हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते

  २०७६ भदौ १ गते १९:२७     विकासन्युज

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा हाइब्रिड कारमा भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्यो । नयाँ नियम अनुसार हाल नेपाल आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजस्व ६१ प्रतिशतले कम हुने व्यवसायीहरु बताउँछन् ।

चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क (इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुनेछ,’ उल्लेख गरिएको छ । यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ ।

उक्त छुटको विषयलाई लिएर व्यवसायीहरु दुई भागमा विभाजित भएका छन् । एक थरी व्यवसायीहरु उक्त छुट ठिक भएकोले कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा छन् भने अर्काथरी व्यवसायी उक्त व्यवस्था गलत भएको भन्दै त्यसको विरोधमा देखिएका छन् ।

हाइब्रिड कारको परिभाषा स्पष्ट नभएकोले यस विषयमा विवाद भएको नाडा अटोमोवाईल्स एसोशिएशन नेपालका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए । हाइब्रिड कारमा कति प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने र कति प्रतिशत पेट्रोल वा डिजेल प्रयोग हुने भन्ने विषय विवादमा रहेको उनले बताए ।

केही हाइव्रिड कारमा १० प्रतिशतभन्दा कम नविकरणीय उर्जा प्रयोग हुने र ९० प्रतिशतभन्दा बढी पेट्रोल/डिजेल प्रयोग हुने भएकोले यस्तामा ६१ प्रतिशतसम्म कर छुट दिँदा देशलाई कतै पनि लाभ नहुने एकथरी व्यवसायीहरुको तर्क छ ।

तर ४६ प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने हाइब्रिड कार आयात गर्दा पनि सरकारले दिएको कर छुट सुविधा नपाएको नाडाका कार्यकारिणी सदस्य करण चौधरी बताउँछन् । ‘हाइबिीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्थाको कार्यान्वयन भएको छैन । यो व्यवस्था लागू हुने हो भने उपभोक्तालाई लाभ हुने थियो’ उनले भने ।

हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । ‘यस विषयमा छलफल भइरहेको छ,’ उनले भने ‘नविकरणीय ऊर्जा र इन्धन खपत हेरेर कर छुट दिइन्छ ।’ कस्तो खालको हाइब्रिड गाडीमा कति प्रतिशत छुट दिने अर्थात कति प्रतिशत नविकरणीय ऊर्जा उपयोग हुनेले कति छुट पाउने विषयमा अहिले निर्णय नभएको उनले बताए । ‘उनले भने यस विषयमा निर्णय हुन वाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.