प्रतीक्षाका दुई दशकः मेलम्चीको पानी, उपत्यकावासीले कहिले खाने ?

  २०७६ भदौ ६ गते १०:३४      सन्तोष रोकाया


काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य कहिले पूरा हुन्छ र काठमाडौँ उपत्यकावासीले कहिले मेलम्चीको पानी खान पाउँछन् भन्ने कुनै टुंगो छैन । करीब २० वर्षदेखि मेलम्चीको पानीको पर्खाइमा रहेका उपत्यकावासीको तिर्खा कहिले मेटिन्छ कसैले बताउन सक्ने अवस्था छैन । किनकी पटक पटक मेलम्ची निर्माण सम्पन्न हुने मिति सर्दै सर्दै गएको छ ।

पछिल्लो पटक दु्रत गतिमा काम गरिरहेको इटालिएन सिएमसी डि रेभेन्नाले काम अधुरै छोडेर गएपछि छिट्टै मेलम्चीको पानी खाने सपना साकार हुन सकेन । देशका प्रधानमन्त्री र मन्त्रीहरु पटक पटक भाषणमा छिट्टै पानी खुवाउने मिति तोक्छन् । नयाँवर्षमा, दशैँ पर्वमा मेलम्चीको पानी खुवाउने बताइरहन्छन्, तर ती कुरा हालसम्म भाषणमै सीमित भइरहेको छ ।

हुन त पछिल्लो पटक मेलम्चीको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिने तय भएको छ र आगामी दशैँ अघिबाट नै निर्माण शुरु हुने भनिएको छ । तरपनि निर्माण कार्य पूरा कहिले हुन्छ भन्ने अझै भन्न सकिदैन । आर्थिक वर्ष २०५८/०५९ देखि भौतिक कार्य शुरु भएको आयोजनाको निर्माण कार्य विभिन्न समयमा सम्पन्न हुन्छ भनिएपनि झण्डै दुई दशक पुग्दा समेत पानी कहिले आउँछ भन्ने अन्यौलता कायमै रहेको हो ।

निर्माण कार्य शुरु भएदेखि पाँच वर्ष अर्थात आर्थिक वर्ष २०६४/०६५ मा पहिलो फेजमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउने भनिए अहिलेसम्म टुङ्गो छैन । आयोजना अन्तर्गतको मुख्य निर्माण कार्य सुरुङ निर्माणको अवधि लम्बिदै गएको कारण आयोजनाको काम सम्पन्न हुने समय संशोधित भई क्रमशः आव २०६८/०६९, आव २०७०/०७१, २०७२/०७३ र अन्तिममा आव २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य लिइएपनि त्यो सम्भव हुन सकेन ।

यसरी मेलम्चीको पानी काठमाडौं ल्याउने आश्वासनहरु बेलावखत हुँदै आएपनि पानी आउने समय तोक्न सकिने अवस्था नरहेको विकास मेलम्ची खानेपानी आयोजनका अधिकारी बताउँछन् । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले इटालिएन ठेकेदारले राम्रै काम गरेका कारण छिट्टै सकिन्छ भन्ने अनुमान थियो, तर त्यसले छोडेर गएपछि अब कहिले निर्माण सम्पन्न हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए ।

उनले भने,–‘मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने लगभग निश्चित भएको छ, उसको काम गर्ने जनशक्ति, निर्माण सामाग्रीहरु हेरेर मात्र कति दिन समय लाग्छ भन्ने आँकलन गर्न सकिने छ ।’ समयमै काम शुरु गरे १५ महिना भित्र काम सम्पन्न हुन सक्ने उनले बताए । एक वर्ष सुरुङ निर्माण र ६ महिना बाँध बाध्न समय लाग्ने उनले बताए ।

९५ प्रतिशत काम सम्पन्न
मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको हाल सम्मको भौतिक प्रगति ९५.१२ प्रतिशत छ भने वित्तीय प्रगति ९३.४८ प्रतिशत रहेको जनाइएको छ । सूचना अधिकारी पन्तका अनुसार २७. ५८ मिलोमिटर सुरुङ निर्माण गर्नु पर्नेमा हालसम्म खन्ने काम सबै सकाएर २५ किमी भुँई ढलान पनि भइसकेको छ । उनले प्रारम्भिक सपोर्ट लगाउने, पानी बग्ने ठाउँमा ८ सय मिटर ढलान गर्न बाँकी र २ किमि फाइनल सपोर्ट लगाउन बाँकी रहेको बताए । यस्तै नदीमा बाँध बाँध्ने काम पनि बाँकी रहेको उनले बताए ।

यस्तै, मेलम्ची खानेपानी आयोजना उप–आयोजना १ अन्तर्गत विगतमा सम्पन्न भएका कामहरुमा १७ किमि प्रवेशमार्ग निर्माण, हेडवक्र्स पहुँचमार्ग, अम्बाथान अडिट पहुँचमार्ग, सिन्धु अडिट पहुँचमार्ग, ग्याल्थुम अडिट पहुँचमार्ग, सुन्दरीजल अडिट पहुँचमार्ग निर्माण पहिले नै सम्पन्न भइसकेका छन् ।

यस्तै उपआयोजना १ अन्र्तगत दोस्रो चरणका कामहरुमा तेस्रो चौमासिक लक्ष्य तथा प्रगति अन्र्तगत पानी प्रशोधन केन्द्र निर्माण भाग २ को २० प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेकोमा १८ प्रतिशत काम भएको जनाएको छ । आयोजनाको डीपीआर र मुआब्जा वितरणको काम पनि सम्पन्न भएको छ । आयोजना उपआयोजना १ अन्तर्गतको गत आर्थिक वर्षमा ७४.४६ प्रतिशत भौतिक प्रगति र ४१.३८ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।

हाल सम्मको खर्च कति ?
मेलम्ची खानेपानी आयोजनामा एसियाली विकास बैंकको ऋण लगानी र नेपाल सरकारको योगदान रहेको छ । खानेपानी आयोजनाको उप आयोजना १ अन्तर्गत हालसम्मको ३१ अर्ब २९ करोड बजेटको २७ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको पन्तले बताए । उपआयोजना अन्तर्गत शुरुमा कुल लागत २४९.४० मिलियन अमेरिकन डलर रहेकोमा सुरुङ निर्माण कार्यको लागि पुनः ठेक्का लगाउँदा लागत बृद्धि हुन गएकोले नेपाल सरकारबाट १३.०८ र एडिविबाट २५ मिलियन अमेरिकी डलर ऋण सम्झौता भएको बताइएको छ ।

यस्तै सन् २०१५ मा पानी प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि गरि दैनिक प्रशोधन क्षमता १७ करोड पुर्याउन एडिबिबाट १७.४ र नेपाल सरकारबाट ८.१ मिलियन रकम हुन गएको जनाइएको छ । गत आर्थिक वर्षमा उपआयोजना १ को जिम्मा पाएको मेलम्ची खानेपानी विकास समितिले बाट ५ अर्ब ९१ करोड बजेटमा रुपैयाँमा २ अर्ब ४४ करोड खर्च गरेको जनाएको छ । यस्तै अब निर्माण कार्य गर्ने चिनियाँ कम्पनी हाइड्रोले १ करोड ६५ करोड रुपैयाँको बाँकी रहेको बाँध निर्माण र सुरुङ फिनिसिङको काम गर्ने जनाइएको छ ।

मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ को कार्यान्वयनको जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशनालयले पनि मेलम्चीकै आयोजनाका लागि पाएको रकमबाट हाल सम्म ३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । विभिन्न आयोजनाहरु अन्तर्गत रहेर उपआयोजना २ अन्तर्गत रहेको यस निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत १५ अर्ब ६१ करोड खर्च गरेको छ भने काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत ४ अर्ब ४७ करोड खर्च गरेको छ । यस निर्देशनायले हालसम्म कुल २३ अर्ब २१ करोड खर्च गरेको जनाएको छ । गत आर्थिक वर्षमा २ करोड ६७ करोड रकम फच्र्छौट भएको प्रगति विवरणमा उल्लेख गरेको छ ।

७० हजार धारा जडान
मेलम्ची खानेपानी आयोजनाको उपआयोजना २ को जिम्मा पाएको आयोजना निर्देशनालय कार्यालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ७० हजार धाराहरु जडान तथा निर्माण गरिएका छन् । ८५ हजारसम्म धाराहरु जडान गर्ने बताएको निर्देशनालयले ८ सय ८० किलोमिटर पाइपलाइन पनि बिछ्याई सकेको बताएको छ ।

उसले कुल एक हजार १२ किमि पाइप लाइन विस्तार गर्नु पर्नेछ । १० वटा टयाङ्कीहरु निर्माण गर्ने जिम्मा पाएको निर्देशनालयले हालसम्म ९ वटाको काम सम्पन्न गरी सकेको छ । यस्तै, चार ठाउँमा फोहोर प्रशोधन केन्द्र पनि निर्माण भइरहेका छन् ।

आयोजना निर्माणमा ढिलाई हुनुका कारण यस्ता छन्
मेलम्ची खानेपानी आयोजनाले विभिन्न कारणले निर्माण कार्यमा ढिलाई हुन गएको बताएको छ । पहिले भुकम्पले क्षती पुर्याएका ठाउँहरुमा पुर्ननिर्माण गर्नु पर्ने, भारतको नाकाबन्दी, ठेकेदारहरुले समयमै काम नगरिदनाले र निर्माण सामाग्रीको अभावका कारणले काममा ढिलाई भएको बताएको हो । त्यसका अतिरिक्त निर्माण व्यवसायी साईट छोडि गएकोले पुसदेखि सुरुङको काम अवरुद्ध भएकोले काम ढिला भएको हो ।

त्यस्तै दोस्रो चरणका लागि आवश्यक जग्गा प्राप्ती वापत मुआव्जा वर्षको अन्तमा मात्र निर्धारण भएकोले, स्थानीयबाट मोटरबाटो, सिँचाई, खानेपानी मर्मत सुधारका लागि अत्याधिक माग, कतिपय सडकमा समस्या, विद्युतीय पोलको अवरुद्ध लगायतका समस्याहरुले पनि आयोजना निर्माणमा समस्या भएको कारण काम ढिला हुन गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.