी लाग्थ्यो तर अब त्यस्तो हुँदैन, यसले गर्दा भुक्तानी प्रणाली सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.