१३ वर्षीय रिम्पुको आत्मविश्वासले भन्छ, ‘मैले त क्यान्सरलाई जितेँ, तपाई पनि जित्न सक्नुहुन्छ’

  २०७६ साउन २० गते १३:४४     डोमी शेर्पा

काठमाडौं। ‘साथीहरु खेलिरहेको समयमा म भने अस्पतालको शैयामा छ्ट्पटाउँदै थिएँ । विद्यालय जाने र साथीहरुसँगै रमाउने उमेरमा मलाई भने केनुलाको पीडाले असह्य हुन्थ्यो । मलाई साथीहरुसँगै विद्यालय जाने र रमाइलो गर्ने रहर कहाँ नभएको हो र ? तर अस्पतालको शैयामा पल्टिरहन म विवश थिएँ ।’

१३ वर्षका रिम्पु योल्मोले शनिबार सानेपा स्थित हेरिटेज गार्डनमा भएको यस्ता मार्मिक अभिव्यक्ति दिइरहँदा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए । ‘सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प शो’ उनले व्यक्त गरेका वाक्यहरुले कार्यक्रममा सहभागीहरु भावविभोर भएको उनीहरुको मलिन मुहारले प्रष्ट पार्थ्यो । ११ वर्षको उमेरमै यति ठूलो रोगसँग सामना गर्नुपरेको अनुभव र संघर्षहरु सुनाउँदै रिम्पुले क्यान्सर रोगबाट बच्न र अपनाउनु पर्ने प्रेरणात्मक उपायहरु पनि जानकारी गराए ।

स्थायी घर कास्कीको पोखरा भएका रिम्पु हाल गोंगबुमा आफ्ना मामाको घरमा बस्दै आएका छन् । बुवा नोर्बु योल्मो र आमा रमना थापा योल्मोको कान्छा छोरा हुन् रिम्पु, उनका दुई दिदी छन् । रिम्पुको बालापन साथीहरुसँगै हाँस्दै खेल्दै बितिरहेको थियो। पोखराको रामबजारमा बस्दै आईरहेका रिम्पु एकदिन सामान्य बिरामी परे । उनको खुट्टामा उनले केही फरक अनुभुती गरे । खुट्टामा निलो डाम र गाँठो देखिने थाल्यो र उनलाई बिस्तारै दुखाई अनुभव हुन थाल्यो । उनले बुवालाई आफ्नो समस्या बताए र विद्यालयमा एक दिन बिदा लिएर उनका बुवा नोर्बु योल्मोले उनलाई चिनजानका बाल बिशेषज्ञ डा. नवराज सुवेदीसँग सिबिसी र टिडीएस टेस्ट गराए ।

डाक्टरले रिम्पुलाई तुरुन्त काठमाडौंको कान्ती बाल अस्पताल लैजान सुझाव दिए । त्यसलगत्तै रिम्पुलाई उनका बुबाले काठमाडौं ल्याएर सबै चेकजाँच गरे र रिपोर्ट आएपछि रिम्पु र उनको परिवारलाई भावविह्वल बनायो । रिपोर्टमा रिम्पुलाई ब्ल्ड क्यान्सर भएको देखायो । रिम्पु आफ्ना बुबाआमासँगै कति दिनरात रोएर बिताए ।

११ वर्षका छोरालाई यस्तो अवस्थामा देख्नु पर्दा परिवारमा ठूलै आँधी आयो ।  रिम्पु अहिले १३ वर्षका भए । २ वर्ष देखी अस्पतालमै आफ्नो बढी समय बिताईरहेका छन् । उनले कक्षा ७ देखी विद्यालय जान पाएका छैनन् । उनलाई दिनुपर्ने मेजर किमोहरु दिईसकिएको छ र उनी हाल औषधी खाईरहेका छन् र फलो अपको लागि अस्पताल धाईरहेका हुन्छन् ।

क्यान्सर भएको थाहा पाउँदा ः
रिम्पुलाई क्यान्सर भएको पहिलोपटक थाहा पाउँदा क्यान्सर भन्ने रोग हुन्छ भन्ने मात्र थाहा थियो, तर यसको उपचार सम्भव छ भन्ने उनलाई थाहा थिएन । उनलाई खुब डर लाग्यो। आमाबुवा दिदी बहिनी खुब रोए । उनी पनि धेरै रोए।

उनलाई धेरै दुःख लागेको थियो । बुवाआमाले उनलाई सन्चो हुन्छ पिर नलिउ भनेर जहिले भनिरहनु हुन्थ्यो । तर, रिम्पु जब अस्पतालमा उपचारको लागि भर्ना भए, तब उनले उनी जस्तो धेरै साथीहरु भेट्टाए । उनको मन त्यसपछि धेरै शान्त भयो ।

सम्झन चाहदैनन् किमो लगाउँदाको क्षण ः
रिम्पु केमो लगाएको दिनहरु सम्झन चाहदैनन् । उनी भन्छन्- त्यो क्षणले दुःख मात्र दिन्छ । त्यस समयमा उनलाई खाना खान मन लाग्दैन थियो । खायो कि वान्ता हुन्थ्यो, शरीरमा तागत सिद्धिसकेको थियो । एकपटक उनलाई किमो चढाउने बेलामा डाक्टरले सलाईन चढाउन बिर्सेछन्, जसका कारण उनको छाला पुरै डडेको थियो ।

उनका कपालहरु पनि धेरै झारे र कपाल खानामा पर्छ भनेर एकदिन उनका बुवाले कपाल पुरै काटी दिए। किमो चढाएको समयमा बढी रेडिएसनको कारण क्यान्सर बिरामीहरुको कपाल झरेर जाने गर्छ । किमो लगाउँदा धेरैको नशा भेटिदैन थिए र नशा पत्ता लगाउनको लागि उनीहरुलाई औषधी दिइन्थ्यो, जसले नशाहरु सुनिन्थ्यो र दुख्थ्यो ।

अझै त्यस समयमा विशेष सरसफाईमा ध्यान दिनु पथ्र्यो, ईन्फेक्सन हुन्छ भनेर मानिसहरुसँग टाढा बस्नुपर्ने, डाक्टर र पोषणविद्ले भने अनुसार सफा र स्वस्थ्य खानेकुरा मात्र खानु पर्छ भन्नु हुन्थ्यो ।

अब स्कुल जाने चाहना ः
रिम्पु अब छिट्टै नै कक्षा ८ मा भर्ना हुने सोचमा छन् । उनी २ बर्ष पछि विद्यालय जान लागेका हुन् । उनले उपचारको समयमा विद्यालय र साथीहरुलाई खुब मिस गरे ।

उनलाई बुवाले अब चाँडै नै विद्यालय भर्ना गरिदिने भन्नुभएको छ । उनी विद्यालय जानको लागि उत्साहित छन् । उनीसँगै पढ्ने साथीहरु कक्षा ९ मा पुगिसकेका छन्, तर उनलाई यसको केही चिन्ता छैन । उनी भन्छन्,–‘यस्तो कुरालाई लिएर नरमाइलो मान्नु हुन्न् ।’ रिम्पु पोखरा वा काठमाडौं कहाँ पढ्ने भन्ने कुरा तय भएको छैन । उनका बुवा अस्पतालहरु नजिक भएको कारण उनलाई काठमाडौं नै पढाउने सोच्दै छन्, तर अर्कोतर्फ छोरालाई लामो समय आफुहरुबाट टाढा नराख्ने कि भन्ने नि उनी सोच्छन् ।

मैले त क्यान्सरलाई जितेँ, तपाईहरुले पनि जित्न सक्नुहुन्छ ः
रिम्पुको स्वास्थ्यमा सुधार भइरहेको छ । उनलाई हेर्दा ब्लड क्यान्सर भएको जस्तो देखिदैन । हँसिलो अनुहार अनि उनको त्यो मिठो बोलीले जो कोहीलाई पनि मोहित बनाउँछ । रिम्पु भन्छन्,–‘मेरो आत्माबलको कारण म आज स्वस्थ छु । म जस्ता क्यान्सरका बिरामीहरुलाई म आफ्नो आत्मबल जहिले पनि बलियो राख्न अनुरोध गर्न चाहन्छु । उनी भन्छन्–‘मैले त क्यान्सरलाई जिंते तपाईले पनि जित्न सक्नुहुन्छ ।’

विश्वमा क्यान्सर रोगको अवस्था  ः
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाखको हाराहारीमा क्यान्सरका बिरामी रहेका छन् । प्रत्येक वर्ष ९० लाख मानिसको मृत्‍यु क्यान्सरका कारण हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर भएको अनुमान गरिएको छ , प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ।

नेपाल जस्तो विकासाेन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगाेलिकता, गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याउन सकिने स्थिति छैन । समयमा रोगको पहिचान नहुनाले अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउँछन् ।

उनी भन्छन्–‘समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मनोरञ्जनात्मक र्याम्प शो आयोजना गरिएको हो ।’ आयोजकहरुले कार्यक्रम मार्फत संकलन गरिएको रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिबद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.