बीमा कम्पनीलाई लाईसेन्स दिने र मर्जरमा लाने काम सँगसँगै गर्नु हुँदैनः सुवाष कोइराला

  २०७६ साउन २० गते १०:०५     विकासन्युज

बीमा गर्दा थोरै पैसा तिर्नु पर्छ । तर, जोखिम बहन गर्दा ठूलै सहयोग पाईन्छ । तर, अझैपनि बीमितले निर्जीवन बीमामा बीमा शुल्क तिरेर जोखिम नपर्दा पैैसा खेर गएको मान्दछन् । तर, यस्तो होइन । जोखिमबाट बचाउने बलियो आधार हो बीमा । बीमा भनेको सुख र दुःख दुबैको साथी हो । बीमा जबर्जस्तीमा गर्ने कुरा होइन । बीमा गर्नु आवश्यकता पनि हो । अहिले बीमाको पहुँच बढ्दो छ । यसको अन्तर्राष्ट्रिय महत्व समेत रहँदै आएको छ । बीमाका नाममा कही कतै छलछाम नै नहुने गरेको भने होइन । सरोकारवालामा चेतना र नियामक बीमा समितिको केही कडाईले यस्ता समस्या समाधान समेत हुनसक्ने पाइएको छ । निर्जीवन बीमा व्यवसाय र समसामयिक बीमा बजारका बारेका राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवाष कोइरालासँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको कुराकानी:

राष्ट्रिय बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ ? असार मसान्तसम्ममा कति नाफा देखियो ? कुल बीमा शुल्कबाट कति प्रिमियम संकलन भयो ?
नेपाल इन्भेष्टमेण्ट बैँक, नबिल बैक, नेपाल रिस्योरेन्समा हाम्रो लगानी रहेको छ । यो लगानीबाट हामीले वर्षमा ३५ करोड रुपैयाँ आर्जन गरेका छौं । अहिले कम्पनीको प्रिमियम १ सय ३६ करोड रहेको छ । कम्पनीले यो अवधिमा ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अहिले मुद्दती निक्षेपमा ३ सय ८० करोड छ । हामी बीमा बजारमा ७ औँ स्थानमा छौँ ।

यस कम्पनीको सेयर मूल्य प्रति कित्ता ९ हजार भन्दा माथि छ । बीमा कम्पनीहरु मध्ये सबैभन्दा महँगो सेयर हुनुको आधारहरु के के हुन् ?
हामीले बीमा क्षेत्रमा गरेको लगानीका कारण सेयर मूल्य मह्गो भएको हो । पहिले हामी १२ औँ स्थानमा थियौँ । अहिले ७ औं स्थानमा छौं । अहिले हाम्रो नाफा राम्रो छ । लगानीकर्ताले कम्पनीको अवस्था हेरेर सेयरमा पैसा हाल्ने हो । हाम्रा वित्तीय विवरण राम्रो छ ।

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी हाल २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धि किन गर्नु भएन ?
पहिले हामी संस्थानका रुपमा थियौँ । सोही बेलादेखिका समस्याहरू छन् । त्यो बेलाका केही हिसाब किताबहरु गर्न बाँकी छ । राष्ट्रिय बीमा संस्थान कै विवरणहरु स्वीकृत गर्न बाँकी छ । कम्पनीले आफ्नो साधारण सभा गर्न सकेको छैन ।

कम्पनीले विगत ७ वर्षदेखि वार्षिक साधारण सभा गरेको छैन । वार्षिक साधारणसभा किन नियमित भएन ? अब कहिले हुन्छ ?
यस विषयमा हामीले तयारी गरिरहेका छौ । बीमा समितिमा आर्थिक वर्ष २०६८/६९ र २०६९/७० को वित्तीय विवरण पठाएका छौं । तर, सो स्वीकृत भएको छैन । बीमा संस्थान र कम्पनी अलग हुँदाको हिसाब किताब मिलाउन नसकेका कारण बीमा समितिले छानविन गरी रोक लगाएको हो । सो कुरा मिलेमा समितिले वित्तीय विवरण स्वीकृत गरिदिन्छ । कम्पनीले आफ्नोतर्फबाट तयार पार्नुपर्ने वित्तीय विवरणको प्रतिवेदन तयार पारी सकेको छ ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीहरु अलग भएपछि केही समस्याहरु निम्तिएको हल्ला बजारमा आएको छन् । वास्तममा ती समस्याहरु के के हुन् ? तिनको समाधान कसरी गरिदैछ ?
बीमा संस्थान र कम्पनी अलग हुँदा केही हतार गरेकोले केही समस्याहरू निम्तिएका छन् । यसले कम्पनीलाई केही फाइदा त मिलेको छ । तर, सम्पत्ति तथा दायित्व मूल्यांकन ‘डिडीए’ गरिएको छैन । कम्पनीको हिसाब किताब डिडीए गर्दा मिल्थ्यो । त्यसो गरिएन । संस्थानबाट कम्पनीले लिने हिसाब–किताब लिएको छैन । फरफारकबाट समस्याको समाधान हुन्छ ।

बीमा कम्पनीहरु मर्जरमा जाने कुरामा यहाँको धारणा के छ ?
बीमा कम्पनीहरु आएको समय धेरै भएको छैन । मर्जरमा यति चाडै किन लग्न खोजेको हो । पहिले देखि नै लाइसेन्स माग गरिएको थियो । पछिमात्रै कम्पनीहरूले इजाजत पत्र पाएका हुन् । यतिबेलासम्म नियामकले चाहिँ के हेरेर बसेको थियो । यसरी बीमा कम्पनीहरुलाई लाईसेन्स दिने र मर्जरमा लग्ने काम सँगसँग गर्दा नियामकको कमजोरी देखिन्छ । यसले नीति बनाउनेहरुको दूरदर्शीतामा समेत प्रश्न चिन्ह खडा गरेको छ । नीति निर्माताहरूले एक वर्षपछि के हुन्छ वा हुनुसक्ने सम्भावना छ भन्ने बुझ्नुपर्छ । कम्पनीहरु संख्यात्मक रुपमा भन्दा गुणात्मक रुपमा अघि बढ्नु आवश्यक हुन्छ ।

निर्जीवन बीमा व्यवसायमा प्राय जसो व्यवसायिक मर्यादा उल्लङ्घन भएको भेटिन्छ ? सेवाको गुणस्तरमा भन्दा प्रिमियम शुल्कमा प्रतिस्पर्धा देखिएको छ । यो समस्याबाट बजार कहिले बाहिर निस्कन्छ ?
यसको लागि नियामकले कडाई गर्न पर्छ । हाम्रो लागि केही ट्यारिफ रेट लगाई दिएको छ सोही अनुसार काम गर्न आवश्यक हुन्छ । अर्को कुरा बीमा बिजनेश भनेको निश्चित मर्यादा पालन गर्दै चल्न आवश्यक छ । नियामकले भनेको कुरा नियम बनाउन मात्र होइन । नीति निर्देशन कस कसले मानेका छन् या छैनन् भन्ने कुरा हेर्ने पनि हो । यसलाई हामीले कम्प्लायन्स भन्छौ । सोही कम्प्लायन्समा ध्यान दिन आवश्यक छ । नीति नियम नमानेको पाउँदा नियमकले कारबाहीपनि गर्न पर्यो । अर्को कुरा प्रमोशनल लागि दिने बिजनेश भने रोक्न पर्छ ।

बीमा कम्पनीहरु आएको समय धेरै भएको छैन । मर्जरमा यति चाडै किन लग्न खोजेको हो ।

भविष्यमा निर्जीवन बीमा व्यवसायलाई थप मर्यादित बनाउन कसले के गर्नु पर्ला ?
यसमा मुख्य भुमिका भनेको त बीमा समितिको नै हुन्छ । बीमा समितिले गर्न सक्ने जति काम अरुले गरेर सम्भव छैन । बीमा कम्पनीहरुको सर्भे गर्नु आवश्यक छ । यस्तै, कम्पनीहरूले फिडब्याक लिन आवश्यक हुन्छ । साथै, अन्तर्राष्ट्रिय बीमा बजारको बारेमा जानकारी लिन आवश्यक हुन्छ । प्रपटी इन्स्योरेन्स, मोटर, मरिनमा तोकेको जसरी इन्जिनियरिङ लगायतकामा शुल्क तोकिएको छैन । बिमितले प्रडक्ट लिदा ट्यारिफमा एउटा र नन ट्यारिफमा अर्को लिने गरेको समेत पाइन्छ । यसलाई नियामकले यस्तो अवस्थासम्म गर्न पाउने, यतिसम्म गर्न नपाउने भन्ने कुरा निर्धारण गर्न आवश्यक हुन्छ । त्यस्तै, गर्न नपाउने भनेको कुरा गर्दा कम्पनीहरुलाई कस्तो कारबाही हुने भन्ने कुरापनि निकै महत्वपूर्ण हुन्छ ।

तपाईको कम्पनीका मूल नारा ‘सधै तपाईँको साथमा’ भन्ने रहेको छ । बीमित समक्ष नाराको उपयोग कतिको भएको जस्तो लागेको छ ?
हाम्रो मूल नाराको अर्थ बीमा गरौँ, दुःखमा सुखमा सबै अवस्थामा काम लाग्छ भन्ने हो । सोही कुराको लागि हामी रातदिन प्रयासरत छौं । हाम्रो विजनेश ग्रोथ भइरहेको छ । सोही कुराले पनि नाराको उपयोगिता निर्धारण गर्छ । यस्तै, हाम्रो बिमितको संख्या पनि बढने क्रममा नै छ । बीमाको पहुँच हाल ७ प्रतिशतबाट १७ प्रतिशत पुगेको छ । यसको अर्थ, हाम्रा बिमित बढेको कारणले नै बीमा पहुँच बढदो क्रममा रहेको हो । बीमाको पहुँच वृद्धीको एउटा महत्वपूर्ण अंग हामी पनि हौं । अहिले हामीले पनि १ सय ३६ करोड रुपैयाँ जम्मा गरेका छौँ । त्यो भनेको त विजनेशमा, पेनिट्रेशनमा हाम्रो योगदान पनि रहँदै आएको छ भन्ने हो ।

बीमा प्रडक्टहरु पर्याप्त छन् कि केही थप्न आवश्यक छ भन्ने महशुस गर्नु भएको छ ?
अघिल्लो वर्ष संचयकोषको लागि भनेर मेडिकल इन्स्योरेन्समा हामीले केही परिमार्जन गरेका थियौं । ६ लाख संचयकर्ताको बीमा थप्यौँ । वृद्धहरूको बीमाका लागि काठमाडौ महानगरपालिकासँग सहकार्य गरेका छौँ । यसलाई पाइलट प्रडक्ट प्रोजेक्टको रुपमा अघि बढाइएको छ । यस वर्ष स्कूलका विद्यार्थीहरूको पर्सनल एक्सिडेन्टको बारेमा हामीले नयाँ प्रडक्ट ल्याउँदै छौं । नेपालको परिपेक्षमा हाम्रा पडक्टहरु पर्याप्त छैन । हामी आवश्यकता अनुसार प्रडक्टहरू थप्दै जाने छौं ।

पछिल्लो समय बीमा कम्पनीहरुले शाखा विस्तारमा जोड दिएका छन् । राष्ट्रिय बीमा कम्पनी किन सुस्त देखिएको ?
गत वर्ष हाम्रो कम्पनीबाट २४ जना कर्मचारी अवकास हुनु भयो । यस वर्ष ५० जना थपिनु पनि भएको छ । हामीले गत वर्ष ३ वटा शाखा विस्तार समेत गरेका छौँ । अब कर्मचारी अभावले हुन नसकेका कामहरु राम्रोसँग हुँदै जाने छन् । यो शाखा विस्तारको क्रममा पनि लागू हुन्छ । यस वर्ष हामीले कम्तीमा ५ वटा शाखा थप्ने तयारी गरेका छौँ । बीमा कम्पनीहरुको शाखा हाल सहर केन्द्रित छन् । गत वर्ष हामीले सुर्खेत, बझाङ, डोटीमा शाखा खोल्यौँ । आगामी दिनमा पनि ग्रामीण भेगमा शाखा खोल्ने लक्ष्य राखेका छौँ । यसरी खोलिने शाखाले बीमाको पहुँच वृद्धीसँग प्रत्यक्ष सरोकार राख्छ किनकी हामी नयाँ ठाउँमा जाँदैछौ ।

मोटर बीमा केही झण्झटिलो छ भन्ने सुनिन्छ, यहाँहरुले काम गर्दा सहज/असहज कस्तो पाउनु भएको छ ? दाबी भुक्तानीमा विद्यमान सुस्ततालार्ई गति दिन कुन उपकरणको आवश्यकता छ ?
निर्जीवन बीमा क्षेत्रमा सुस्तता रहेको कुरा सही हो । अझ मोटर बीमाको सन्दर्भमा यो बढी लागू होला । सुस्तता हुनको मुख्य कारण भौगोलिकता विकटता हो । जस्तै, ग्रामीण क्षेत्रमा दुर्घटना हुँदा सर्भेर शहरबाट पठाउनु पर्ने हुन्छ । त्यस्तो ठाउँमा सर्भेयर पुग्न २-३ दिनसम्म लाग्ने गर्छ । पहिला त त्यहाँ पुग्न पर्यो । त्यसपछि रिर्पोट तयार गर्नु पर्यो । रिर्पोट तयार गर्ने समय लाग्छ । घटना प्रमाणित गर्न रिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको दुर्घटना भएपश्चात बनाइने अन्य कागज पत्र समेत झण्झटिला छन् । जस्तै, पुलिस रिर्पोट, मुचुल्का, जिल्ला प्रशासन कार्यालयको रिपोर्ट, स्थानीय तहका कागजहरु । हामीले कागज पत्र प्राप्त भएपछि क्षतिपूर्ति दिन ढिलाई हुँदैन । हामी क्षतिपूर्ति सेवा छिटो बनाउन प्रयासरत हुन्छौँ ।

बीमा कम्पनीहरुको भीडमा बिमितहरुले राष्ट्रिय बीमा कम्पनीलाई नै छान्नु केही महत्वपूर्ण आधारहरु रहेका छन् ।

बीमा कम्पनीहरूको भीडमा राष्ट्रिय बीमा कम्पनीको फरक पहिचान के रहेको छ ? बीमितहरुले बीमा गर्न राष्ट्रिय बीमा कम्पनीलाई नै किन रोज्ने ?
बीमा कम्पनीहरुको भीडमा बिमितहरुले राष्ट्रिय बीमा कम्पनीलाई नै छान्नु केही महत्वपूर्ण आधारहरु रहेका छन् । हामी कम्पनीको रुपमा प्रवेश गरेको ५ औँ वर्ष पूरा भएर छैठौँ वर्ष लागेको छ । तर, व्यवसायिक रुपमा हेर्ने हो भने हामी विस २०२४ सालमा स्थापना भएका हौँ । पुरानो र भरपर्दो आधार भएकाले हामी बिमितको रोजाइमा परेका हौं । अर्को कारण भनेको हामी सरकारी कम्पनी हौं । सरकारी कम्पनी भएको नाताले हामीले पाउने रकममा तल माथि हुँदैन भन्नेमा बिमितलाई सधै विश्वास हुन्छ । ठूलो क्लेममा कतिपय कम्पनीहरुले तिर्न नसक्ने अवस्था समेत आउन सक्ने संम्भावना हुन्छ । एक अर्ब रुपैयाँ क्यापिटल हुँदा करोडौ रुपैयाँको जोखिम कम्पनीले बहन गरेको हुन्छ । तर, हामीले क्षतिपूर्ति तिर्न नसक्ने अवस्था भने आउँदैन । हाम्रो फण्डको आकार राम्रो छ, नाफा समेत राम्रो छ । हाल भई रहेका बीमा कम्पनीहरुको ५० प्रतिशत नाफा बराबरको उनीहरुको बिजनेश पनि छैन ।

अबको १० वर्षमा नेपाली बीमा बजारको विकास कसरी होला ?
अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने एक वर्षमा १८ प्रतिशत जतिले बीमा बजार वृद्धि भएको छ्, यही वृद्धि त सधै कायम नरहला । यद्यपि बीमा चेतना भने आम जनमानसमा बढदो क्रममा नै रहन्छ । यसले गर्दा बीमा क्षेत्रको भविष्य राम्रै देखिन्छ ।

बीमा चेतना कस्तो रुपमा रहेको छ ?
बीमा चेतना राम्रो अहिले राम्रो हुँदै गएको छ । अहिले बिमितले बीमाको महत्वको बारेमा राम्रो ज्ञान हासिल गरेका छन् । जोखिमको बेलामा बीमा सहयोगी हुन्छ भन्ने कुरा सबैले बुझ्न थालेका छन् । पहिले पहिले निर्जीवन बीमामा तिरेको बीमा शुल्क जोखिम नहुँदा खेर गयो कि भन्ने बिमितलाई पर्ने गरेको थियो । तर, अहिले सो कुरामा निकै हदसम्म सुधार भएको छ । जस्तो तपाईले एउटा घरको बीमा गर्दा वार्षिक रुपमा ४ हजार रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ । त्यसरी तिरेको शुल्कले १ करोडको घरको जोखिम बहन हुन्छ । बिमितले बीमा गरेर बाहिर निस्किदै गर्दा घर जोखिममा परेमा १ करोड पाउँछन् । सो कुरामा अहिले बिमितहरु जानकार हुँदै गएका छन् । साथै, एउटा भवनको वार्षिक रुपमा बीमा गर्न लाग्ने बीमा शुल्क १ करोड रुपैयाँ पुग्न त निकै बर्ष लाग्छ नि । किनभने वार्षिक रुपमा त बिमितले तिर्ने भनेको त्यही ४ हजार मात्र हो । यसरी थोरै तिरेर बचत हुने तथा जोखीम बहन हुने कुरा अहिलेको बिमितहरुले थाहा पाइसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.